रविन्द्र रेग्मी र सुलभ अग्रवाल
काठमाडौं । नेपालमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग झिनामसिना गुण्डाहरुको छानबिनमै सीमित देखिएको छ ।
अबैध हुन्डीबाट अथाह कमाउँदै अहिले नेपालको बिजनेश टाइकुन बनेका र उद्योग बाणिज्य महासंघकै नेतृत्वमा पुगेका चन्द्रप्रसाद ढकाल, नेपालमा सुन तस्करी गरी अरबौंको साम्राज्य बनाएका दीपक मल्होत्रा, रक्तचन्दनको कारोबारबाट उदाएका बालकृष्ण शिवाकोटी, सुहृद घिमिरेहरुले गरेको सम्पत्ति शुद्धिकरणतिर नजर पनि लाउन सक्दैन । मेडिकल कलेजका सुनिल शर्मा र खुमा अर्यालहरुको उजुरीमा सम्पत्ति शुद्धिकरण गरेको पर्याप्त प्रमाण हँुदा पनि धुलो लागिसकेको छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । प्रधानमन्त्री केपी ओलीले विभागमार्फत् भ्रष्टाचार गरी सम्पत्ति शुद्धिकरण गर्नेमाथि कारबाही गर्नका लागि विभागलाई प्रभावकारी बनाउन उनीमातहत लगेको तर्क समेत कतिपयले गरेका छन् । तर प्रधानमन्त्री कार्यालय मातहत लगेपछि झन् प्रभावकारी हुने अपेक्षा विपरीत विभाग उजुरीमा मोलमोलाई गर्ने अड्डामा परिणत भएको छ ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले विगतमा यातायात ब्यवस्था विभागमा हुँदा देखाएको क्षमता सम्पत्तिमा देखाउन सकेनन् । उनी पहिला राजस्वका उपसचिव विनोद लामिछानेको सेटिङमा रमाए भने पछिल्ला दिनमा एसपी रविन्द्र रेग्मीको चंगुलमा परेका छन् । विभाग स्थापनादेखि कार्यरत लामिछाने ६ महिनाअघि करतादाता सेवा कार्यालयमा सरुवा भएपछि विभागमा सेटिङको काम रेग्मीले गर्दैआएका छन् ।
विभागमा नरेन्द्र उप्रेती एसपी हुन्जेल त्यति आकर्षक मानिंदैनथ्यो । तर पछिल्ला दिनमा तराईका जिल्ला भन्दा विभागको प्रहरी महाशाखा प्रमुख रोज्न थालेका छन् । सम्पत्ति शुद्धिकरणमा सरुवा माग्न तराईका जिल्लाको इन्चार्ज हुनभन्दा बढी संघर्ष हुने गरेको छ । विभागमा सरुवा हुने नेपाल प्रहरीमा भाग्यमानी अधिकृतमा पर्न थालेका छन् । पछिल्ला दिनमा तराईका जिल्ला भन्दा विभागको प्रहरी महाशाखा प्रमुख रोज्न थालेका छन् । डीएसपी हुँदा काठमाडौंको मुद्दा फाँटको प्रमुख हुँदै धादिङमा हुँदा पनि विवादमा परेका रेग्मी हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको प्रहरी महाशाखा प्रमुख छन् । उनले प्रहरी महाशाखा प्रमुखका रुपमा ठूला ठूला माफियाहरुको उजुरीका फाइलमा अनुसन्धान गर्ने सौभाग्य पाएका छन् ।
कोरोना महामारी सुरु हुँदाताका २०७६ चैत अन्तिममा ज्वरो नाप्ने थर्मोगन कूटनीतिक नम्बरप्लेटको गाडीमा कालोबजारी गर्दागर्दै पक्राउ परेका सुलभ अग्रवालसँग एसपी रेग्मीको कनेक्सनको बारेमा अहिले विभागभित्रै टिकाटिप्पणी हुने गरेको छ । २ हजार ५ सयमा पाइने थर्मोगन १६ हजारदेखि २२ हजार रुपैयाँ प्रतिगोटा त्यो पनि कूटनीतिक नियोगको गाडीबाट कालोबजारी गर्दागर्दै पक्राउ परेका अग्रवाल २४ दिनसम्म हिरासतमा बसी छुटेका थिए । उनका बिरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको थियो । तर एसपी रेग्मीले अग्रवालको फाइलमा अनुसन्धान गर्नुको साटो उनीसँग मिलेर लाभ लिएको आरोप छ ।
विभागको अनुसन्धानमा रहेका अग्रवालको सौजन्यमा एसपी रेग्मीले भारतका विभिन्न धार्मिक तीर्थस्थलको भ्रमण गरेको खुलेको छ । स्रोतका अनुसार नेपाल–भारत सीमा बन्द भएता पनि २०७७ पुसमा एसपी रेग्मी बीरगंज हुँदै अवैध बाटोबाट रक्सौल पुगे । रक्सौलबाट जीप लिएर बनारस विश्वनाथ दर्शन गरी त्यहाँबाट जयपुर गए । जयपुरको चर्चित खाँटुश्याम र सालसर हनुमान मन्दिर परिक्रमा गर्दै उनी नेपाल फर्किएका हुन् ।
अनुसन्धान भइरहेका ब्यक्तिको सौजन्यमा उनले भारतको तीर्थाटन गरेपछि सुलभ अग्रवालको उजुरी अब तामेलीमा जाने निश्चित जस्तै भएको विभाग स्र्रोत बताउँछ । यसबारेमा एसपी रेग्मीसँग प्रतिक्रिया लिंदा उनले भने, मैले अग्रवालको उजुरी नै हेरेको छैन । महानिर्देशकलाई नै सोध्नुस् न, उजुरी कसले हेरेको हो, स्पष्ट भइहाल्छ । उनले भने–‘ममात्र होइन, अरु पनि भारत भ्रमणमा गएका हौं । तर कसैको खर्चमा गएका होइनौं ।’