Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य सामग्री कालोबजारीमा ओम सर्जिकल


    शनिबार, बैशाख १३ २०७७
    1.1K
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, १३ बैशाख । प्रहरीले स्वास्थ्य उपकरण कालोबजारी गर्ने शंकर ग्रुपका संचालक सुलभ अग्रवाललाई कालोबजारी गर्दागर्दै पक्राउ गरेको थियो । उनी अहिले पनि अनुसन्धानको क्रममा थुनामा छन् । तर कोरोना महामारीमा स्वास्थ्य उपकरणमा कालोबजारी गर्ने क्रम रोकिन सकेको छैन ।

     स्वास्थ्य सेवा विभागलाई बुझाउन ल्याएका स्वास्थ्य सामग्री कालोबजारीमा धमाधम बिक्री भइरहेको छ । स्वास्थ्य सेवा विभागले गएको चैत २३ मा स्वास्थ्य सामग्रीका लागि टेण्डर गरेको थियो । त्यसमा रसायन तथा मेडिकल आपूर्ति सघं नेपाल(केमसान) मा आवद्ध ३९ मध्ये ३६ ब्यवसायीका कम्पनीको तर्फबाट ओम सर्जिकलले भाग लिएको थियो । विभागलाई बुझाउन ल्याएको स्वास्थ्य सामग्री ओम सर्जिकलले कालोबजारीमा बितरण गरिरहेको छ ।

    \"\"

    चीनमा ८४ सेन्ट पर्ने एन नाइन फाइभ मास्कलाई ओम सर्जिकल त्रिपुरेश्वरका रामशरण भण्डारीले शुक्रबार दिनभर ३ सय ८० रुपैयाँमा होलसेल बिक्री गरेको मेडिकल उपकरण ब्यवसायीले जानकारी दिएका छन् । त्रिपुरेश्वरमा अगाडिपट्टिको सटर बन्द गरेर ओम सर्जिकलका संचालक भण्डारीले पछाडिपट्टिबाट दिनभर मास्कदेखि थर्मोगन लगायतका सामान कालोबजारीमा बिक्री गरेका छन् ।

    स्वास्थ्य सेवा विभागको ब्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले ओम सर्जिकलले कालोबजारीमा सामान बिक्री गरेको गुनासो आइरहेको बताए । उनले भने–ओमलाई सर्जिकल मास्क र ग्लोबको ठेक्का दिइएको हो । उसले विभागलाई पार्सियल(केही) सामान मात्र बुझाएको छ । अरु पुनः बुझाउँछु भनेको छ । विभागलाई बुझाउन ल्याएको सामान कालोबजारी गरिरहेको छ भन्ने जिज्ञासामा उनले भने, ओम सर्जिकलले शुक्रबार कम्पनीको बेबसाइटमा पनि स्वास्थ्य सामग्री बिक्रीका लागि राखेको सुनेका छौं । ती सामान विभागलाई बुझाउने भनेका सामान हुन् कि होइनन्    हामी चेक गर्दैछौं । यदि विभागलाई नबुझाई बिक्री गरेको पाइएमा कारबाही हुन्छ । 

     स्वास्थ्य सेवा विभागले चैत २३ गरेको टेण्डरमा  ओम सर्जिकलले ठेक्का पाएको थियो । ओमसँग चैत ३० मा विभागले एक हप्ताभित्र स्वास्थ्य उपकरण ल्याउने सम्झौता गरेको थियो । ओमले २०७७ बैशाख ६ र ७ गते विमान चार्टड गरी चीनबाट स्वास्थ्य सामग्री पनि ल्यायो । सम्झौता अनुसार १ सातामा दिनुपर्ने सामान १४ दिनसम्म नदिंदा पनि स्वास्थ्य सेवा विभाग चुपचाप बसेको छ । कतै विभागसँगै मिलेमतो गरेर ओम सर्जिकलले कालोबजारीमा सामान बिक्री गरेका त होइनन् भन्ने आशंका ब्याप्त छ ।  

    ओमले त्यो सामान स्वास्थ्य सेवा विभागलाई २५ प्रतिशत दिएर अरु पछि दिने भनी ७५ प्रतिशत सामान कालोबजारीमा बिक्री गर्दैआएको ब्यवसायीको आरोप छ । चीनबाट विभागलाई बुझाउन ल्याइएको सामानको भन्सार तिरेका छन् कि छैनन्, भन्सार नै नतिरी सरकारलाई बुझाउन भनेर सामान ल्याउने र महामारीमा कालोबजारी गरी मालामाल हुनेमा ओम सर्जिकलका रामशरण भण्डारी मुख्य हुन् । ओमसँग मिलेर कालोबजारी गर्नेहरुमा स्वान इन्टरनेशनलका सुरेश घिमिरे, बायोमेड इन्टरनेशनका उमेश अग्रवाल र हस्पिटेक इन्टरप्राइजेजका संचालक विशाल पण्डित संलग्न रहेका छन् । घिमिरे केमसानका अध्यक्ष पनि हुन् । केमसानलाई सामान ल्याउन दिए कालोबजारी नहुने भन्दै ओम्नीले मेडिकल उपकरण ल्याउँदा बिरोध गर्ने सुरेश घिमिरे र रामशरण भण्डारीहरु नै अहिले कालोबजारीमा लागेको आरोप छ । मेडि कन्सर्नका शम्भु कार्की पनि यो समूहमा सामेल छन् । 

    ओम सर्जिकलले स्वास्थ्य सेवा विभागलाई दिनुपर्ने सामान नदिई इटहरी, बुटवल र धनगढीमा समेत स्वास्थ्य सामग्री पठाएको छ । जुन कालोबजारीमा बिक्री भइरहेको छ । सरकारले छिटो स्वास्थ्य सामान ल्याउनका लागि दिएको हवाई सुविधा प्रयोग गरी ल्याएको सामान ओमका संचालक भण्डारीले कालोबजारीमा बिक्री गर्दैआएका छन् । 

    यसरी भइरहेको छ कालोबजारी

    ओम सर्जिकलले ल्याएको स्वास्थ्य सामग्री स्वान इन्टरनेशनल, हस्पिटेक र बायोमेडले मिलेर कालोबजारी गर्दैआएको समाचार छ । उनीहरुले १ हजार ९ सयमा पाइने पीपीईलाई ३ हजार ५ सय रुपैयाँमा कालोबजारीमा बिक्री गर्दैआएका छन् । ३ हजार ५ सयमा पाइने थर्मोगनको १० हजार ५ सय रुपैयाँमा कालोबजारी गरेका छन् । शुक्रबार ओम सर्जिकलबाट थर्मोगन १० हजार ५ सयमा किनेको एक सर्जिकलका संचालकले नाम नराख्ने सर्तमा बताएका छन् । एन नाइन फाइभ मास्कको २ सय ७० रुपैयाँमा पाइनेमा ३ सय ८० रुपैयाँसम्म लिने गरेका छन् ।  तर बिल दिंदा २ सय ७० रुपैयाँको मात्र दिने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार