युवराज संग्रौला
राजनीति रजन गर्ने पद्धति हो । रजन गर्नु भनेको खुसी पार्नु शुखी बनाउनु हो । राजनीतिमा जबर्जस्त प्रतिस्पर्धा हुन्छ, तर बिचार र नैतिकताको घेराभित्र । मलाई राजनीतिको तनाव बिग्रदो माहौलबाट त्यति डर लागेको छैन । तर राजनीतिका नाममा जे भइरहेको छ, त्यो बिस्मयकारी लाग्छ ।
१. नेपालको राजनीतिमा अब इमानको, मर्यादाको, प्रतिष्ठाको कुनै मूल्य छैन जस्तो लाग्छ । यो त्यस्तो सस्तो खेल भएको छ जसको कुनै मुल्य नै छैन ।
२. दक्षिण एसियाको लोकतन्त्र कुहिएको फर्सी जस्तै भएको छ । नेपालले एउटा नयाँ बाटो समात्ने संभावना थियो, तर अब त्यो रहेन । नेपालमा राजनीतिले आफ्नो धर्म भुल्यो । यो गाडीको इन्जिनमा जलिसकेको मोबिल जस्तो भएको छ ।
३. असीमित अवसरवादी चरित्र, तुच्छ अभिव्यक्ति, भेडाबाख्रा प्रवृत्ति र बिचार होइन बिकार दिमागमा भरिएको हुल नै राजनीतिको पर्याय भयो ।
४. घाटमा लास पोल्ने मान्छे जस्तो राजनीति अस्तित्व जलाउने साधन बन्यो, यसले बनाउने होइन नस्ट मात्र गर्यो ।
तर किन भयो नेपालमा यस्तो ? कारण नेता भन्दा यी तलका मानिस हुन् जस्ले एकदिन रास्ट्रको अस्तित्व मेट्नेछन् ।
१. बाहिर सुकिला लुगा लगाएर इज्जत ढाकेका तर भित्रभित्रै बिदेशीको दानापानी खाने, पैसाका लागि जस्तोसुकै अपराध गर्ने, रास्ट्रलाई बिभाजित गर्ने र आफ्नो निहीत स्वार्थका लागि कहिले कसलाई र कहिले कसलाई गाली गर्ने वा मल्हम लगाउने । यी भाइरस हुन् जसले शरीर मार्दैनन् बरु शरीरको रोग निरोधक क्षमता समाप्त पार्छन् र शरीरलाई मर्न बाध्य पार्छन् ।
२. खोपडीमा गिदी नभएका मान्छेहरु जो एउटा कराएपछि सबै कराउने स्याल जस्तै हुन्छन् । यिनीहरुलाइ केबल बिगार्ने आदत हुन्छ र बनाउने कुरामा आलस्य हुन्छ । यिनलाई न बिचारको अर्थ हुन्छ न त मूल्य र मान्यताको ।
३. अर्काथरी हुन्छन् जसलाई केबल आफ्नो सरोकार हुन्छ अरु कसैको होइन ।
त्यसैले डर लाग्छ, कतै देश बिस्तारै यिनकै हातमा पुगोस् । बिबेकलाई बिबस बनाउने समाज ज्वालामुखीको मुखमा बसेको हुन्छ । त्यसैले अब सत्ताको राजनीति होइन केबल बिकास समृद्धिको अभियान चल्नु पर्छ । बिचार र नैतिकताहीन राजनीतिलाई अब जमिनमुनि पुर्नुको बिकल्प छैन ।