Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भत्ताले एकल पुरुषको जीवन सहज


    शनिबार, फाल्गुन ८ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • ललितपुर। ललितपुरको बागमती गाउँपालिका–४ स्थित प्युटारका एकल पुरुष बलबहादुर घलेलाई गाउँपालिकाले प्रदान गरेको ‘एकल पुरुष’ भत्ताले दैनिकी चलाउन सहज भएको छ । ६३ वर्षीय एकल पुरुष घलेको अन्य कुनै आम्दानीको स्रोत नहुँदा गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँ भत्ताबाट उहाँले राहत भएको महसुुस गर्नुभएको हो ।
    “दैनिक नुन तेल, चियाको गर्जाे राम्ररी टरेको छ”, घलेले भन्नुभयो ।
    घलेको १९ वर्षअघि श्रीमतीको मृत्यु भएको थियो । दुई सन्तानका पिता घलेकी छोरी विवाह गरी अन्यत्रै गएपछि हाल सम्पर्कमा नभएको र छोरोसमेत पत्ता नलागेको उहाँले बताउनुभयो । घलेजस्तै गाउँपालिका–३ स्थित भट्टेडाँडाका अर्का एकल पुरुष हरिबहादुर सिञ्जालीले पनि गाउँपालिकाले प्रदान गरेको एकल पुरुष भत्ताले राहत पाएको महसुस गर्नुभएको छ । ६९ वर्र्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि नै मृत्यु भएको र बालबच्चा कोही पनि नजन्मेको उहाँले बताउनुभयो । “गाउँपालिकाले प्रदान गरेको मासिक एक हजार रुपियाँले चिया खाजा खान सजिलो भएको छ”, उहाँले भन्नुभयो, “हामीजस्ता एकल पुरुषलाई गाउँपालिकाले भत्ता प्रदान गरेर ठूलो गुन लगाएको छ ।”
    गाउँपालिकाले दुई वर्षअघिदेखि सुरु गरेको एकल पुरुष भत्ता वितरण कार्यक्रमबाट अहिले गाउँपालिकाभित्रका ५० जना एकल पुरुषले भत्ता लिने गरेका छन् । ६० देखि ७० वर्ष उमेर समूहका एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
    “७० वर्ष उमेर पूरा भएपछि वृद्धभत्ता नै पाउने भएकाले दोहोरो सुविधा नपाउने व्यवस्था गरी उमेरहद तोकेर गाउँपालिकाले एकल पुरुषलाई भत्ता प्रदान गरेको हो”, गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले भन्नुभयो, “समाजमा घरपरिवारसँग बसेका वृद्ध पुरुष र महिलाभन्दा एकल भएर बसेका पुरुषको अवस्था झनै दयनीय बनेको देखेर गाउँपालिकाले कार्यविधि बनाएर पालिकाभित्रका एकल पुरुषलाई भत्ता प्रदान गरेको हो ।”
    एकल पुरुषले भत्ता पाउनका लागि पत्नीको मृत्यु वा सम्बन्धविच्छेद भएको प्रमाणित हुनुपर्नेछ । नेपाल सरकारको पेन्सन प्राप्त गर्ने नागरिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सङ्घसंस्थाबाट मासिक रूपमा तलब भत्तालगायतका मासिक अन्य सुविधा प्राप्त गर्ने व्यक्तिले एकल पुरुष भत्ता पाउन नसक्ने बागमती गाउँपालिका एकल पुरुष भत्ता सञ्चालन कार्यविधिमा उल्लेख छ । आजको गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार