Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘वित्तीय निकायसक्षम भएमात्र उद्योग व्यवसाय फष्टाउँछ’


    मंगलबार, माघ २७ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फष्टाउने बताएका छन्। महासङ्घअन्तगर्तको बैंक, वित्तीय तथा बिमा समिति विस्तार कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले बैंक, वित्तीय तथा बिमा समिति महासङ्घको महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताए । 

    अध्यक्ष गोल्छाले महासङ्घले छिट्टै नै बैंकिङ, कर राजस्व, श्रमलगायतका समस्यालाई सम्बोधन गर्न महासङ्घभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाइ स्थापना गर्ने तयारीमा रहेकोसमेत जानकारी गराए । सो एकाइ साधन स्रोत सम्पन्न हुने र समस्यालाई सोही एकाइमार्फत नै समाधान गरी उद्यमी व्यवसायीलाई राहत दिने आफूहरूको लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यसमा छिट्टै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

    अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलानात्मकरूपमा महङ्गो भएकाले यसलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेकामा जोड दिए । महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय र बैंकिङ क्षेत्र बीच कहिलेकाहीँ तनावको अवस्थासमेत आउने गरेको विगतको यथार्थतालाई ध्यान दिई समितिले अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताए । समितिले दिने सुझावबाट मुलुकभित्र वित्तीय र उद्योग व्यसाय दुवै क्षेत्र फष्टाउने वातावरण बन्नुपर्नेमा उनको जोड थियो । महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र सङ्घईले समितिले तयार गर्ने सुझाव साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिनसके बढी फलदायी हुने धारणा व्यक्त गरे । 

    महासङ्घको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालको सभापतित्वमा गठित बैंक, वित्तीय तथा बिमा समिति आज विस्तार गरिएको छ । समितिका सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य शक्तिकुमार वेगानी र सुबोधकुमार गुप्ता हुनुहुन्छ । समितिका सदस्यमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवास झुनझुनवाला, महासङ्घको कार्यकारिणी समितिका पूर्वसदस्य सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी रहनुभएको महासङ्घले जनाएको छ ।  समितिका आमन्त्रितमा महासङ्घको कार्यकारिणी समितिका सदस्य विजयसिंह वैध, सन्दीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासङ्घको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार