काठमाडौं । नेपाल प्रहरीमा एसएसपी भइसकेपछि काठमाडौं परिसरको प्रमुख हुने चाहना धेरैलाई हुने गर्दछ । तर परिसरको प्रमुख हुने अवसर कमैले मात्र पाउने गर्दछन् । राजधानी रहेको जिल्ला काठमाडौं परिसरको एसएसपी प्रतिष्ठामात्र होइन, कमाइका हिसाबले पनि उत्तिकै आकर्षक मानिन्छ ।
काठमाडौंका बृत्त र प्रभागहरुको कमाण्ड पनि परिसर प्रमुखकै हुने भएकाले एसएसपीको पहिलो रोजाइ परिसर नै हुने गर्दछ । गृहमन्त्री फेरबदल हुनासाथ काठमाडौं परिसरको प्रमुख पनि फेरिने भएकाले कतिपय एसएसपीले ६ महिना पनि कार्यकाल पूरा गर्न नपाई सरुवा हुने गर्दछन् ।
परिसर एसएसपीका लागि मात्र होइन, केही अधिकृत र जुनियर अधिकृतका लागि पनि उत्तिकै आकर्षक छ । परिसरमा एसएसपीलाई रिझाएर एक प्रहरी निरीक्षक १२ बर्षदेखि कार्यरत छन् । परिसरको प्रशासन प्रमुख इन्स्पेक्टर अनिल अधिकारीलाई प्रहरीको आवधिक सरुवाको नीति समेत लागू हुँदैन । प्रायः प्रहरीमा १ बर्षमा इन्स्पेक्टरदेखि एआइजीसम्मको सरुवा हुन्छ । तर इन्स्पेक्टर अधिकारीलाई भने यो नीति लागू भएको छैन । उनी १२ बर्षदेखि परिसरको प्रशासन प्रमुख भएर कार्यालयभित्र मात्र होइन, मातहतका बृत्तर प्रभागमा जुनियर अधिकृत कस कसलाई पठाउने र तान्ने खेल खेल्ने गरेका छन् । आवधिक सरुवाको नीति सुशासनका लागि नै बनाइएको हो, तर १२ बर्षदेखि परिसरमा कार्यरत इन्स्पेक्टर अधिकारीले परिसरका हरेक प्रमुखलाई प्रभावमा पारी सिन्डिकेट चलाएका छन् । र, परिसरको हिरासतदेखि सबै ठाउँमा आफ्ना निकटका ब्यक्ति फिट गरेका छन् ।
काठमाडौ परिसरमा सरुवा भएका धेरै जुनियर अधिकृत र अधिकृत २ बर्षसम्म बसेको अभिलेख छैन, तर अधिकारी र उनको छत्रछायँमा रहेको समूह १२ देखि १५ बर्षदेखि कार्यरत छ । त्यो पनि महत्वपूर्ण जिम्मेवारीसहित । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले प्रहरीमा सुधारको सुरुवात गरेका छन् । तर काठमाडौं परिसरमा भने त्यो सुधारको कुनै छनक समेत नदेखिएको प्रहरी स्रोत बताउँछ ।
जो महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भए पनि काठमाडौं परिसरका प्रशासन प्रमुख अनिल अधिकारीको सिन्डिकेटले विगत १० वर्षदेखि हिरासत, मेस, क्यान्टिन र प्रहरीको भत्तामा व्यापक आर्थिक हिनामिना गर्ने क्रम जारी राखेको छ ।
इन्स्पेक्टर अनिल अधिकारी प्रहरी नायब निरीक्षक (सई) हुँदा २ वर्ष र इन्स्पेक्टरमा बढुवा भइसकेपछि ८ वर्षदेखि निरन्तर काठमाडौं परिसरको प्रशासन प्रमुख छन् । अधिकारी २०५१ सालमा महेन्द्र पुलिसको असई(खेलकुद) भर्ना भएका हुन् । पुलिस क्लबको पूर्वकप्तान (फुटबल) खेलबाट सन्यास लिए पश्चात् निरन्तररुपमा उनी काठमाडौं परिसरमा कार्यरत छन् ।
१० वर्षदेखि काठमाडौंं परिसरमा रहेका उनको सरुवा भए पनि परिसर प्रमुखलाई भनसुन गरी त्यहीं थमौती हुँदै आएको प्रहरी अधिकृतहरु बताउछन् । स्रोतका अनुसार काठमाडौं बाहिर जतिसुकै आकर्षक स्थानमा सरुवा भएपनि उनी जाँदैनन् । एसएसपीलाई खुसी पारेर त्यहीँ बस्दै आएका छन् ।
इन्स्पेक्टर अधिकारीले परिसर मातहत कनिष्ठ अधिकृतहरु असई र सईको पोष्टिङ राम्रो ठाउँमा पार्दै व्यक्तिगत स्वार्थपूर्ति गर्ने गरेको आरोप छ । आफूले रुचाएका र आफूलाई खुसी पार्ने प्रहरीलाई कारबाहीबाट बचाउने काम पनि उनीबाट हुँदै आएको छ । प्रशासन प्रमुख अधिकारीले परिसर मातहतका वृत्त, प्रभागहरुमा असई, सई खटाउने र उनीहरुलाई अतिरिक्त रकम उठाउन लगाउने र आफूले हिस्सा लिने गरेका छन् । आफूले भने बमोजिम कोसेली नबुझाउनेका विरुद्ध हाकिमलाई कुरा लगाएर कारबाहीसमेत गराउने भएकाले उनलाई खुसी पार्न मातहतका प्रहरी बाध्य हुँदै आएका छन् ।
क्यान्टिन सञ्चालन गर्नका लागि परिसरका हाकिमका ड्राइभर, ढोके, बडिगार्ड आफैले छानेर राख्ने र तिनै व्यक्तिहरुलाई क्यान्टिनको ठेक्का दिलाएबापत प्रतिमहिना २ लाखसम्म रकम लिने गरेको आरोप अधिकारीमाथि छ । उनले आफूले मन पराएका कर्मचारीलाई मागेको बेला बिदा दिने, पुरस्कार सिफारिस गर्ने र भनेको ठाउँमा खटाइदिने गरेका छन् । क्यान्टिनको ठेक्कामा हाकिमको चाहनासमेत पूरा गर्ने भएकाले इन्स्पेक्टर अधिकारी शक्तिशाली हुँदै आएको महानगरीय प्रहरी परिसर काठमाडौंमा बसिसकेका जुनियर अधिकृतहरु बताउछन् । हालका एसएसपी अशोक सिंहका निकट प्रहरीलाई क्यान्टिनको ठेक्का दिएकाले उनले पनि अधिकारीका कुरा सुन्ने गरेका छन् ।
यसरी असुली हुन्छ रकम
काठमाडौं परिसर अन्तर्गत क्यान्टिन, हिरासत र मेसबाट इन्स्पेक्टर अधिकारीको सिन्डिकेटले अतिरिक्त रकम असुली गर्दै आएको छ । काठमाडौं परिसरको क्यान्टिनको ठेक्का ४÷४ महिनामा आलोपालो सिस्टमले लगाउने गरिन्छ । जसमा ४ जनाको गोलाप्रथा गरिन्छ । भुक्तभोगी स्रोत भन्छ, गोलाप्रथामा इन्स्पेक्टर अधिकारीले चाहेको मान्छे पर्दछन् । यसमा हाकिमका ढोके, बडिगार्ड र ड्राइभर हुन्छन् । ४ महिनामा ८÷१० लाखसम्म क्यान्टिनबाट प्रहरी अधिकृत तथा कर्मचारीले आम्दानी गर्ने गर्दछन् । जसमा प्रत्येक महिनाको ४० हजार प्रशासन प्रमुख अधिकारीमार्फत् माथिसम्म पुग्ने गर्दछ । किनकि काठमाडौं परिसरमा सिनियर अफिसरलाई रासन फ्री हुन्छ, त्यही क्यान्टिनको पैसाबाट सबै व्यवस्थापन गर्ने गरिएको छ ।
कसरी दिइन्छ क्यान्टिनको ठेक्का ?
प्रशासन प्रमुख इन्स्पेक्टर अधिकारीलाई परिसर नै रसुवा र वीरगंज भन्सारको प्रमुखले भन्दा बढी आम्दानी गर्ने थलो बनेको छ । त्यही भएकाले उनी जतिसुकै आकर्षक ठाउँमा सरुवा भए पनि जाँदैनन् । अधिकारीले क्यान्टिन सञ्चालनको लागि व्यक्ति छनौट गर्दा हाकिसको ढोके, बडिगार्ड र ड्राइभरलाई मात्र गर्दछन् ।
क्यान्टिनको ठेक्का पाइसकेका व्यक्ति बाहिरबाट छनौट गरिन्छ । किनकि दुईपटक क्यान्टिन चलाउने पाउने सम्भावना कम हुन्छ । बडिगार्ड, ड्राइभर, ढोके छनौट गर्दा अधिकारीले क्यान्टिन दिलाउन पहिले नै डिल गर्दछन् । क्यान्टिन सञ्चालन गर्न दिँदा अग्रिम २ लाख असुलेपछि मात्रै उनले दिने गरेको स्रोत बताउँछ । बडिगार्ड, ढोके र ड्राइभर हाकिमको नजिक हुनेहँुदा उनीहरुलाई क्यान्टिनको ठेक्का दिँदा हाकिमको पनि स्वार्थ मिल्न जान्छ । जसका कारण हाकिमहरुको नजरमा इन्स्पेक्टर अधिकारी बफादार देखिन्छन् ।
यसरी क्यान्टिन चलाउन गृह मन्त्रालय, महानगरीय आयुक्त कार्यालय, प्रहरी प्रधान कार्यालयबाट दवाव आउने गर्दछ । इन्स्पेक्टर अधिकारीको स्वार्थ बिना कसैले पनि क्यान्टिन चलाउन वा हिरासत कक्षको प्रमुख हुन पाउँदैनन् । परिसरमा क्यान्टिनबाट ४ महिनामा १० लाखसम्म असुली हुने गरेको स्रोतको दावी छ ।
क्यान्टिनको खाना पाँच तारे होटलको भन्दा महंगो
इन्स्पेक्टर अधिकारी परिसरमा हरेक दिन ५ बजेबाट बेलुका ८ बजेसम्म काम गरेको देखाउँदै हाकिमलाई प्रभावमा पारी निरन्तर १० वर्षदेखि परिसरमा राज गर्दै आएका छन् । राज मात्र होइन, उनले परिसरका एसएसपी होइन, डीआईजीको भन्दा बढी अतिरिक्त आम्दानीसमेत गर्ने गरेको उनलाई नजिकबाट चिन्ने प्रहरी अधिकृतहरु बताउँछन् । कार्यालयको कामको लागि कुनै सवारी छैन । तर इन्स्पेक्टर अधिकारीले ६ लाख पर्ने बुलेट बाइक आफ्नो निजी बनाएर प्रयोग गर्दै आएका छन् ।
काठमाडौं परिसरमा ५० देखि १०० जनासम्म थुनुवा दैनिक हुने गर्दछन् । थुनुवालाई क्यान्टिनबाट खाना जाने गर्दछ । प्रायः थुनुवाले सरकारी सिदाको रुपमा पाउने खाना नराम्रो हुने भएकाले बिहानको नास्ता, चिया, कफी, अण्डा, दिउँसोको खाजा, बिहान बेलुकाको खाना, मासु क्यान्टिनबाट मगाएर खान्छन् । काठमाडौं परिसरको क्यान्टिनबाट खाना र खाजा मगाउँदा थुनुवाले ५ तारे होटलको भन्दा बढी महंगो रकम तिर्नुपर्छ ।
परिसरको क्यान्टिनमा एक कप चियाको रु. १ सय र एक कप कफीको रु. २ सय तिर्नुपर्दछ । मासु सहितको खानाको रु. ४ सय तिर्नुपर्दछ । एक किलो कुखुराको मासु पकाएर दिँदा २ हजार ५ सयसम्म लिने गरेको गुनासो थुनुवाहरुले नै गर्ने गरेका छन् । गरीव होस् कि धनी, थुनुवासँग यस्तो महंगो रकम लिने गरेको भए पनि सबै परिसर प्रमुखहरुले यसमा चुप्पी साँध्दै आएका छन् । हालका एसएसपी सिंहले पनि थुनुवासँग लिइने यति चर्को रकमको बारेमा चासो दिएका छैनन् । किनकि इन्स्पेक्टर अधिकारीले क्यान्टिन सञ्चालकबाट सबै हाकिमहरुको मुख बुझो लगाउँदै आएकाले यस्तो चरम महंगो रकम असुल्दा पनि हाकिमहरु मौन बस्ने गरेका छन् ।
जुवाडे र डन पक्राउ पर्दा हर्षोल्लास
काठमाडौं परिसरका इन्स्पेक्टर अनिल अधिकारी र उनको सिन्डिकेट ठूलो जुवाडे समूह र डन पक्राउ पर्दा खुसी हुने गर्दछन् । यिनीहरु पक्राउ पर्दा क्यान्टिनमा दशैं आएजस्तै हुन्छ । भोजभतेर र खानपिन इच्छाभोजन चल्ने गर्दछ । उनीहरुले क्यान्टिन सञ्चालकलाई भोजभतेर गरेवापत जति रकम मागे पनि दिने भएकाले करोडपति जुवाडे पक्राउ पर्दा परिसरमा हर्षाेल्लास छाउने गर्दछ ।
क्यान्टिन सञ्चालकले बिजुली, पानीलगायतका सामग्री उपयोग गरेवापत केही पनि तिर्नुपर्दैन । तर पनि क्यान्टिनको खाना, खाजा गरीव गुरुवा थुनुवाहरुले समेत अत्यधिक महंगो मूल्य तिरेर खानुपर्ने बाध्यता छ । बिजुली पानीको पैसा तिर्नु नपरेपछि सबै आम्दानी जोगिने भएकाले ४ महिनामा क्यान्टिन सञ्चालन गर्दा मासिक ३ लाखका दरले फाइदा हुने देखिन्छ । त्यो फाइदाको २५ प्रतिशत प्रशासन प्रमुख अधिकारीले लिएर माथिसम्म हिस्सा बुझाउँदै हाकिमको नजरमा राम्रो बन्दै आएका छन् ।
हिरासत कक्षमा घोटाला
हिरासत कक्षका कमाण्डर इन्स्पेक्टर अधिकारीले छानेका असई वा सई हुन्छन् । किनकि यहाँ पनि पैसा कमाउने धन्दा चल्ने गर्दछ । हिरासत कक्षमा क्यान्टिनको खाना बिकाउन थुनुवाका लागि घरबाट ल्याएको खाना लैजान बर्जित गरिएको छ । जसका कारण क्यान्टिनबाट महंगोमा खाना खान थुनुवाहरु बाध्य हुँदै आएका छन् । हिरासत कक्षबाट थुनुवालाई एक कल फोन गर्न दिएबापत रु. ३ सय देखि ५ सय रुपैयाँसम्म रकम असुली गर्ने गरेका छन् ।
हिरासत कक्षमा पावरफुल, पैसावाल मान्छे आउँदा त्यहाँ सुविधाअनुसार पैसा असुल्ने गरिन्छ । त्यसमा प्रहरी कर्मचारीले खाना, खाजा, नास्ता फ्रीमा लिने गर्दछन् । पावरफुल थुनुवालाई मोवाइलको सुविधा र बर्जित गरिएको खैनी गुट्खासमेत प्रहरीले नै पुर्याउने गरेका छन् ।
यसरी प्रशासन प्रमुख अधिकारी, क्यान्टिन, हिरासत पक्षका प्रमुख मिलेर आर्थिक घोटाला हुने गरेको छ । थुनुवाको महंगो सुन, गहना र पैसा पनि बेलाबेला हिरासतबाट गायब हुने गरेको गुनासो छ । २०७१ सालमा हिरासत कक्षबाट थुनुवाको ३ तोला सुन राख्ने प्रहरी कर्मचारीबाट उक्त सुन गायब भएको थियो । त्यो सुन प्रशासन प्रमुख अधिकारी, हिरासत प्रमुख र कर्मचारी मिलेर पचाए पनि प्रत्येक कर्मचारीले प्रतिव्यक्ति २० हजार तिर्नुपरेको थियो । काठमाडौं परिसरको हिरासत कक्ष, क्यान्टिनमा भएका घोटालाका यी प्रतिनिधि उदाहरण मात्र हुन् । सुन हराउँदा धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भएको थियो ।
यसरी हुन्छ भत्तामा घोटाला
काठमाडौैं प्रहरी परिसर र मातहतका वृत्तबाट विभिन्न समयमा हुने एसईई परीक्षा, कोरियन भाषा परीक्षा, त्रिभुवन विश्वविद्यालयका परीक्षा, सभा सम्मेलन, गोष्ठी आदिमा प्रहरी कर्मचारी खटाउने गरिन्छ । यसरी खटाउँदा सरकारले भत्ता दिने व्यवस्था गरेको छ । त्यो भत्ता एकमुष्ठ रुपमा जम्मा हुन्छ । प्रशासनमा जम्मा भएको उक्त रकम खटिने प्रहरीलाई दिनुपर्ने हो । तर इन्स्पेक्टर अधिकारीले वार्षिक रुपमा उक्त वापतको ट्रयाकसुट वितरण गर्ने गरेका छन् ।
भत्तावापतको रकम नै दिए तल्ला दर्जाका प्रहरीका बालबच्चाको स्कुलको शुल्क तिर्न वा रासनपानीमा मद्दत पुग्थ्यो होला । तर गुणस्तरहीन ट्रयाकसुट दिएर इन्स्पेक्टर अधिकारीले लाखौं रकम अपारदर्शी रुपमा हिनामिना गर्ने गरेको आरोप छ । वार्षिक रुपमा कम्तीमा पनि ५ सय देखि ६ सय जना प्रहरीको भत्ता परिसरमा आउने गर्दछ । तर त्यो भत्ता खटिने प्रहरीले पाउँदैनन् । उनीहरुलाई कमसल ट्रयाक सुट दिएर टार्ने गरिन्छ र भत्ताको रकममा अनियमितता हुँदै आएको गुनासो पनि प्राप्त भएको छ ।
अधिकारीको सिन्डिकेटमा को–को ?
इन्स्पेक्टर अधिकारी लामो समय कार्यरत रहेकाले परिसरमा उनले आफ्नै सिन्डिकेट तयार गरेका छन् । त्यही सिन्डिकेटमार्फत् क्यान्टिन र हिरासत कक्षबाट थुनुवासँग मनपरी रकम असुल्ने गरिएको छ । प्रनि अधिकारीसहित सिन्डिकेटमा रहेकाहरु पनि परिसरमा ११÷१२ वर्षदेखि त्यहीं कार्यरत छन् । यस्तो सिन्डिकेटमा प्रहरी नायब निरीक्षक (सई) धनसिंह ऐर छन् । उनी ११ वर्षदेखि परिसरको सुबेदार मेजर रहेको स्रोत बताउछ । सई ज्ञानु अधिकारी पनि सिन्डिकेटभित्रैका हुन् उनी १२ वर्षदेखि काठमाडौं परिसरको जिन्सी (भण्डार) प्रमुख हुन् ।
त्यसैगरी, असई राम प्रजापति गाडी कमाण्डर हुन् । उनी १५ वर्षदेखि परिसरमा कार्यरत छन् । मोटरसाइकलदेखि गाडीको पार्टपुर्जा अनियमित मात्रै होइन घोटाला हुने गरेको स्रोत बताउछ । गाडी मर्मतको नाममा लाखौं घोटाला हुँदै आएको छ । असई राम प्रजापतिले प्रहरी कर्मचारीहरुलाई निकै दुःख दिने गरेको गुनासो छ । प्रजापतिले मन परेको ड्राइभरलाई महिनौं बिदा छोड्ने, मन नपरेकालाई रातदिन डिउटीमा हालेर हदैसम्मको दुख दिने गरेको कुरा पनि गुनासो पत्रमा उल्लेख छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend