Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मौज्दात सकिने डरले खुद्रा चिनी बेच्दै साल्ट ट्रेडिङ


    आइतबार, फाल्गुन ९ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । मौज्दात सकिने डरले साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा रूपमा किन्नेलाई मात्रै चिनी बेचिरहेको छ । साल्ट ट्रेडिङसँग भएको चिनीको सबै मौज्दात रित्तिने क्रममा रहेको र थप चिनी खरीदका लागि सरकारले अनुमति दिन ढिलाइ गरिरहेकाले मौज्दात शून्यमा झर्न नदिन साल्टले यस्तो गर्नु परेको बताइएको छ ।

    साल्टसँग यतिबेला करीब ५ सय मेट्रिक टन मात्रै चिनी मौज्दात रहेको छ । ‘यो चिनी पनि नबेचेर मात्र बचेको हो बेचेको भए आजसम्म सकिसकेको हुन्थ्यो,’ साल्ट ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले आर्थिक अभियान दैनिकसँग भने । डिलरहरूले माग गरेअनुसार विक्री गर्ने हो भने यो मौज्दातले १ दिनलाई पनि नपुग्ने उनको भनाइ छ । यस्तो समस्या यस बर्षको मात्र नभएर वर्षौं देखिको समस्या भएको पनि उनले बताए ।

    ठूला व्यापारी र निजी कम्पनीहरूले साल्टलाई स्वदेशी चिनी दिन नचाहने भएकाले पनि साल्टले क्रशिङको समयमा चिनीको अभाव भोग्नु परेको बताइएको छ । यति बेला उखु क्रशिङको समय हो । क्रशिङको सिजनमा पनि सरकारी कम्पीनसँग चिनी नहुनुले मूल्य वृद्धि गर्न र बजारमा चलखेल गर्न व्यापारीहरूलाई सजिलो भइरहेको सरोकारवालाहरूको भनाइ छ ।

    साल्टले दशैंअघि नै ३० हजार मेट्रिक टन चिनी किन्न अनुमति माग गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, साल्टले हालसम्म पनि चिनी किन्ने अनुमति पाउन सकेको छैन । यसको प्रत्यक्ष लाभ व्यापारीहरूले उठाइरहेको साल्टको भनाइ छ ।

    व्यापारीहरूले यति बेला प्रतिकिलो चिनीको खुद्रा मूल्य ८५ देखि ९० रुपैयाँसम्म लिने गरेका छन् । ‘खुद्रा मूल्य त प्रतिकिलो ८५ रुपैयाँ नै हो तर सानातिना व्यापारीहरूले ९० रुपैयाँ सम्मले पनि बेच्ने गरेका छन्,’ खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने । उनका अनुसार अहिले क्रशिङको सिजन भएकाले मूल्य केही घट्नुपर्ने हो । मूल्य नघट्नुको कारण सरकारी कम्पनीसँग चिनी नहुनु पनि भएको उनले बताए ।

    चिनी किन्ने अनुमति मागेको यति लामो समय भइसक्दा पनि अनुमति नदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने यति बेला उखु क्रशिङको सिजन भएकाले आन्तरिक उत्पादनका आधारमा मात्रै किन्ने अनुमति दिइने भन्दै पछि हटिरहेको छ । सामान्य अवस्थामा नेपालमा प्रतिमहीना करीब ३० हजार मेट्रिक टन चिनीको खपत हुने सरोकारवाहरू बताउँछन् । त्यसैगरी दशैंतिहार र छठजस्ता ठूला चाडपर्वमा मात्रै करीब ७० हजार मेट्रिक टनसम्म चिनीको खपत हुने अनुमान गरिएको छ । नेपाली चिनी उद्योगहरूले वार्षिक १ लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने गरेको सरकारी तथ्यांक छ भने अपुग चिनी भारतलगायत देशबाट आयात गर्ने गरिन्छ ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा  प्रशान्त खड्काले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार