Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • हिमपातका कारण हुम्लामा हवाई सेवा अवरुद्ध


    शुक्रबार, माघ २३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट  । हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो ।

    बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुसमेत सिमकोटमै रोकिएका छन् ।

    यस्तै जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा तल्लो क्षेत्रभन्दा बढी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले उत्तरी हिल्सामा आवतजावतसमेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेको सशस्त्र प्रहरीको बिओपी हिल्साले जानकारी दिएको छ ।

    हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् भने यहाँका कृषक खुसी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार