प्रकाश सिलवाल
काठमाडौँ । शनिबार साँझ बल्खुुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान सारियो ।
यस्तै, नदी किनारका सडकमा राखिएका सवारीसाधनलाई पनि त्यहाँबाट सुरक्षित स्थलतर्फ लगियो । फस्न लागेका मोटरसाइकललाई हतार हतार डुबान क्षेत्रबाट निकालिएको दृष्यले काठमाडौँमा बाढीको असर पर्न थालिएको अनुभूति भइसकेको छ । केही सञ्चारकर्मी र यात्रुले डुबानको दृश्यलाई कैद गरिरहेका थिए ।
पानी परिरहेको र थप जोखिम हुन सक्ने भएकाले डुबान भइरहेको बस्तीभित्र कोही पस्ने कुरा भएन । त्यही बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, हरी विकास सचिव गोपालप्रसाद सिग्देलसहितको टोली त्यहाँ पुगेको देखियो । उहाँहरूले मानवीय र भौतिक क्षति हुन नदिन सतर्कता अपनाउन सम्बन्धित निकाय र स्थानीय प्रशासनलाई निर्देशन गर्नुभयो ।
मन्त्री घिसिङसहितको टोलीले आज काठमाडौँभित्रको धोवीखोला करिडोर, मनोहरा, विष्णुमती, बागमती करिडोर, चोभार–गल्छीलगायत क्षेत्रमा निरीक्षण गरेको थियो । लतिपुरतर्फका करिडोरमा ललितपुर महानगरपालिका प्रमुख चिररिबाबु महार्जनसहितले पनि निरीक्षण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका काममा जुटिरहेको देखियो ।
यहाँ रहेका नौ वटा स्वचालित बाढीमापन केन्द्रमध्ये बागमती खोकना केन्द्रमा तीन दशमलव पाँच मिटरको सतर्कता विन्दु रहेकामा साँझ ६ बजेसम्ममा तीन दशमलव ५८ मिटर पानीको सतह भइसकेको थियो । यस्तै, मनहरा खोला, बालकुमारी केन्द्रमा चार दशमलव चार मिटरसम्म खतरा तह मानिएकामा चार दशमलव ४३ मिटरको तह पुगिसकेको छ र यो बढ्दो क्रममा रहेको छ । यो बढ्दो क्रमले टेकु, बल्खु र सानेपास्थितका क्षेत्रमा खतराको घन्टी बजेको अनुभव गरिएको छ । च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालय र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा बाढी पस्न थालेको छ ।
गत वर्ष असोजको दोस्रो साता पनि यस्तै गरी दुई दिनसम्म लगातार परेको वर्षाले ठूलो मानवीय र भौतिक क्षति गरेकाले यस वर्ष जल तथा मौसम विज्ञान विभागले हरेक तीन तीन दिनको मौसम पूर्वामानुमान प्रणाली सार्वजनिक गरी सतर्क रहन अनुरोध गर्दै आएको थियो । त्यसले पूर्वतयारीमा जुट्न राज्यका निकाय र जनसमुदायलाई केही सहज भएको छ । विभागको पूर्वानुमान अनुसार नै बागमती, गण्डकी, मधेस र लुम्बिनीका विभिन्न क्षेत्रमा आज बिहानदेखि पानी परिरहेको छ र यो क्रम आगामी तीन दिनसम्म रहने छ । अनुमानका कारण लामो र जोखिमयुक्त मार्गमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । मुलुकभित्रका आन्तरिक उडान सबै बन्द गरिएका छन् ।
रातिको समयमा अझ धेरै पानी पर्ने भएकाले तीनै तहका सरकार, सुरक्षा निकायसमेत परिचालन भई ती क्षेत्रमा मानवबस्तीलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र सुरक्षाका अन्य उपाय अपनाउने क्रम जारी छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत् बागमती नदी वरिपरिका बासिन्दालाई बाढीले विस्थापन गर्ने ठुलो सम्भावना रहेकाले बाढी नघटुञ्जेलसम्म अस्थायी रूपमा बस्न व्यवस्था उपलब्ध गराउन त्यहाँ वरपरका विद्यालय र कलेजलाई आव्हान गर्नुभएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको आग्रहमा आफूले त्यहाँका विद्यालय र कलेजलाई आवश्यक निर्देशन दिन शिक्षा मन्त्रालयका सम्बन्धित शाखामार्फत निर्देशन दिएको उहाँले जनाउनुभएको छ ।
यस्तै, काठमाडौँ महागरपालिकाको विपद् व्यवस्थापन विभागले जोखिम भएका नदी किनार छेउछाउका बासिन्दालाई नजिकैको सुरक्षित विद्यालयमा स्थानान्तरण गर्न थालिसकेको छ ।
यही असोज २० गतेसम्म कोसीदेखि लुम्बिनी प्रदेशसम्मका काभ्रे, सिन्धुपाल्चोक, रसुवा मकवानपुर, बरा पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा मध्यमदेखि अति भारी वषौको पूर्वानुमान छ । त्यसबाट उत्पन्न हुनसक्ने विपद्को सामना गर्न सरकारी संयन्त्रहरू तयारी अवस्थामा देखिएका छन् । वर्षाका कारणले आउन सक्ने जोखिम व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेनाका छ वटा हेलिकप्टर, अन्य निजी हेलिकप्टर, ड्रोन, तीन वटै सुरक्षा निकाय र प्रत्येक स्थानीय तहमा आवश्यक स्वयंमसेवकलाई तयारी अवस्थामा राखेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
अविरल वर्षापछि आउन सक्ने सम्भावित जोखिमका लागि सरकारी र गैरसरकारी निकायसँगको समन्वयमा सबै संयन्त्रलाई परिचालन गरिएको सरकारले सार्वजनिक रूपमा जनाइसकेको छ । विभिन्न राजनीतिक दलले पनि विज्ञप्ति जारी गरी विपद्पछिको अवस्था सामना र मानवीय सहयोगका लागि तयारी अवस्थामा रहेका जनाएका छन् । रासस
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend