काठमाडौं, १६ बैशाख । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणमा पर्नेको संख्या ३० लाख नाघिसकेको छ । बिदेशी सञ्चार माध्यमका अनुसार सोमबारसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ ।
अमेरिकामा मात्रै यो संख्या झण्डै १० लाख नजिक छ।
केही देशहरूले लकडाउनलाई खुकुलो बनाउने उपायहरू लगाइरहेका बेला यो तथ्यांक आएको हो। संक्रमणका कारण विश्व बितेका ८ साता देखि स्थिर जस्तै अवस्थामा छ।
चीनको वुहानमा पहिलो पटक जनवरी १० मा ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसयता चार महिना पनि नबित्दै ३० लाखमा जनामा संक्रमण फैलिसकेको छ।
विश्व स्वास्थ्य संगठनले यो संख्यालाई हरेक वर्ष देखिने इन्फ्लूएन्जा जस्ता रोगहरुका कारण हुने मृत्युको संख्यासँग तुलना गर्न सकिने बताएको छ।
विश्वव्यापी रूपमा प्रत्येक वर्ष ३० देखि ५० लाख मानिसहरू मौसमी इन्फ्लूएन्जाका कारण गम्भीर गम्भीर बिरामी हुने गर्छन्।
गत हप्तामा प्रत्येक दिन औसतमा ८२ हजार नयाँ संक्रमण रिपोर्ट गरिएको छ।
यसमध्येका एक चौथाई संक्रमित अमेरिकाका हुन् भने ४३ प्रतिशत युरोपबाट रहेका छन्।
सोमबारसम्म संक्रमणका कारण मृत्यु हुने संख्या २ लाख ५ हजार बढी पुगेको छ र हरेक सात संक्रमित मध्ये कम्तीमा एक संक्रमितको मृत्यु हुने गरेको छ।
लक्षण नदेखिएका, मध्यम लक्षण भएका र अप्रमाणित केसहरूलाई तथ्यांकमा समावेश नगरिएकाले यो संख्या कम हुने सम्भावना छ।
कोरोनाबाट गम्भीर प्रभावित देशहरुमा इटाली, फ्रान्स र स्पेन लगायतका युरोपेली मुलुकहरूमा पछिल्लो हप्ताहरूमा दैनिक मृत्यु हुने संख्यामा कम हुँदै गएको छ। तर, गत साता पनि त्यहाँ प्रतिदिन २ हजार देखि ५ हजारसम्म नयाँ संक्रमण फेला परेका थिए।
आइतबार यसमा २.५ प्रतिशतको वृद्धि देखिएको छ। यो दुई महिनायताकै कम हो। मार्चमा १० प्रतिशतसम्मको वृद्धि भएको थियो।
बितेको सातामा अमेरिका औषतमा प्रतिदिन ३० हजार नयाँ संक्रमित पुष्टि भएका थिए।
हाल विश्वको कुल संक्रमितको एक तिहाई संख्या अमेरिकामा छ।