बीरगंज, भिस्वा । पर्साको ग्रामीण भेगमा पर्ने भिस्वा नाकाबाट तस्करी हुँदैआएको छ । सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी मौलाएको हो । सीमाको सुरक्षा र चोरीतस्करी नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी सरकारले सशस्त्र प्रहरीलाई दिएको छ । तर सरकारले दिएको जिम्मेवारीलाई भुलेर सशस्त्र प्रहरी अवैध कारोबार गर्नेहरुसँग साँठगाँठ गरी लाभ लिने गरेको छ ।
पर्साको पश्चिमी भेगमा पर्ने भारतको प्रसिद्ध बजार सिक्टासंँग जोडिएको सिमानाका भिस्वा हुँदै दैनिक लाखौँ र मासिक करोडौं मूल्य बराबरको अवैध कारोबार खुलेआम भइरहेको छ । नेपालको आर्थिक एवं औद्योगिक नगरी पर्सा जिल्लाबाटै करिब ६५–७० प्रतिशत राजश्व उठ्ने गर्दछ । जुन राजस्वले मुलुकको अर्थव्यवस्था चलाउन टेवा पुग्दैआएको छ ।
नेपालबाट भारततर्फ मात्रै होइन, भारतबाट नेपालमा सबैभन्दा बढी अवैध मालसामान भित्र्याउने तस्करलाई संरक्षण दिंदैआएको छ । सशस्त्र प्रहरी निरीक्षक संजीव बानियाँले तस्करहरुलाई संरक्षण दिएका छन् । निरीक्षक बानियाँले तस्करहरुबाट घुस असुली गरी तस्करी गर्न छुट दिएका छन् ।
पर्साको दोस्रो नाकाको रुपमा रहेका भिस्वा बीओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक संजिव बानियाँको कार्यक्षेत्रबाट झन् बढी तस्करी हुने गरेको छ । नेपालतर्फबाट भारतीय बजार सिक्टा, बेतिया, नरकटियागंजसम्म पुग्ने गरेको युनिलिभर कम्पनीका फेयर एण्ड लवली क्रिम, सेम्पू, क्लोजप पेस्ट लगायतका कस्मेटिकहरु तस्करी भइरहेको छ ।
त्यसका अलावा चाइनिज स्याउ, खुकुरी सिगरेट, पेट्रोल, डिजेल, क्वाड, ड्रम, मोटर, मरिच, रक्सी, छोगडा र भारततर्फ तस्करी हुने गरेको छ ।
भारतबाट नेपालतर्फ भैंसी, लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, गाडीको पाट्र्स भित्र्याउनका लागि तस्करी गर्न लाइन दिएबापत सशस्त्र प्रहरीको नाममा मासिक रुपमा घुसबापत दररेट तोकेर छुट्याइएको छ । घुसको हिस्सा सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति एसपी राजेन्द्र खड्कासम्म पुग्ने गरेको स्रोत बताउँछ ।
बानियाँले गणपति खड्कालाई बुझाउनुपर्छ भनेर उठाउँदैआएका छन् । तस्करीको लाइन दिंदा तलदेखि माथिसम्म मिलाउने जिम्मा उनै इन्स्पेक्टर बानियाँले गर्दैआएका छन् ।
भिस्वा र बुढगाई नाकाबाट तस्करी धन्दा मौलाउँदा समेत सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति एसपी खड्का आँखा चिम्लिएर मुकदर्शक भई बसेका छन् । खुलेआम तस्करी हुँदा समेत बेवास्ता गर्नु र बीओपीका इन्चार्ज बानियाँलाई संरक्षण गर्नुले गणपति खड्काले हिस्सा लिएको कुरालाई पुष्टि गरेको छ ।
धेरै सञ्चारमाध्यममा यो नाकाको तस्करीको विषयमा समाचार आए पनि सशस्त्र प्रहरी प्रमुख खड्काले बेवास्ता गरेका छन् । आजभोलि पर्साको छिपहरमाई–५ भिस्वा र बुढगाई नाकाबाट ड्रम र क्वाडको कारोबार दिन रात चलिरहेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार भिस्वाबाट भारततर्फ ड्रम तस्करसँग ५० हजार, क्वाड तस्करसँग ६० हजार घुस लिंदै तस्करी गर्न छुट दिइएको छ । युनिलिभर कम्ंपनीका फेयर लवली लगायत कस्मेटिकको पनि दररेट तय गरिएको छ । फेयर एण्ड लब्ली लगायत कस्मेटिकबाट ७० देखि ८० हजार, किरानादेखि अन्य आइटममा सानादेखि ठूला व्यापारीहरुसँग ५ हजारदेखि ५० हजार सम्म घुसको दर तय गरिएको छ ।
भैंसी तस्करसँग प्रतिभैंसी १ हजार रुपैयाँ र राँगाको प्रतिराँगा २ सय रुपैयाँ लिने गरिएको छ । सशस्त्र प्रहरी २ नम्बर प्रदेश छिन्नमस्ता बाहिनीका डिआइजी चन्द्रप्रकाश गौतमले तस्करी नियन्त्रण गर्ने प्रयास गर्दैआएका छन् । तर उनलाई पनि गुमराहमा राखी झुक्याएर इन्स्पेक्टर बानियाँले सीमानाका भिस्वा र बुढगाईलाई कमाई खाने भाँडो बनाएर सिमानाकालाई खुल्ला गरेर लखनौं लुट मच्चाएको स्थानीयहरुले बताएका छन् ।
भारतमा पेट्रोलियम पदार्थको मूल्य नेपालको भन्दा बढी भएपछि दैनिक लाखौँ मूल्य बराबरको डिजेल, पेट्रोल भिस्वा र बुढगाई नाका हुँदै भारततर्फ जाने गरेको छ । तथापी सो नाकाबाट तस्करी हुने गरेको छ कि छैन भने समाचारमा राखिएको तस्बीरले पनि पानी र दूध जस्तै छर्लङ्ग भएको छ । सो नाकाबाट मासिक करोडौँसम्मको अवैध कारोबार हुने गरेको स्रोतले जनाएको छ । डीआइजी गौतमले २ नम्बर प्रदेशका बदनाम घुमुवाहरु तानेर शुद्धिकरण अभियान सुरु गरे पनि बीओपीका बानियाँ जस्ता इन्चार्ज भने उनलाई समेत चुनौती दिंदै तस्करी गराउँदै लाभ लिने गरेका छन् ।
निरीक्षक बानियाँलाई किन भएन कारबाही ?
माघ १७ गते शनिबार ३ सय ८० कार्टुन चाइनिज स्याउ बानियाँको सेटिङमा भिस्वानाकाबाट भारत बिहार सिक्टा पुगेको थियो । उक्त स्याउको सवालमा तस्कर तस्कर आफैमा सिमानाकामा भिडन्त गरेका थिए । ३ सय ८० कार्टुन चाइनिज स्याउ २०७७ माघ १८ गते आइतबार सिक्टामा छापामारी सिक्टा थाना अध्यक्ष मनिषकुमार शर्मा र एसएसबी ४७ वी बटालियन बीओपी प्रभारी सहायक सेनानायक संदिपकुमारको संयुक्त टोलीले बरामद गरेको थियो । ७६ सय किलो उक्त स्याउ बरामद गरेपछि तस्करीको कुरो बहिरिएको थियो ।

मोटरसाइकलबाट हुने तस्करीलाई प्रहरीले आँखा चिम्लने गरेको छ
इन्डियादेखि नेपालसम्मका मिडियाले नेपालबाट स्याउ तस्करी भएको समाचार प्रकाशित गरेका थिए । बानियाँ बीओपीमा आएदेखि नै घुमुवा प्रहरी परिचालन गरी तस्करसँग कनेक्सन मिलाउने गरेको आरोप छ । केही महिनाअघि अनरजित गिरीले भारतबाट ल्याउँदै गरेका भैंसी छिपहरमाई वडा नम्बर १ भलुवहिया ओरियाखोलामा घुस लिएर छुट लिएका थिए ।
भैंसी तस्करी गर्नेसँग घुस लिएको विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । तर पनि न उनीमाथि कारबाही नै भयो न त उनलाई त्यहाँबाट अन्यत्र नै सारियो । जबकि भिस्वा नै पर्साको दोस्रो ठूलो नाका हो । स्रोतका अनुसार प्रहरी निरीक्षक बानियाँको नेपाल सरकारका कुनै मन्त्रीसंग घनिष्ठ सम्बन्ध रहेकोले सशस्त्र प्रहरी बल २ नम्बर छिन्नामस्ता बाहिनीका प्रमुख डीआईजी गौतमले कारबाही र सरुवा गर्न नसकेको स्रोतले बताएको छ । भिस्वा नाकामा आएदेखि नै बानियाँले तस्करीमा छुट दिएका छन् । अन्य बीओपीका सबै जवानलाई सरुवा गरिएको भए पनि बानियाँलाई भने जति नै विवाद भए पनि गरिएको छैन ।