काठमाडौं । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउँदैआएको केपी ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । सरकारले कोभिड–१९ को मारमा परेका जनतामाथि महंगी थोपरेको छ । संविधानविपरीत संसद भंग गरेका ओलीबिरुद्ध दिनहुँजस्तो सडक आन्दोलन भइरहेको बेला उनको सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ ।
सरकारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँस र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलको मूल्य ११२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।
निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।
