गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गयो । हजारौं घाइते तथा अंगभंग भए । आन्दोलनका क्रममा सरकारी, सार्वजनिक, निजी सम्पत्ति तथा व्यापारिक प्रतिष्ठानहरुमा आगलागी गरियो । र, ती सबै खरानी बने । २४ खर्बको सरकारी तथा निजी सम्पत्ति ध्वस्त भयो ।
जेनजीसामु सुरक्षा निकायले आत्मसमर्पण गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपर्यो । ओलीले राजीनामा दिएपश्चात् भदौ २४ गतेदेखि २७ गतेसम्म नेपाल सरकारविहीन रह्यो । अर्कोतर्फ, आन्दोलनको मौका छोपेर देशभरका कारागारबाट कैदीबन्दी भागेका थिए ।
यसले कुनै आपराधिक घटना भइहाले कसलाई बोलाउने भन्ने चिन्ता थियो । किनकि त्यतिबेला प्रहरी आफैं असुरक्षित थियो । जेनजीले प्रहरीलाई कुटीकुटी मारेका थिए । लखेटेका थिए । अनि प्रहरीहरु बाध्य भएर जंगल पसे । उनीहरुकै अवस्था नाजुक थियो ।
उनीहरुले आफ्नै सुरक्षा गर्न सकेका थिएनन् । सशस्त्र र प्रहरीले नसकेपछि नेपाली सेना खट्यो । २४ गते बिहानैदेखि झोसिएको आगोले सिंहदरबारसहित मुलुकका सम्पदा, सम्पत्ति सबै खरानी बनेपछि मध्यरातिबाट बाटोमा सेना खट्यो । तैपनि मुलुकमा स्थिति अझै डरलाग्दो थियो । त्यसपछि झनै आपराधिक घटना बढ्न थालेका थिए ।
सर्वसाधारण त्रसित थिए । आफ्नै घरमा समेत उनीहरु असुरक्षित महसुस गरिरहेका थिए । एकातिर देशमा सरकार छैन, अर्कोतिर जघन्य अपराधमा संलग्न सबै कैदीबन्दी बाहिर छन् । अब मुलुकमा के हुन्छ ? अब आर्मी शासन लाग्छ कि राजा आउँछन् ? यी प्रश्न धेरैको मन मस्तिष्कमा त्यतिबेला उठेको थियो ।
राजनीतिक दलका नेता, राष्ट्रपति, सरकारी उच्च पदस्थ अधिकारीहरु सेनाको संरक्षण थिए । अनि कतिपयले आर्मीले शासन हातमा लिन राष्ट्रपति रामचन्द्र पौडेललाई मारिसक्योसमेत भन्न भ्याए । ‘राष्ट्रपतिलाई सार्वजनिक गर’ भनेर चर्को आवाज उठेपछि सेनाले केही दिनपछि राष्ट्रपति पौडेललाई सार्वजनिक गर्यो ।
उनी सार्वजनिक भएपछि संविधान खारेजी र संसद् विघटनको व्यापक माग भयो । यद्यपि, राष्ट्रपति पौडेल ‘बरु ज्यान दिन्छु, संविधान खारेज गर्दिँन’ भन्ने अडानमा रहे । उनको यही अडानका कारण संविधान जोगियो । भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरे । कार्कीले नियुक्त हुनेबित्तिकै संसद् विघटन गरिन् । र, उनको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन २१ गते चुनावको मिति घोषणा गरे ।
कार्कीको नेतृत्वमा मन्त्रिमण्डल गठन भएपछि सुरक्षाकर्मीहरु पनि खटाउन थालियो । सरकार गठनपश्चात् आन्दोलनको नाममा सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाहीको आवाज उठ्यो । सोहीअनुसार प्रहरीले पाँच सय ९१ जनालाई नियन्त्रणमा लिएको थियो । तर, केही दिनअघिको क्याबिनेट बैठकले ती सबैलाई रिहा गर्ने निर्णय गरेपछि प्रहरीले अहिले उनीहरुलाई धमाधम हाजिरी जमानीमा छोडिरहेको छ ।
चुनाव नजिकिँदो छ । फागुन २१ गते निर्वाचन सम्पन्न भएपश्चात् सुशीला कार्कीसहित उनको सरकारमा रहेकाहरु बाहिरिनुपर्छ । राजनीतिक दलहरु चुनावमा भाग लिन तयार भइसकेका छन् । भदौ २३ गते आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट युवाको ज्यान गएपछि सुशीला कार्की पनि सडकमा ओर्लिएका थिइन् । उनले कांग्रेस र एमालेलाई सरकारमा बस्ने अधिकार नभएको भन्दै राजनीतिक दल, नेताहरुलाई लखेट्नुपर्ने बताएकी थिइन् ।
त्यसैले, फागुनमा निर्वाचन सम्पन्न भएपछि कार्कीसहित अहिलेका मन्त्रिमण्डलमा रहेकाहरुमाथि ठूलो संकट आउने देखिन्छ । जेनजीले राजनीतिक दललाई नपत्याएपनि जनताले अझै दलकै झोला बोकेका छन् । दलहरुको शहरदेखि गाउँ गाउँमा संगठन छन् । उनीहरु चुनावको तयारीमा जुटिसके । तर, जेनजीले त दल दर्ता गराए न उनीहरु उठेपनि भोट आउने छाँटकाँट देखिन्छ ।
जेनजीको न शहरमा संगठन छ न गाउँमा । यसकारण आउँदो चुनावले दलहरुलाई नै पुनःस्थापित गराउने सम्भावना अधिक छ । अनि दलहरु सरकारमा आउनेबित्तिकै वर्तमान प्रधानमन्त्री कार्कीसहित सबैको कुन्डली खोताल्ने पक्का छ । कोहीलाई भ्रष्टाचारको मुद्दा त कोहीलाई के को मुद्दामा दलहरुले वर्तमान सरकारमा रहेका सबैलाई जेल पुर्याउनेछन् ।
सुशीला कार्कीको काम पनि जनताले देखिसके । सत्ताबाहिर हुँदा र सत्तामा हुँदाको उनको रुपमा आकाश पातलको भिन्नता पाइयो । प्रधानमन्त्रीको कुर्सीमा बसेको तीन महिना बित्दा उनले सिन्को भाँचिनन् । भ्रष्टाचारका ठूला फाइल खोलिन् न दलहरुले आफ्ना आसेपासेको नाममा लगेको सरकारी जग्गा फिर्ता ल्याइन् । बरु आफैं सरकारी जग्गा कब्जा गरेर बसेकी छन् । छिमेक भारत र चीनले कब्जा गरेको नेपाली भूभाग फिर्ता ल्याउन पनि पहल गरिनन् ।
जनताले तीन महिनामै उनको असली रुप राम्ररी देखिसके । त्यसकारण अब चुनावपछि सबैभन्दा गाह्रो चाँहि उनैलाई हुने देखिन्छ । दलहरुले उनलाई देखिसहन्न, जेनजीका माग उनले पूरा गरेकी छैनन् । अनि एकातिर जेनजी, अर्कोतिर राजनीतिक दल दुवै उनीमाथि आइलाग्छन् । त्यतिबेला उनी देश छोडेर भाग्नुपर्ने अवस्था नआउँला पनि भन्न सकिँदैन ।
प्रधानमन्त्री भएको तीन महिनामै उनले ५५ अर्ब ३६ करोड वैदेशिक ऋण मात्र लिएकी छन् । उनको क्याबिनेटमा सबै विवादैविवादमा मुछिएका, असक्षम मन्त्रीहरु छन् । त्यसमाथि चुनाव आउन तीन महिनामात्रै बाँकी रहँदा उनले चार जना विवादस्पद व्यक्तिलाई मन्त्री बनाएकी छन् । यसले उनको आलोचना शुरु भइसक्यो । खर्च कटौती गर्नुको साटो उनी ऋण लिएको लियै छिन् ।
नेपोबेबीको नारा घन्काएर जेनजी आन्दोलन भए पनि उनको सचिवालयका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नै श्रीमती र परिवारलाई जागिर दिलाउने काम गरेपछि झन् विवाद भयो । खर्च कटौती गर्नुको साटो राज्यको ढुकुटी दोहन गर्नतर्फ प्रधानमन्त्री कार्कीको सक्रियता देखिन्छ । सत्ता टिकाउन कहिले सुधन गुरुङलाई आफ्नो जेठो छोरा भन्छिन् त कहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई भाइ बताउँछिन् ।
उनी कामभन्दा पनि नौंटकी गर्नतिर व्यस्त छिन् । तर, जनताले उनको रणनीति बुझिसके । देशमा परिवर्तन गछौं, भ्रष्टाचारीलाई कारबाही गछौं भन्दै जेनजीहरुले आन्दोलन गरे । जनताका कलिला छोराछोरीले ज्यान गुमाए । खर्बौको सम्पत्ति खरानी बन्यो । नेपाल धेरै वर्षपछाडि धकेलियो । अनि सत्तामा पुगिन् चाँहि बुढ्यौली लागेर हिँड्नसमेत नसक्ने कार्की । जनतामा झनै निराश बढ्दै गएको छ ।
दल होस् या अरु जोसुकै सत्तामा आए पनि केही हुने रहेनछ भनेर जनताको मनमा छाप बस्न पुगेको छ । कुलमान घिसिङ ठूल्ठुला भाषण गर्छन् । तर, यातायात क्षेत्रमा पाँच दशकदेखि रहेको सिन्डिकेट उनले हटाउन पहलसमेत गरेका छैनन् । नेपालमा भाषण ठोक्ने र भ्रम छर्नेमात्र नेता बने । सत्तामा पुगे ।
ज्यान गुमाउने जहिल्यै जनता । अनि सत्तामा पुग्ने चाँहि बाँठाटाँठा, आखिर कहिलेसम्म । कहिलेसम्म जनताले यस्ता नेताहरुका कारण गरिबी, बेरोजगारीबाट ज्यान गुमाउनुपर्ने ? नेताहरुले जनतालाई आत्महत्या गर्न बाध्य बनाइरहेका छन् । अब चाँहि जनताको आँखा खोलियोस् ।
रुषा थापा, भक्तपुर
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend