काठमाडौँ, १३ चैत । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन १ हप्ताका लागि थप गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । शनिबार समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले आन्तरिक उडान खुलाउने भनिए पनि त्यो निर्णय गरेन । आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म नखुलाउने निर्णय गरेको छ ।
शनिबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए
यसअघि सरकारले वैशाख १८ अर्थात् अप्रिल ३० सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो । लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल भए पनि यसको विषयमा निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने सचिव विडारीले बताए । मन्त्रिपरिषदको बैठक आइतबार बसेर लकडाउनबारे निर्णय गर्नेछ ।