Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध ‘जेनजी’ले आज बिशाल प्रदर्शन गर्ने


    सोमबार, भाद्र २३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले गरेको सामाजिक सञ्जाल बन्द र देशमा व्याप्त भ्रष्टाचार तथा बेथितिविरुद्ध जेनजी पुस्ताले आज काठमाडौंमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दैछ ।

    सोमबार बिहान ११ बजे काठमाडौंको माइतीघर क्षेत्रमा भेला भएर जेनजी पुस्ताले प्रदर्शन गर्न लागेको हो । सरकारले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता प्रदर्शनमा उत्रन लागेको हो ।

    जेनजी युवापुस्ताका तर्फबाट आइतबार सूचना जारी गर्दै प्रदर्शन शान्तिपूर्ण हुने भनिएको छ। उक्त सूचनामा सवल गौतम र पुरुषोत्तम यादवको हस्ताक्षर छ ।

    जेनजीको सूचनामा भनिएको छ, ‘जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण कानुनी र अडिग भएर उभिएका छौँ । हाम्रो मिसन स्पष्ट छः भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शीता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने ताकि भ्रष्टाचारलाई निस्प्रभावि पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस् ।
    सन १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जेनजी पुस्ता भन्ने गरिएको छ । आजको प्रदर्शनमा २८ वर्ष उमेरसम्मका युवाहरू सहभागी हुने बताइएको छ ।

    ‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’को आयोजनामा हुन लागेको प्रदर्शनमा विभिन्न संघसंस्था र व्यक्तिहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

    माइतीघरदेखि नयाँबानेश्वरको एभरेस्ट होटलसम्मको बीचमा जेनजी पुस्ताले शान्तिपूर्ण प्रदर्शनको तयारी गरेको छ । जेनजी पुस्ताको प्रदर्शनलाई काठमाडौं महानगरका प्रमुख बालेन साह र रास्वपाका सभापति रवि लामिछानेले समर्थन जनाइसकेका छन् । नख्खु जेलमा रहेका  सभापति लामिछानेले सामाजिक सञ्जाल बन्दविरुद्ध आन्दोलनरत ‘जेनजि’ पुस्तालाई समर्थन गर्दै खुला पत्र नै लेखेका छन् ।

    बिद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित भएर देशमा व्याप्त भ्रष्टाचार र बेतिथि अन्त्यका लागि खबरदारी गर्नसमेत उनीहरूले आह्वान गरेका छन् ।

    उनीहरूले आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिक दल वा नेताको नेतृत्व नरहने बताएका छन्। आन्दोलनमा जेनजी पुस्ता तथा विद्यार्थी मात्रै सहभागी हुने उनीहरूको भनाइ छ ।

    प्रहरीले भने जेनजी युवा पुस्ताको प्रदर्शनमा घुसपैठ हुनसक्ने अनुमानसहित सुरक्षा सतर्कता बढाएको छ । आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने आँकलन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार