Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीको साढे तीन करोडको खरिदमा सेटिङ, खरिद र गुणस्तर परीक्षण प्रबन्धबाटै हुने


    सोमबार, फाल्गुन ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले आर्थिक प्रशासन महाशाखाको एसएसपीको दरबन्दी कटौती गरेको छ । पुरुषोत्तम कँडेल डीआईजी बढुवा भइसकेपछि आर्थिक प्रशासन महाशाखाको एसएसपीको पद कटौतीमा परेको छ । डीआईजी कँडेललाई प्रबन्ध निर्देशनालयको प्रमुख बनाइएको छ । आर्थिक प्रशासन महाशाखा प्रबन्धमै राखी आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बनाइएको छ ।

     नेपाल प्रहरीको बन्दोबस्तीलगायतका सम्पूर्ण आवश्यक सामानको खरिद प्रबन्धले गर्दछ । प्रबन्धले खरिद गर्दा सामानको गुणस्तर हेर्ने काम आर्थिक प्रशासनले गर्दै आएको थियो । तर अब खरिद देखि गुणस्तर हेर्ने सबै काम प्रबन्धबाट हुने भएको छ । अब खरिदकर्ता र गुणस्तर परीक्षणकर्ता दुबै प्रबन्ध निर्देशनालय हुने भएको छ । 

     खरिद र गुणस्तर प्रबन्धबाटै हुँदा पारदर्शिता नहुने भएपनि आईजीपी शैलेश थापा क्षेत्रीले महाशाखालाई प्रबन्धमै गाभेका छन् । प्रबन्धका डीआईजी कँडेल र एसपी प्रेम बस्नेतको सेटिङमा आर्थिक प्रशासन महाशाखाको प्रमुखबाट एसएसपीको दरबन्दी काटिएको छ ।

      डीआईजी हुनु अघि कँडेल महाशाखा प्रमुख थिए । उनले प्रबन्धको जिम्मेवारी पनि पाएका थिए । उनी बढुवा हुनासाथ महाशाखाबाट एसएसपीको दरबन्दी काटिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रहरीको खरिदमा आर्थिक प्रशासन महाशाखाको एसएसपीको संलग्नतालाई स्वीकार गरेको छ । तर सार्वजनिक खरिदमा समेत भएको व्यवस्था विपरीत एसएसपीको पद हटाइएको छ ।

    नेपाल प्रहरीले केही समय अगाडि स्वेटरको टेण्डर निकालेको थियो । उक्त टेण्डरमा कसैले पनि भाग लिएन । टेण्डरमा कसैले भाग नलिएपछि प्रहरीले स्वेटरको स्पेसिफिकेसन नै परिवर्तन गरेको छ । यसअघि स्वेटरमा ६० प्रतिशत ऊन हुनुपर्ने थियो । तर घटाएर ५० प्रतिशत मात्र ऊन हुनुपर्ने बनाइएको छ । यसअघि एउटा स्वेटरको तौल ७ सय ग्राम हुनुपर्ने थियो भने स्पेसिफिकेशन परिवर्तन गरी ६ सय ग्राम बनाइएको श्रोत बताउछ । स्पेसिफिकेशन परिवर्तन सार्वजनिक खरिद नियमावली विपरीत गरिएको छ ।

      सार्वजनिक खरिद नियमावलीमा पहिलो पटक १ महिनाको टेण्डर सूचनामा कसैले भाग नलिएमा पुनः १५ दिनको अर्काे बोलपत्र सूचना निकाल्नुपर्छ । त्यसमा पनि भाग नलिएमा फेरि अर्काे ७ दिनको अवधि राखेर बोलपत्र गर्नुपर्छ ।

      अन्तिम ७ दिनको अवधिमा पनि कसैले बोलपत्र पेश नगरेमा मात्र सामानको स्पेसिफिकेसन परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ । तर नेपाल प्रहरीका प्रबन्धका डीआईजी कँडेल र एसपी बस्नेतले पहिलो पटक बोलपत्रमा कसैले भाग नलिनासाथ स्पेसिफिकेशन परिवर्तन गरेका छन् । डीआईजी कँडेल र एसपी बस्नेतले निश्चित ठेकेदारलाई स्वेटरको ठेक्का दिनेगरी स्पेसिफिकेशन परिवर्तन गरेको आरोप छ ।

    करिब साढे ३ करोडको स्वेटर खरिद हुँदैछ । यसमा ठेकेदारसँग सेटिङ गरेर उनीहरुकै इशारामा स्पेक परिवर्तन गरिएको प्रहरी स्रोत बताउँछ । साँघु साप्ताहिकबाट 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार