Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज कांग्रेस बिशेष महाधिवेशन, काठमाडौंमा शक्ति प्रदर्शन


    आइतबार, पुष २७ २०८२
    625
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ । जेनजी पुस्ताको बिद्रोहपछि नेतृत्वको पुस्तान्तरणको आवाज घनिभूत रुपमा उठाउँदैआएका गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाईमा नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ ।

    संस्थापन पक्षको असहमतिका बीच आज बिशेष महाधिवेशन आयोजना हुँदैछ । विशेष महाधिवेशनको औपचारिक उदघाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय गरिएको छ ।

    उदघाटन समारोहअघि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने कार्यक्रम तय गरिएको छ ।

    महाधिवेशन आयोजक समितिका अनुसार उदघाटनपूर्व शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । सचिवालयका अनुसार सबै जुलुस बिहान ११ बजे आ–आफ्नो स्थानबाट प्रस्थान गर्नेछन् ।

    छैटौं जुलुस भृकुटीमण्डपमा प्रवेश गरेपछि विशेष महाधिवेशनको औपचारिक उदघाटन समारोह शुरू हुनेछ । उदघाटन कार्यक्रम सकिएसँगै आजै बन्दसत्र पनि प्रारम्भ गरिने आयोजकले जनाएको छ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।

    दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस काठमाडौँका सुन्धारा, रत्नपार्क, पदमकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन् ।

    सुन्धाराबाट निस्कने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्तासँगै काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का प्रतिनिधिहरू सहभागी हुनेछन्। यो जुलुस सुन्धारा, वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।

    रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी क्षेत्रका साथै निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ताको सहभागिता रहनेछ ।

    पद्मकन्या क्याम्पसबाट निस्कने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्तासँगै काठमाडौंका केही निर्वाचन क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।

    शंकरदेव क्याम्पसबाट भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता जुलुसमा सहभागी हुनेछन् ।

    कमलपोखरीबाट काठमाडौं निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता चारखाल अड्डा, डिल्लीबजार र पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछन् ।

    ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ताको सहभागिता रहनेछ। यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार