Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अरबौं भ्रष्टाचारका फाइल अलपत्रः प्रेम राईको ध्यान पनि स्टीङ अप्रेसनतिरै केन्द्रित


    बुधबार, फाल्गुन ५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • ९ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरबौं रुपैयाँको भ्रष्टाचारको बिषयलाई छानबिन गर्न छाडेर ५ हजारदेखि ५० हजार रुपैयाँसम्मका छानबिनलाई बढी प्राथमिकता दिंदैआएको छ ।

    स्टीङ अप्रेसनमा ५ हजार, १० हजारदेखि कहिलेकाहीँ लाख रुपैयाँसम्मको घुस लेनदेन गर्नेहरुलाई नियन्त्रणमा लिएको बिषयलाई अख्तियारले महत्व दिने गरेको छ, उपलब्धीका रुपमा ब्याख्या गर्दैआएको छ । लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा स्टीङ अप्रेसनका नाममा सेवाग्राहीको गोजीमा जबर्जस्ती रकम हालिदिने गरेको घटना पनि सार्वजनिक भयो ।

    हयात होटलले गैरकानुनी रुपमा दर्ता गरेको तारागाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा सरकारका नाममा फिर्ता ल्याउने बिषयमा अख्तियार ३ बर्षदेखि मौन छ । कुनै कारबाही अघि बढेको छैन । २५ अर्ब मूल्यको उक्त जग्गा फिर्ता गर्न संसदीय समितिले निर्देशन दिएको छ । तर त्यो जग्गा संसदीय समितिले निर्देशन  दिएको ३ बर्षसम्म फिर्ता किन भएन ? यसमा अख्तियारलाई छानबिन गर्न कसले रोकेको छ ? हयात रिजेन्सी होटलका संचालक दिनेशलाल र सुरेशलाल श्रेष्ठका दाजुभाइको प्रभावमा परी उक्त जग्गा फिर्ता हुन नसकेको बिषयमा अख्तियार प्रवेश गर्न चाहेको छैन । 

    खुद्रा मसिना २–४ हजार रुपैयाँ घुस लिनेमाथि कारबाही केन्द्रित गरी उपलब्धी देखाएर भ्रष्टाचार नियन्त्रणको डंका बजाउनमै सीमित छ । हयात जस्तै धेरै काण्ड अख्तियारमा छन् । सहरी विकास तथा भवन निर्माण विभाग, विद्युत विकास विभाग, सडक विभाग, भूकम्प प्रभावित जिल्लामा भएको विद्यालय निर्माणका क्रममा कन्ष्ट्रक्सन र परामर्शमा हुँदैआएको अरबौं रकम भ्रष्टाचारमा अख्तियार मौन छ । तर २–४ हजार घुस लिने खरिदार र नासुलाई पक्राउ गर्ने गरेको छ ।

     आयोगले ठूला भ्रष्टाचारमा भन्दा १ हजारदेखि ५० हजार घुस लेनदेन गर्नेलाई स्टिङ अपरेशनका नाममा पक्राउ गरी आफ्नो उपलब्धिका रुपमा वार्षिक प्रतिवेदनमा देखाउँदै आएको छ ।  ५ हजार घुस लिने कर्मचारीलाई नियन्त्रणमा लिनका लागि अख्तियारको १ लाखभन्दा बढी खर्च हुन्छ । तर त्यही ५ हजार घुस लिंदालिंदै नियन्त्रणमा लिएको विषयलाई अख्तियारले उपलब्धि मान्दै आएको छ ।

    राई पनि स्टीङ अप्रेसनमै केन्द्रित

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७७ माघ २१ देखि प्रेमकुमार राई प्रमुख आयुक्तका रुपमा आएका छन् । प्रमुख आयुक्तमा राईको नियुक्तिपछि पनि आयोगको ध्यान स्टीङ अप्रेसनमै बढी केन्द्रित देखिएको छ । राईले प्रमुख आयुक्तमा पदबहाली गरेको २०७७ माघ २१ मा हो । उनले पदबहाली गरेको १३ दिनमा ४ वटा स्टीङ अप्रेसन भएका छन् । स्टीङ अप्रेसनमा राई आउनुअघि नियन्त्रणमा लिएका २ वटा घटनाको मुद्दा दर्ता गरेको छ ।

    राई प्रमुख आयुक्त भइसकेपछि २०७७ धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुससहित आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

    आयोगले फागुन ३, २०७७ मा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई रू. ८ हजारसहित नियन्त्रणमा लिएको छ ।

    त्यसैगरी आयोगले फागुन २ मा सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसमेत ४ जनालाई स्रोत नखुलेको रु. १ लाख ९० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ ।

    त्यसैगरी अख्तियारको टोलीले २०७७ माघ २३ मा नापी कार्यालय, कञ्चनपुर, सप्तरीमा कार्यरत निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादव १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

    विवादमा स्टीङ अप्रेसन

    अख्तियारका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरेले स्टिङ अपरेशनका नाममा प्रहरी ग्याङ सञ्चालन गरी निमुखा र निम्न तहका कर्मचारीलाई फकाई फुल्याई खल्तीमा रकम हालेर पक्राउ गरी स्टन्टबाजी गरेको आरोप लाग्ने गरेको थियो । घिमिरेले स्टिङ अपरेशनका लागि एक टोली नै खटाएका थिए भने राजस्व समूहका अकुत सम्पत्ति कमाउने शाखा अधिकृत र उपसचिवहरुलाई चोख्याउन एसपी प्रवीण पोखरेलको नेतृत्वमा अर्काे टोली परिचालन गरेका थिए । जसले रामप्रसाद रेग्मीजस्ता केही राजस्वका अकुतवालाहरुलाई चोख्याउने काम गरेको थियो । प्रसंग हो बारा जिल्लाको स्टिङ अपरेशनको ।

     अख्तियारका केही व्यक्तिले अजय जैसवाल नामका एक बद्नाम व्यक्तिलाई सुराकीका रुपमा त्यहाँ परिचालन गरेको थियो । जसको काम नै निमुखा र निम्न तहका करारका कर्मचारीलाई फसाउने रहेको घटनाक्रमले पुष्टि गरेको छ । जैसवालले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, प्रहरीका कनिष्ठ अधिकृत र सिपाही, हवल्दार, विद्युत प्राधिकरणका निम्न तहका कर्मचारीलाई पैसा दिने र अख्तियारको टोलीबाट रंगेहात पक्राउ गराउने काम गदैै आएका थिए । जैसवालको अख्तियारका प्रहरीसँग सेटिङका कारण जिल्लामा नागरिकदेखि कर्मचारी सबै भयभित हुँदै आएका थिए ।

    अख्तियारमार्फत निम्न तहका कर्मचारीलाई फसाउने कार्य गर्ने जैसवालले अर्काेतर्फ गेष्टहाउस सञ्चालन गरी नाबालक चेलीहरुको यौन शोषण गराउने, भारतबाट नेपालतर्फ तस्करीको लाइन मिलाउने र रतनपुरीबाट भारततर्फ गाँजालगायत लागुऔषध पठाउने धन्दा पनि सञ्चालन गर्दै आएको आरोप लाग्ने गरेको थियो । जैसवालको लागुऔषध कारोबार निर्वाधरुपमा चल्दै आएको थियो । आफ्नो कारोबारमा डिस्टर्ब गर्ने प्रहरीलाई उनले एक एक गरी अख्तियारको टोलीबाट पक्राउ गराउने काम गरेको गुनासो पनि व्यापक नै थियो ।  

    लागुऔषध नियन्त्रण व्यूरोमा जैसवालको कर्तुतबारे धेरै गुनासा आएपछि केही समय अगाडि उनीमाथि निगरानी बढाई १ क्वीन्टल गाँजासहित व्यूरोले पक्राउ ग¥यो । हाल पुर्पक्षका लागि उनी थुनामा छन् । अजय थुनिएपछि उनको षड्यन्त्रमा फसेका सरकारी गवाहहरु अदालतमा बयान गर्दा निर्भयताका साथ उल्टो बयान दिन थालेको खबर छ । विगतमा जैसवालको डरले उनको इच्छाअनुसार बयान दिँदै आएकाहरुले बयान फेर्न थाले । सत्य कुरा बोल्न थाले ।

     जैसवालको दबाब र त्रासमा परी निर्दाेष व्यक्तिहरुका विरुद्ध बयान दिँदै आएका उनीहरु अहिले निर्धक्क बयान फेरेपछि अख्तियारका डीएसपी दीपेन्द्र राईले ती साक्षीहरुलाई थुन्ने, प्रहरी कस्टडीमा यातना दिने गरेको गुनासो साँघुलाई प्राप्त भएको छ । चेलीबेटीको यौनशोषणदेखि लागुऔषध धन्दा र सीमाबाट तस्करी गराउँदै आएका जैसवालले फसाएका निम्न तहका कर्मचारीको बचाउमा साक्षीहरुले बयान दिन थालेपछि अख्तियारका डीएसपी राईले ती साक्षीहरुलाई तनाव र यातना दिने गरेको गुनासो प्राप्त भएको छ ।

     विगतमा जैसवालको त्रासमा परी निर्दाेष व्यक्तिका विरुद्ध साक्षी बसेका उनीहरुले अहिले उनीहरुका विरुद्ध पाप गरेको महसुस गर्दै बयान फेर्न प्रायश्चित गर्न खोज्दा अख्तियारका डीएसपी आक्रोशित भई उनीहरुलाई तर्साइरहेको पीडितहरु बताउछन् ।  
    प्रमुख आयुक्त प्रेम राई आएपछि नवीन घिमिरेले सुरु गरेको यस्तो विसंगतिपूर्ण कार्यलाई सुधार्ने अपेक्षा गरिएको छ । राई पनि पूर्व गृहसचिव भएका कारण स्टिङ अपरेशन स्टन्टलाई रोक्न सकिरहेका भने छैनन् । अख्तियारको काम सूक्ष्म अनुसन्धान गरेर वास्तविक भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । तर जबर्जस्ती कसैलाई फसाउने काम गरेका कारण आयोगको छवीमा आँच पुगेको छ । अख्तियारको स्टिङ अपरेशन प्रकरण निकै विवादित बन्दै गएको छ । त्यसैकारण सर्वाेच्च अदालतले पनि अख्तियारको स्टिङ अपरेशनलाई नोटिसमा लिएर सचेत गराइसकेको छ ।

     यसअघि लोकमान सिंह कार्की प्रमुख आयुक्त हुँदा काभ्रे  जिल्ला वन कार्यालयका सहायक वन अधिकृत प्रल्हादप्रसाद धिताललाई वन विभाग परिसरमा तालिम लिन गएको बेला सेवाग्राहीको भेषमा एक व्यक्तिले जबर्जस्ती गोजीमा पैसा हाली अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

    यसैगरी लोकमानले धेरै प्रहरी अधिकृत र कर्मचारीलाई स्टिङ अपरेशनका नाममा खल्तीमा पैसा हाल्दै फसाउने काम गरेको आरोप लाग्ने गरेको थियो । लोकमानले डीएसपी दानबहादुर थापालगायतको टोली परिचालन गरी स्टिङ अपरेशनका नाममा जबर्जस्ती घुस खल्तीमा हालेर फसाउने गरेको गुनासो थियो भने नवीन घिमिरेले प्रवीण पोखरेललाई परिचालन गरेको आरोप लाग्दै आएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार