बीरगंज, १४ वैशाख । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । र्यापिड टेष्टमा पोजेटिभ देखिएकी वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो ।
उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । पीसीआर रिपोर्ट नआउँदै उनको मृत्यु भएको हो । उनको सब नारायणी अस्पतालमा राखिएको छ ।
आरडीटी टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । मृत्यु भएकी युवती ब्लड क्यान्सरको बिरामी रहेको खुलेको छ ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो ।