Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेशागत महासंघबाट ओली समूह चोइटियो, कर्मचारी संगठन पनि विभाजन हुँदै


    सोमबार, माघ २६ २०७७
    3.5K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । संसदमा दुई तिहाई बहुमतको पार्टी विभाजन गरेका केपी ओलीले पेशागत संघ संगठनहरु पनि धमाधम विभाजन गर्न थालेका छन् ।

     २०५४ सालमा एमाले–माले विभाजन हुँदासमेत नफुटेका पेशागत संघ–संगठनहरु विभाजन गर्न ओली नेकपा अग्रसर भएको छ । २०७७ माघ २४ मा कार्की ब्याङ्क्वेटमा सत्तापक्ष नेकपानिकट कर्मचारीलगायत पेशाकर्मीहरुको भेलाले बाबुराम थापाको अध्यक्षतामा कमिटी गठन गरी पेशागत महासंघलाई औपचारिकरुपमा विभाजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख अतिथि, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना र उर्जामन्त्री टोपबहादुर रायमाझीको उपस्थितिमा पेशागत महासंघ विभाजन गरिएको छ ।

     पेशागत महासंघमा नेकपा प्रचण्ड–माधव पक्षको बाहुल्यता रहेको छ । ओली समूहबाट १ जनामात्रै उपाध्यक्ष दीपक सुवेदी महासंघको कार्यसमितिमा थिए । सुवेदीबाहेक महासंघको सिंगो कार्यसमिति प्रचण्ड–माधव पक्षमा रहेको छ । तर सरकार पक्ष नेकपाले विगतमा नेकपा माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनको नेतृत्वमा रहँदा नै कारबाहीमा परेका दयाराम बस्याल लगायतलाई लिएर २ सय ५ सदस्यीय कमिटी घोषणा गरेको छ । कमिटीमा रहेका आधाभन्दा बढीलाई सोध्दै नसोधी राखिएकाले औपचारिक रुपमै त्यहाँ नरहेको घोषणा गर्ने तयारीमा छन् । ओली समूहले अध्यक्ष बनाएका बाबुराम थापा पेशागत महासंघको अध्यक्षमा २ पटक भारी मतले पराजीत भएका हुन् । ओलीले २ पटक हारेका थापालाई यो पटक टीका लगाएर अध्यक्ष सुम्पिएको छ ।

    पेशागत महासंघमा नेपाल निजामती कर्मचारी संगठन, शिक्षक संगठन, स्थानीय निकाय कर्मचारी संघ, बैंक तथा वित्तीय संस्था कर्मचारी संघलगायतका २५ वटा घटक छन् । यी २५ वटै घटकमा प्रचण्ड–माधव पक्षको बाहुल्यता रहेकाले सबै विभाजन गर्ने तरखर ओली नेकपाले गरेको छ । पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलसहित २५ वटै घटकमा माधव नेपाल र प्रचण्ड पक्ष बहुमतमा छ । 

    यसैबीच, ओली नेकपाले पेशागत महासंघ फुटाएपछि नेपाल निजामती कर्मचारी संगठन पनि विभाजित हुने भएको छ । संगठनका पूर्वअध्यक्ष मोहन घिमिरेले नेपाल निजामती कर्मचारी संगठनको ५ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छिट्टै घोषणा हुने बताए । उनले भने, ‘केन्द्रीय कमिटी र ७७ वटै जिल्ला कार्यसमिति घोषणा गर्दैछौं । नेपाल निजामती कर्मचारी संगठनमा अध्यक्ष केदारप्रसाद देवकोटा ओली नेकपा निकट हुन् । पेशागत महासंघ ओलीले विभाजन गरेपछि प्रचण्ड–माधव पक्ष ओलीनिकट देवकोटा अध्यक्ष रहेको संगठन विभाजन गर्न अग्रसर भएको हो । 

    एकता नहुँदै नेकपा फुटेपछि…

    २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भयो । पार्टी एकतापछि भातृसंगठनहरु र पेशागत संगठनहरु एकता प्रक्रियामा आए । तर राष्ट्रिय कर्मचारी संगठन र निजामती कर्मचारी संगठनबीच एकता हुन सकेको थिएन । आधिकारिक ट्रेड यूनियन वा निजामती कर्मचारी संगठनमध्ये एकको अध्यक्ष तत्कालीन माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनले दाबी गरेपछि एकता प्रक्रिया टुंगिन सकेको थिएन ।

     यी दुई कर्मचारी संगठनबीच एकता नहुँदै नेकपा फुटेको छ । नेकपा फुटेपछि माधव नेपाल निकट कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनबीच एकता हुने सम्भावना बढेको छ । पेशागत संघ–संगठनमा माधव नेपालको पकड बलियो छ । त्यसैकारण ओली समूहले पेशागत महासंघमा धावा बोलेर औपचारिक रुपमा विभाजन गरेको छ । साविक माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल र माधव नेपाल निकट निजामती कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेका बिचमा संगठनको एकताको बारेमा छलफल भइरहेको समाचार आजको साँघु साप्ताहिकमा छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार