काठमाडौँ । लागूऔषध कारोबारमा नेपाल प्रहरीकै एक जुनियर अधिकृतको संलग्नता देखिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनलायमा दरबन्दी रहेका प्रहरी नायब निरीक्षक(सई) पवन श्रेष्ठलाई सोमबार लागूऔषध कारोबारीसँगको कनेक्सन देखिएपछि उनलाई नियन्त्रणमा लिएको छ ।
२०७७ माघ ७ मा ब्राउन सुगर, खैरो हेरोइन, एम्फेटामाइनसहित ब्यूरोले नियन्त्रणम लिएका दीपक राई, सन्दीप राई, केसाङ योल्मु, टासी सन्डुप गुरुङसहितका कारोबारीसँग सई श्रेष्ठको कलडिटेल र म्यासेज आदाना प्रदान भएको देखिएपछि उनलाई नियन्त्रणमा लिएको छ । सई श्रेष्ठ लागूऔषध सेवनकर्ता र आपूर्तिकर्ता समेत देखिएको उनको म्यासेजबाट खुलेको प्रहरी स्रोतको दाबी छ । प्रहरी संगठनकै जुनियर अधिकृतको संलग्नता देखिएपछि ब्यूरोले उनलाई जोगाउन खोजेको थियो । तर जोगाउनै नसक्ने भएपछि सोमबार उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी दिलीप चौधरीले सई श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताए । उनले भने–‘उनी लागूऔषध प्रयोगकर्ता हुन् । तर सप्लाई गरेको भने पुष्टि भएको छैन ।’ ललितपु हात्तीवनका बासिन्दा श्रेष्ठको घरमा लागूऔषध बरामद नभएको एसएसपी चौधरीले बताए ।
श्रेष्ठ यसअघि दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत रहँदा बैदेशिक रोजगार कार्यालय ताहाचलमा खटिंदा पनि घुस असुलीका कारण विवादमा परेका थिए । तर तत्कालीन दंगा गणका एसपी राजुबाबु श्रेष्ठले उनलाई कारबाहीबाट जोगाएका थिए । अहिले लागूऔषध नियन्त्रण ब्यूरोले उनको लागूऔषध कारोबारीसँग कनेक्सन देखिएपछि नियन्त्रणमा लिएको छ ।
लागूऔषध कारोबारमा संलग्नता देखिएमा प्रहरीले ३ महिनासम्म अनुसन्धानका लागि थुनामा राख्न पाउँछ । र, त्यसपछि मुद्दा दर्ता गर्ने कानुनी ब्यवस्था छ ।