माधव पौडेल
काठमाडौँ । जेन–जी समूहको आन्दोलनकपछि सुशीला कार्की नेतृत्वमा गठन भएको सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक बाणिज्यदूत (कन्सुलेट जनरल) ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गरेको छ । कार्की सरकारले गरेको यो निर्णयले कुनै ब्यापारीक सम्बन्ध नै नभएको देशको अबैतनिक दूत हुने र कूटनीतिक नियोगको नीलो प्लेटको गाडी दुरुपयोग गर्ने क्रम रोकिने भएको छ ।
अवैतनिक कन्सुलेट जनरलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम आज यो निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा हाल ६७ वटा अवैतनिक महावाणिज्यदूत रहेकामा ५० जनाले यो सुविधा लिएका थिए ।
नेपालमा अवैतनिक दूतः कालोबजारी गर्नेदेखि जुवा अखडामा पक्राउ पर्नेसम्म
नेपालमा कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले लकडाउन घोषणा गरेको मौकाछोपी २०७६ चैत २५ मा ज्वरो नाप्ने थर्मल गन कालोबजारी गर्दागर्दै किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल प्रहरी प्रधान कार्यालय अगाडि नक्सालबाट पक्राउ परेका थिए । कूटनीतिक नम्बर प्लेटको गाडीमा थर्मल गनको कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए ।
कूटनीतिक नम्बर प्लेटको गाडीमा थर्र्मल गन कालोबजारी गरेको बिषय जोडतोडले उठेपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सबै अबैतनिक बाणिज्य दूतहरुले निलो प्लेटको गाडी प्रयोग गर्न नपाउने निर्णय गरेका थिए । तर ओलीपछि सर्वोच्च अदालतको परमादेशबाट आएको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले २०७८ पुसमा अवैतनिक बाणिज्यदूतले नीलो नम्बर प्लेटको सवारीसाधन प्रयोग गर्न दिने निर्णय गरेका थिए । जुन निर्णयपछि अवैतनिक दूत हुने होडबाजी नै चल्दैआएको छ ।
२०७७ जेठ १९ गते कोरोना महामारीकै समयमा अशोककुमार अग्रवाललाई प्रहरी बृत्त दरबारमार्गले जुवा खेल्दाखेल्दै पक्राउ गर्यो । उनी पश्चिम अफ्रिकी मुलुक गिनीका अवैतनिक बाणिज्य दूत हुन् ।
अवैतनिक दूतको रुपमा राज्यले दिएको कूटनीतिक सुविधा दुरुपयोग गरी कालोबजारी गर्ने गरेको र बिभिन्न अपारदर्शी क्रियाकलाप गरेपछि निलो प्लेटको गाडी प्रयोगमा रोक लगाइएको थियो । यसरी अवैतनिक दूतलाई कूटनीतिक उन्मुक्ति दिंदा धेरै दुरुपयोग हुँदैआएको छ । यस्तो सुविधा दिने देश नेपालमात्र भएको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।
कूटनीतिक नम्बर प्लेटको गाडीमा कालोबजारीका सामान बिक्री गर्दागर्दै पक्राउ परेको घटना त उजागर भयो । यस्तो सुबिधा लिएर दुरुपयोग गर्र्दै यसअघि के के गर्थे, अहिले के के गरिरहेका होलान् ? भन्ने प्रश्न गम्भीर छ । अवैतनिक दूतले ओहदा र सुविधाको दुरुपयोग गैरकानुनी क्रियाकलापमा पनि गरेका माथिका दुई दृष्टान्तमात्र हुन् । धेरैले यस्तो सुविधाको दुरुपयोग गर्दैआएको खोजीनीति गरे खुल्नेछ ।
सरकारले औपचारिक सम्बन्ध नै नभएका देशका अवैतनिक दूतलाई मान्यता दिइरहेको छ । कूटनीतिक नियोगको नम्बर राखेर गाडी सुबिधा दुरुपयोग गर्न पाउने भएकाले अवैतनिक बाणिज्य दूत हुन करोडौंको चलखेल हुने गरेको स्रोत बताउँछ । अवैतनिक महाबाणिज्यदूत बनाउने गिरोह नै रहेको छ । जसले नेपालसँग कुनै द्विपक्षीय सम्बन्ध नै नभएका देशमा पनि अवैतनिक दूत बनाउन ठूलो रकम लेनदेन गर्ने गरेको छ ।
सामाजिक संस्थाको आडमा २ करोड रकमसम्म लिएर बाणिज्य दूत बनाउने गिरोह सक्रिय रहेको छ । हुन्डीमार्फत् दिल्लीमा रहेका बिभिन्न देशका दूताबासको गिरोहसँग मिलेर ६७ वटा देशमा अवैतनिक बाणिज्य दूत बनाउँदा १ अर्बभन्दा बढी रकम बिदेशिएको छ । नेपालदेखि दिल्लीसम्मको गिरोहले संगठित रुपमै बाणिज्यदूत बनाउने गोरखधन्दा चलाउँदैआएको छ । जेनजीको समर्थनमा बनेको कार्की सरकारले अवैतनिक दूत बनाउँदा संगठित रुपमा रकम असुली गर्ने गिरोहको छानबिन गरी कारबाहीको दायरामा ल्याउने अपेक्षा गरिएको छ ।
अवैतनिक दूतलाई बिश्वमा नपाउने सुविधा नेपालमा, कूटनीतिक नम्बर प्लेटको दुरुपयोग
नेपालमा अवैतनिक दूतलाई कूटनीतिक सुविधाको नम्बर प्लेट भएको गाडीदेखि विदेश जाँदा विमानस्थलमा भीआइपी कक्ष प्रयोग गर्न दिने जस्ता सुविधा दिने गरिएको छ । सिंहदरबार प्रवेशदेखि विशिष्ट भेटघाट जस्ता सुविधा दिने गरेको छ ।
सरकारले भियना कन्भेन्सनमा हुँदै नभएको ब्यवस्था विपरीत अवैतनिक दूतलाई दिएको कूटनीतिक उन्मुक्तिका कारण गिनी, बोस्निया हर्जगोभनिया, युगान्डा, किर्गिस्तान, मंगोलिया जस्ता देशका समेत अवैतनिक दूत नेपालमा छन् । जुन देशसँग नेपालको औपचारिक सम्बन्ध पनि छैन । बुल्गेरिया, चिली, इथोपिया, चेक रिपब्लिक, क्रोसिया, इष्टोनिया, कोलम्बिया, टर्की, युक्रेन, फिजीका पनि नेपालमा अवैतनिक दूत छन् । रुवान्डा जस्तो गृहयुद्ध र भोकमरीग्रस्त देशको समेत नेपालमा अवैतनिक बाणिज्य दूत छन् ।
नेपालमा कूटनीतिक उन्मुक्ति पाउने भएपछि सुलभ अग्रवाल, अशोक अग्रवाल जस्ता ब्यापारीहरुले सम्बन्धित देशका बिचौलियामार्फत् घुस खुवाएरै नेपालको अवैतनिक दूत नियुक्त हुने गरेको कूटनीतिक मामिलाका जानाकारहरु बताउँछन् । अवैतनिक दूत भएपछि कूटनीतिक नियोगले प्रयोग गर्ने नम्बर प्लेटको गाडी प्रयोग गर्न पाउने र उक्त गाडी कहीँ पनि चेकजाँच नहुने भएकाले जे जस्ता कार्य गरे पनि उन्मुक्ति पाउँदा रहेछन भन्ने खुलासा अशोक अग्रवाल र सुलभ अग्रवाल प्रकरणपछि खुलेको छ ।
अवैतनिक दूतको लर्को, एकै परिवारका ६ जनासम्म
अवैतनिक महाबाणिज्यदूत(अनररी कन्सुलर) एक मानार्थ पद हो । तर नेपालमा अवैतनिक दूत कानुनविपरीत काम गरी उन्मुक्ति पाउनका लागि लिने क्रम बढेको छ । कूटनीतिक सुविधा पाउने भएपछि पछिल्लो समयमा अवैतनिक दूत हुने होडबाजी चलेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिले नेपालमा ६७ देशका अवैतनिक दूत रहेका छन् ।
यसरी अवैतनिक दूतको पगरी लिएर त्यसको आडमा कूटनीतिक सुविधा लिनेहरुमा चौधरी ग्रुपका प्रमुख विनोद चौधरीको परिवारका ६ जना छन् । उनका भाइहरु वसन्तकुमार चौधरी मोरक्को र अरुणकुमार चौधरी हंगेरीका दूत हुन् । चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी सर्बियाका दूत हुन् भने माइला छोरा राहुल चौधरी माल्दिभ्सका दूत छन् । कान्छा छोरा बरुण चौधरी काजकिस्थानका हुन् । अरुण चौधरीका साला मोरङ अटोवक्र्सका संचालक बिष्णु अग्रवाल चेक रिपब्लिकका अवैतनिक दूत हुन् ।
त्यस्तै किर्गिस्तानका दूत सुलभ अग्रवाल भाइ साहिल अग्रवाल पनि अवैतनिक दूत हुन् । साहिल बोस्निया हर्जगोभिनियाका अवैतनिक दूत हुन् । जुन देश युद्धले जर्जर भएको र नेपालसँग कुनै पनि हिसाबले औपचारिक सम्बन्ध नभएको देश हो ।
राजेन्द्र खेतान पोर्चुगलका दूत हुन् । खेतानका भाइ प्रेमप्रकाश खेतान टर्कीका दूत हुन् । राजेन्द्र खेतानले श्रीमती सारिकालाई रोमानियाको अवैतनिक दूत बनाएका थिए ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल इण्डोनेसियाका लागि अवैतनिक बाणिज्य दूत हुन् भने अजय सुमार्गी बेलारुसका हुन् । एसिएन एयरका संचालक ब्यवसायी आङछिरिङ शेर्पा बेल्जियमका दूत हुन् । मनकामना केबलकारका राजेशबाबु श्रेष्ठ अष्ट्रियाका लागि अनररी कन्सुलर हुन् । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भियतनामका दूत हुन् ।
फिजीमा पारस शाक्य रहेका छन् । कुमारी बैंकका लगानीकर्ता तथा गोल्डस्टार जुत्ता उत्पादक अमिरप्रताप राणा क्रोसियाका दूत छन् । ज्योति ग्रुपका पदमज्योति साइप्रसका हुन् । पंचकन्या ग्रुपका प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाका दूत हुन् । भारतबाट तस्करीको चिनी ल्याएर नेपाली उद्योगको ट्याग झुन्ड्याएर बिक्री गर्ने र ६ अर्ब उखु किसानको नाममा भ्याटफिर्ता लिएर खाने शशीकान्त अग्रवाल इक्वेडरका दूतका रुपमा कुटनीतिक उन्मुक्ति लिइरहेका छन् ।
शारदा ग्रुपका शिवरतन शारदा जर्जियाका दूत हुन् । ग्रिसका विक्रम पाण्डे हु्न् । उनी पर्यटन ब्यवसायी हुन् । यी पाण्डे पूर्वमन्त्री तथा कालिका कन्ष्ट्रक्सनका संचालक हुन् भन्ने भ्रम धेरैलाई परेको छ । इरानमा नरेश श्रेष्ठ, आयरल्याण्डका मनोजबहादुर श्रेष्ठ, इटलीमा प्रतिमा राणा पाण्डे, लात्भियाका कर्ण बैद्य, लिथुहनियाका शोभाकर न्यौपाने, लक्जमबर्गका श्रीराम लामिछाने छन् । मनोजबहादुर हिमालयन बैंकका अध्यक्ष हुन् भने लामिछाने राजाको शासनकालमा स्काउटका प्रमुख आयुक्त थिए ।
इथोपियाको राजेन्द्र गिरी, इष्टोनियाको नवराज दाहाल, डेनमार्कको हरि धरेल, कोलम्बियाको विनयमान श्रेष्ठ, चिलीका वसन्तराज मिश्र, क्यानडाका बुद्ध बस्नेत, बुल्गेरियाका भोलाविक्रम थापा बाणिज्यदूत छन । दाहाल र धरेल पर्यटन ब्यवसायी हुन् । उनीहरु दुवै एशोसिएसन अफ ट्रेकिङ एजेन्टस् नेपाल(टान)का पूर्व अध्यक्ष हुन् । थापा पुराना ट्राभल संचालक हुन् ।
माल्टाका दिनेश श्रेष्ठ, मेक्सिकोका नरेश दुगड, मंगोलियाको दूत छेतेन गुर्मेन श्रेष्ठ छन् । पेरुका सुमितकुमार अग्रवाल, फिलिपिन्सका सुरज बैद्य, पोल्याण्डका लोकमान्य गोल्छा, स्लोभाक रिपब्लिकका पासाङदाबा शेर्पा, स्वीडेनका गजेन्द्रबहादुर श्रेष्ठ, तान्जेनियाका राजेश चौधरी र युक्रेनका किरण बैद्य छन् ।
सहकारीका जीबी राई भनेजस्तै हाइड्रोका गणेश कार्की गणेश कार्की पनि रकमकै चलखेल गरी मैरिससका अवैतनिक महाबाणिज्यदूत भएका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का समेत अध्यक्ष हुन् । गोल्डास्टार सूज कम्पनीकी सीईओ बिदूषी राणालाई गतबर्षमात्र गिरोहले आईसल्याण्डको अवैतनिक दूत बनाएको थियो । गिरोहले गएको बैशाखमा हाई हिमालयन हाइड्रोपावर कम्पनीका किरण मल्ललाई अर्मेनियाको अवैतनिक बाणिज्य दूत बनाएको थियो ।
यसरी आर्थिक चलखेलमा अवैतनिक बाणिज्यदूत हुने र नीलो नम्बर प्लेटका सवारीसाधनको दुरूपयोग गर्ने गरेको गुनासो ब्यापक थियो । तर यसअघिका सरकारले यस्तो दुरुपयोगमा आँखा चिम्लिएका थिए । तर सुशीला कार्की सरकारले निलो प्लेटको दुरुपयोग रोक्ने साहसिक निर्णय गरेकी छन् ।
हाल प्रयोगमा रहेका नीलो नम्बर प्लेट भएका सवारीसाधनलाई निजी सवारीसाधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायसँग यस निर्णयको कार्यान्वयनका लागि आवश्यक समन्वय हुने जानकारी सरकारबाट दिइएको छ ।
अवैतनिक कन्सुलेट जनरलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित (नियुक्ति दिने) मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख सरकार प्रमुख र परराष्ट्रमन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा बिदाइ र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend