काठमाडौं । भूमिब्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले विवादित उपसचिव भरत गौतमलाई जग्गा प्रशासनको जिम्मेवारी दिएको छ । मन्त्रालयको जग्गा प्रशासन शाखाको प्रमुखमा उनलाई केही दिनअघिमात्र ल्याइएको हो । उनी भूमिब्यवस्थापन तथा अभिलेख विभागको जग्गा प्रशासन शाखाबाट मन्त्रालयको जग्गा प्रशासन शाखामा सरुवा भएका हुन् । उनी लामो समयदेखि भूमिब्यवस्थापन विभागमा कार्यरत छन् ।
विभागमा बसेर काठमाडौं उपत्यकाभित्रका जति पनि विवादित जग्गाका फाइल छन्, ती सबै उनैले सेन्टर कलेक्सन गरी मिलाउने गरेका थिए । विभागबाट उनी मन्त्रालयमा गएका छन् । भूमिब्यवस्था मन्त्री शिवमाया तुम्वाहाङ्फेलाई गुमराहमा राखी सचिव टेकनारायण पाण्डेले गौतमलाई मन्त्रालयमा लगेका छन् ।
भूमिब्यवस्था मन्त्रालयले जग्गा प्रशासन क र ख गरी दुई भागमा विभाजन गरी काजी बिष्ट र भरत गौतमलाई जिम्मेवारी दिएको छ । भूमाफियासँग कनेक्सन भएका गौतम करोडौं करोडका जग्गाको सेटिङ गर्नेगरी मन्त्रालयमा सरुवा मिलाएर जग्गा प्रशासन शाखाकै प्रमुख भएका छन् । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखाको सरकारी जग्गा दर्ताको कागजात छानबिनका लागि लिन जाँदा पनि उपसचिव गौतम हतार हतार पुगेका थिए ।
अख्तियारको टोली पुग्नुअघि नै उपसचिव गौतम भूमिब्यवस्थापन विभागबाट पुगेर दूषित बदर गर्न खोजेका थिए । तर गौतमले बदर गर्न नपाउादै अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएरै छाडेको छ । टोखा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा साङ्लाको ६ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरिएको उजुरीपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको छ । उक्त सरकारी जग्गा दर्ता प्रकरणमा टोखा मालपोत कार्यालयका तत्कालीन प्रमुखसँग उपसचिव गौतमको समेत मिलेमतो त थिएन भन्ने आशंका उनी हतार हतार अख्तियारको टोलीभन्दा पहिला गएपछि गरिएको थियो । उनले यो जग्गाको बारेमा मिलाउँदैछौं भन्दै कागजपत्र नलान उनले अनुरोध गरेका थिए ।
उपसचिव गौतमले ७७ वटै जिल्लाको कुन कुन मालपोत कार्यालयको जग्गा दर्ता गर्नुपर्नेछ, हदबन्दी भन्दा बढी जग्गा कहाँ कहाँ छन्, तिनीहरुसँग हिस्सा लिने गरेका छन् । उनीसँग सेटिङ गर्ने मालपोत कार्यालयका प्रमुखसँग मिल्ने र सेटिङ नगर्नेहरुका बिरुद्ध मन्त्रीका सचिवालयका कर्मचारीलाई भएनभएका कुरा लगाएर तिनीहरुलाई हटाउनुपर्छ भन्ने काम समेत उनले गर्दैआएका छन् ।
उपसचिव भएदेखि नै भूमिब्यवस्थापन विभागमा कार्यरत गौतम बीचमा केही समय कम्पनी रजिष्टार कार्यालयमा गएका थिए । त्यहाँ केही समयमात्र बस्दा पनि उनको बारेमा धेरै गुनासो आएपछि उनी पुनः भूमि ब्यवस्थापन विभागको महानिर्देशकमा नै आएर सरकारी र हदबन्दीका जग्गा दर्तामा हरेक मालपोत कार्यालयसँग सेटिङ गर्न तल्लीन छन् । तिनै विवादित उपसचिव गौतमलाई विभागबाट मन्त्रालयको जग्गा प्रशासनमा लगिएको छ । देशभरका जग्गाका फाइलमा सेटिङ गरी उपसचिव गौतमले करोडौं करोडको सम्पत्ति जोडिसकेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
देशभरका सरकारी र हदबन्दीको जग्गामा चलखेल गर्नेमा उपसचिव गौतमले भूमिब्यवस्था मन्त्रालयका अवकाशप्राप्त उपसचिव हुपेन्द्रमणि केसीलाई पनि माथ गरेका छन् । ललिता निवास क्याम्पको जग्गा दर्ता गर्ने मुख्य डिजाइनर नै केसी हुन् । डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत हुपेन्द्रमणि केसी र तत्कालीन कार्यालय प्रमुख टीकाराम घिमिरेले ललिता निवासको जग्गा गैरकानुनी रुपमा मोही कायम गरेका थिए ।