Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बागलुङ गलकोटका तीन वनमा आगलागीः स्थानीयवासी चिन्तित


    सोमबार, फाल्गुन १० २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बलेवा। बागलुङको गलकोटका तीन सामुदायिक वनमा आगलागी भएको छ । आज दिउँसोदेखि तीनवटै सामुदायिक वनमा आगलागी भएको हो । आगो नियन्त्रणबाहिर रहेकाले स्थानीयवासी चिन्तित बनेका छन् । गलकोट नगरपालिका–५ र ७ का तीन सामुदायिक वनमा आगलागी हुँदा करोडौँको क्षति भएको थम्मन थापाले बताउनुभयो ।

    भैंसे दान्सिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको छ । आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि अहिले आगो नियन्त्रणबाहिर रहेको उहाँले बताउनुभयो ।

    सोही आगो छिमेकी वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा प्रवेश गरेसँगै उक्त सामुदायिक वनको झण्डै २० हेक्टर क्षेत्रफल क्षति भएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिनुभयो । आगोको कारण दानसिंङ सामुदायिक वनसँगै जोडिएको गगनपानी सामुदायिक वन गलकोट नगरपालिका–५ को झण्डै पाँच हेक्टर क्षेत्रफल वन क्षेत्रमा पनि क्षति भएको बताइएको छ ।

    ठूलाचौर महिला सामुदायिक वन, दानसिङडाँडा सामुदायिक वन सिमाना जोडिएका वन हुन् । आगो अहिले पनि जङ्गलमा फैलिरहेको छ । आगो बस्तीतिर आउने खतरा रहेको भन्दै स्थानीयवासी चिन्तित भएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिनुभयो ।

    आगो निभाउन स्थानीयवासी र प्रहरीको सक्रियता रहेको वडाध्यक्ष थापाले बताउनुभयो । वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन् ।

    साँझ परिसकेको र भीरमा आगलागी भइरहेको हुँदा आगो नियन्त्रण गर्न कठिन भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले जानकारी दिनुभयो । आगलागी हुँदा करोडौँको क्षति भएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार