काठमाडौं । प्रजातन्त्र दिवसको दिन पारी राष्ट्रपति बिद्यादेवी भण्डारीले तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्या गर्नेको समेत कैदमिनाहा गरेकी छन् ।
प्रजातन्त्र दिवसका अवसरमा ५ सय ९५ जना कैदीबन्दीको कैद माफी मिनाहा गर्ने क्रममा पौडेलको हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको कैदमिनाहा गरेकी छन् । यी तीनै जनाले कारागारभित्रै कैदीको हत्यामा गरेका थिए । तर कारागारभित्रै पौडेलको हत्या गर्नेलाई राष्ट्रपति भण्डारीले असल चालचलन देखाएर ५० प्रतिशत कैद मिनाहा गरिदिएकी छन् । ९ बर्षअघि २०६८ पुसमा जिल्ला कारागार चितवनभित्रै तरुण दलका अध्यक्ष पौडेलको हत्या भएको थियो ।
कारागार ब्यवस्था विभागले गरेको असल चालचलनको सिफारिसको आधारमा उनीहरुको ५० प्रतिशत कैद मिनाह गरिएको जनाएको छ ।
कारागारभित्रै हत्या गरेकाले उनीहरुलाई जन्मकैदको संजाय भएको थियो । तर, कारागार भित्रै हत्या जस्तो गम्भिर अपराध गर्नेलाई पनि कारागार विभागले आम माफीको सिफारिस गरेको पाइएको छ । कारागार विभागका हाकिमहरुले आर्थिक चलखेलका आधारमा असल चालचलनको सिफारिस गर्ने गरेको शिव पौडेलका हत्या गर्नेहरुको कैद मिनाहापछि पुष्टी भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट उनीहरुको कैद माफी मिनाहा भएको हो । प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।
पौडेलको हत्या गर्नेहरुलाई असल चालचलन भएको भनी कैद मिनाहा गरिएकोबारेमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बुझेर जवाफ दिने बताए । उनले भने, जेलभित्रै हत्या गर्नेहरुको कैद मिनाहा गरिएको हो भने गलत हो । त्यही पनि म बुझेर मात्र अरु कुरा भन्न सक्छु, बस्नेतले भने ।