चितवन । जेलभित्रै हत्या गर्नेलाई प्रजातन्त्र दिवसका दिन असल चालचलन भएको भनेर कैद मिनाहा गर्ने राष्ट्रपति विद्या भण्डारीको निर्णय विवादमा परेको छ । तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिब पौडेलको अभियोगमा सजाय भोगिरहेका तीन जनालाई राष्ट्रपति भण्डारीले असल चालचलन भएको भनेर ५० प्रतिशत कैद मिनाहा गरेकी थिइन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पौडेलको हत्यामा संलग्न फडिन्द्र श्रेष्ठ, सुनिल केसी र दिलवहादुर लामालाई आममाफी दिएकी थिइ्न् ।
प्रजातन्त्र दिवसको अबसरमा हत्यामा संलग्नलाई आममाफी पाएको भन्दै पौडेल परिवारले पत्रकार सम्मेलन गरी चिन्ता व्यक्त गरेको छ । २०६८ साल मंसिर २० गते पौडेलमाथि आक्रमण गरिएको थियो ।
पुस २ गते काठमाडौंको न्यूरो अस्पतालमा पौडेलको मृत्यु भएको थियो । मृत्युपछि परिवारको जाहेरीले २० वर्ष जेल सजाय भोगिरहेका मध्ये यही फागुन सात गते प्रजातन्त्र दिवसको अबसरमा श्रेष्ठ, केसी र लामालाई आममाफी दिइएको थियो ।
उनीहरुलाई आममाफी भए पछि परिवारले देशमा न्याय हराएको महशुश गरिरहेको पौडेल पत्नी विनु रायमाझी पौडेले वताइन् । पत्रकार सम्मेलनमा बोल्दै पौडेले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताको झुण्ड बढाउन ज्यानमाराहरुलाई आममाफी दिएको आरोप लगाइन् ।
पौडेलले भनिन्, ‘एउटै परिवारका दुई भाइ मारेर सजाय भोगीरहेकालाई आममाफी दिइनु कतिको जायज हो ? हत्यारा ठहर भएकालाई आममाफी दिदाँ पीडित परिवारको मनमा के हुन्छ भनेर सोच्नु पर्दैंन ? अहिलेको घटनाले देशमा न्याय हराएको महसुस भएको छ ।’
पौडेलले राष्ट्रपति देशको राष्ट्रपति नभई अहिले नेपाल कम्युनिष्ट पार्टी ओली समुहको राष्ट्रपति भएको अरोप लगाइन् । उनले भनिन्, ‘राष्ट्रपतिले अहिले आफ्नो श्रीमानको हत्यारा खोज्नु पर्ने हो कि अर्काका हत्यारालाई छुटाउने हो ।’ उनीहरुलाई के कारणले माफी दिइएको हो ?
पत्रकार सम्मेलनमा बोल्दै पौडेलका छोरा शिविनजंग पौडेलले आफूुहरुले न्याय नपाउनु भनेको विडम्बना भएको बताए । कारागारभित्र २० वर्ष कैद सजाय भएका व्यक्तिलाई आममाफिका नाममा दिइएको उन्मुक्तिले आँफुहरुलाई त्रास वढाएको उनको भनाई थियो ।