काठमाडौं, १४ बैशाख । नेपालमा ५१ जना कोरोना संक्रमित रहेकोमा १६ जना निको भएर फर्किएका छन् । आज वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसअघि १२ जना निको भएर घर फर्किसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जको नारायणी अस्पतालमा उपचारत ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी आजको नियमित पत्रकार सम्मेलनमा दिएका छन् ।
देवकोटाका अनुसार नारायणी अस्पतालमा उपचाररत रौतहटका १९ वर्षीय पुरुष १४ औं दिन र ३ जना भारतीय नागरिक १५ औं दिनपछि कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १ जना, विरगञ्जको नारायणी अस्पतालमा ३ जना, भरतपुरको कोरोना विशेष अस्पतालमा १ जना र विराटनगरको कोशी अस्पतालमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको छ ।
प्रवक्ता डाक्टर देवकोटाले विभिन्न अस्पतालमा उपचारत ३५ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।
डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ९ हजार ९ सय ३१ वटा नमूना परीक्षण गरिएको छ । यस्तै र्यापिड डाग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट ४१ हजार ४ सय ३६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ९६ वटा नमूना परीक्षण भएको छ ।