अनमोल केसी र नाजिर हुसेन दुवै एकै पुस्ताका कलाकार हुन् । फिल्म क्षेत्रमा दुवैको प्रवेश पनि करिब एक वर्षको अन्तरमा भयो । फरक यत्ति हो, अनमोल स्टार कलाकार भुवन केसीका छोरा हुन्, नाजिर मध्यमाञ्चल विकास क्षेत्रको बारामा जादु देखाउँदै हिँड्ने एक सामान्य जादुगरका छोरा !
स्टारका सन्तान जन्मदै स्टार ! सारा संसार उनीहरुको चासो र चिन्ता राख्छ । बच्चैदेखि यस्तै प्रभाव अनमोलमा रहिरह्यो । फिल्ममा ब्रेक पाउन उनले संघर्ष गर्नुपरेन, स्टार सन्तान भएकै कारण फिल्म निर्माता सुनिल रावलले सहजै ब्रेक दिए । यो ६ वर्षअघि फिल्म ‘होस्टेल’को कुरा हो ।
यता रंगमञ्च हुँदै फिल्ममा छिरेका नाजिरलाई फिल्ममा ब्रेक पाउन सहज थिएन । नाटकमा दमदार अभिनय देखाएर वाहवाही पाउँदासमेत उनको हातमा कुनै फिल्मको स्क्रिप्ट आइपुगेन ।
अनमोलले ‘स्टार’को ट्याग पाइसकेपछि मात्र बल्लतल्ल नाजिरले ब्रेक पाए ‘पुन्टे परेड’मा । त्यो पनि एउटा छोटो भूमिकाका लागि । अलि मज्जैले नोटिस हुने भूमिका पाउन उनले थप एक वर्ष कुर्नुपर्यो । ठूलो भूमिकामा अवसर जुर्यो, ‘होस्टेल’कै सिक्वेल दाबी गरिएको ‘होस्टेल रिटन्र्स’मा ।
लगभग एकै समयमा फिल्म क्षेत्रमा देखिएका यी दुई अभिनेताको करिअर ग्राफ हेर्ने हो भने चर्चा र स्टारडमका हिसाबले अनमोल नाजिरभन्दा धेरै अघि बढिसके । अनमोलले आठ वटा फिल्म खेलिसके । अधिकांश फिल्ममा निभाएको चरित्रले उनको भागमा प्रशंसा कम, आलोचना नै ज्यादा प¥यो । समीक्षकले लेखिरहे, ‘यही ताल हो भने अनमोलको फिल्मी यात्रा ओरालो लाग्ने पक्का छ ।’ तर आठ फिल्म खेलिसक्दा पनि उनले पाउने पारिश्रमिक ५० लाख रुपैयाँको दाबी गर्न भ्याइसके । उता नाजिरको पारिश्रमिक १० लाख पनि पुगेको सुनिएको छैन ।
राम्रो कलाकार हुनुको पहिलो सर्त अभिनय नै हुनुपर्ने हो । चर्चा, पारिश्रमिक र स्टारडमका मामिलामा अनमोलभन्दा धेरै पछि रहे पनि नाजिर दर्शक, समीक्षक र फिल्मकर्मी सबैमाझ अघि नै भए ।
हरेक फिल्मपिच्छे समीक्षकले अनमोललाई अभिनय सुधार्न सुझाव दिँदै गर्दा नाजिरले भने तारिफ पाइरहेका थिए । तर विडम्बना, अभिनयमा अब्बल हुँदाहुँदै पनि नाजिर फिल्मी बजारमा अनमोलभन्दा पछि नै छन् । बजारले अनमोललाई ‘सुपरस्टार’का रुपमा प्रचार गरिरहँदा उनी कलाकारिता गरेर टिक्नै संघर्षरत छन् ।
तर करिअर ग्राफमा अनमोल भन्दा नाजिर किन यत्ति तल छन् त ?
के नाजिरको पृष्ठभूमिमा अनमोल र अनमोलको पृष्ठभूमिमा नाजिरलाई राख्ने हो भने अवस्था यस्तै हुन्थ्यो ?
पक्कै हुँदैनथ्यो ।
अनमोलले नेपाली फिल्म उद्योगमा छोटो समयमै रजगज गर्नुमा पहिलो क्रेडिट अभिनयभन्दा उनको ‘स्टार किड’ पृष्ठभूमि नै काफी रह्यो ।
‘स्टार किड’ भएकैले अनमोलसँग धेरै सुख थिए ।
पहिलो सुख नै, फिल्ममा ब्रेक पाउन निर्माताको कार्यालय धाइरहनु परेन उनले । निर्माता स्क्रिप्ट बोकेर उनको घर धाउँथे । बाहिरी प्रस्ताव नआए निर्माता घरमै थिए ।
नाजिरका हकमा निर्माता–निर्देशक खोज्नुको विकल्प थिएन ।
दोस्रो, बाबु भुवनले पहिल्यै बनाइसकेको मिडिया सर्कलले उनलाई सहजै ‘स्टार’को रुपमा चिनाइदियो । अनमोललाई मिडियाले खोज्थ्यो, नाजिरले मिडियालाई खोज्नुपथ्र्यो । अनमोललाई प्रमोट गर्न समूह नै सक्रिय थियो, नाजिर एक्लै ।
तेस्रो, अभिनय क्षमता जाँच्नु अगाडि फिल्मकर्मी हुन् या रंग सञ्चारकर्मी, भुवनको छोराको मुहारमा ‘स्टार’ कै छवि देखिहाले । उता नाजिरको अवस्था यस्तो थिएन । उनी एक्लै थिए । फरक पृष्ठभूमि र फरक रङका कारण उनलाई ब्रेक पाउनसमेत सहज थिएन ।
अभिनय क्षमता हुँदाहुँदै एउटा कलाकार फिल्म क्षेत्रमा कसरी पछि पर्छन् उदाहरण हुन् नाजिर । अनि, कमजोर अभिनय हुँदाहुँदै पनि एउटा कलाकार सम्बन्धका कारण चर्चाको कुन हद छुन सक्छ त्यसको उदाहरण हुन्, अनमोल । दुवैलाई एउटा तराजुमा तौलिँदा सहजै देखिन्छ, नेपाली फिल्म क्षेत्रमा मौलाएको परिवारवादको नमीठो दृश्य ।
००००
यतिखेर अभिनेत्री वर्षा शिवाकोटीको एउटा फेसबुक स्टाटस उल्लेख गर्न उपयुक्त हुन्छ । उनले केही महिनाअघि फेसबुकमा लेखेकी थिइन्, ‘न म स्टार किड, न कसैको गर्लफ्रेन्ड, न हिट ब्यानरको रेगुलर मेम्बर, न कुनै युट्युब च्यानलको अफिसियल हिट एक्टर । बस्, कामको परिचय बनाउन निरन्तर लागिरा’को विचरा ‘सो कल्ड रिजर्भ आर्टिस्ट । अनि, हलसम्म मेरा लागि किन जाने ? वेस्ट अफ टाइम ! फिल्मको त के कुरा गर्नु ? हिट एक्टर्स हिट मुभी !’
बलिउडमा मौलाउँदो नातावादबारे एक टेलिभिजन कार्यक्रममा भारतीय अभिनेत्री कंगना रनावतले बोल्दा बौद्धिक बहसको प्रारम्भ गरेको थियो ।तर शिवाकोटीको मार्मिक स्टाटसले नेपाली फिल्म क्षेत्रमा रचनात्मक बहसको प्रारम्भसमेत गराउन सकेन ।
बहस नभए पनि उनको यो स्टाटसले नेपाली फिल्म क्षेत्रमा मौलाउँदो नातावाद र त्यसको नकारात्मक असरलाई छर्लङ्गै देखाइदिएको थियो ।
प्रवेश सजिलो, टिक्न गाह्रो
परिवारका सदस्य फिल्ममा ल्याउने ट्रेन्ड नयाँ हैन । नेपाली फिल्म क्षेत्रमा पहिल्यै जरा गाडेको रोग हो यो । परिवारको सहारामा फिल्म क्षेत्रमा आए पनि केही अब्बल नदेखिएका हैनन् । तर धेरै कमजोरै देखिए ।
नातावादको बहसमा केहीले राजेश हमालको नाम लिएर यसको पक्षपोषणको प्रयास पनि गर्छन् । हो, राजेश पनि पारिवारिक पृष्ठभूमिबाटै नेपाली फिल्म क्षेत्रमा आएका थिए । उनलाई मामा दीपक रायमाझीले फिल्म ‘युगदेखि युगसम्म’बाट डेब्यु गराएका थिए । रायमाझी त्यतिबेलाका लागि स्टार निर्देशक थिए । हरेक पाटोमा केही अपवाद हुन्छ नै, राजेश त्यही अपवाद बने ।
तर परिवारको फेरो समातेर फिल्म क्षेत्रमा प्रवेश गरेका सबैलाई लक लाग्छ भन्ने हुँदैन । र, लक लागेन पनि । दीपक रायमाझीकै अर्का भाञ्जा किरणप्रताप केसी राजेश जस्तो भाग्यमानी भएनन् । उनी फिल्म उद्योगमा टिक्न सकेनन् र अमेरिका पलायन भए ।
उता निर्देशक शोभित बस्नेतले सात वर्षको उमेरमै आफ्ना छोरा सलोन बस्नेतलाई कलाकार बनाए । बाल कलाकारका रुपमा राम्रै जमे पनि प्रमुख भूमिकामा जम्न सकेनन् उनी । अहिले सहायक भूमिकामा चित्त बुझाइरहेका छन् ।
शोभितले छोरालाई मात्रै होइन, आफ्नै भाइ जयकिशन बस्नेतलाई पनि फिल्म क्षेत्रमा भित्र्याए । उनको उपस्थिति आफैँलाई ‘अभिनेता’ भनेर चित्त बुझाउने भन्दा माथि उक्लन सकेको देखिदैन ।
बलिउडमा ‘स्टार किड’ लाई ब्रेक दिनेमा अगाडि देखिन्छन्, करण जौहर । नेपालमा भने फिल्मकर्मीका सन्तानलाई फिल्ममा डेब्यु गराउने मामिलामा निर्माता सुनील रावल अग्रस्थानमा देखिन्छन् । अनमोललाई ‘होस्टेल’मार्फत् उनैले डेब्यु गराएका थिए ।
उनैले ‘सायद’ फिल्ममार्फत् निर्देशक नारायण पुरीका छोरा संयम पुरीलाई डेब्यु गराए । केही समय उनी चर्चामै रहे तर अहिले हराए ।
अभिनेता गौरव पहाडी पनि वरिष्ठ अभिनेता टीका पहाडीका छोरा हुन् । गौरव थोरै त्यस्ता पात्रमध्ये पर्छन्, जो फिल्म परिवारमा हुर्किएर पनि अभिनयमा गम्भीर देखिन्छन् । मुम्बई पुगेर उनले अभिनय सिकेका पनि छन् तर फिल्मी क्षेत्रमा उनको चार्म प्रारम्भकालको जस्तो छैन ।
हालसालै अभिनेत्री झरना थापाले विदेशमा पढ्दै गरेकी छोरी सुहानालाई स्वदेश बोलाएर फिल्म खेलाइन्, ‘ए मेरो हजुर–३’ । अमेरिकामा साइकोलजी विषयमा स्नातक गरिरहेकी छोरीलाई पढाइ पूरा नहुँदै झरनाले फिल्म खेल्न बोलाएकी थिइन् ।
फिल्म अगाडि सुहानाको प्रतिक्रियाले फिल्ममा प्रवेश गर्नु उनको लक्ष्यभन्दा आमाको शोख देखिएको थियो । उनी पढाइ सक्न अमेरिका नै फर्किइन् ।
कलाकार मात्रै हैन, निर्देशनमा पनि फेरो समात्ने क्रम उस्तै छ । हालै रिलिज भएको फिल्म ‘दाल भात तरकारी’का निर्देशक सुदन केसी हास्यअभिनेता किरण केसीका छोरा हुन् । किरण यो फिल्मका निर्माता हुन् । महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसमेत संलग्न रहेको यो फिल्मले बजारमा समीक्षक र दर्शक दुवैबाट राम्रो प्रतिक्रिया पाएन ।
आफ्नै छोरोलाई निर्देशक बनाउने रहर पाल्दा कसरी फिल्म चिप्लिन्छ शायद किरण केसीलाई ‘दाल भात तरकारी’को नतिजाले पक्कै पाठ पढायो ।
पछिल्लो समय फिल्म निर्माणमा सक्रिय ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले आफ्नो छोरा आयुब सेनलाई सात वर्षको उमेरमै हिरो बनाइदिए, फिल्म ‘मेरी मामु’ खेलाएर ।
फिल्म क्षेत्रमा उनलाई यो फिल्म छोराका लागि बनाएको आरोपसमेत लाग्यो । र, फ्लप पनि भयो ।
कुनै बेलाका चल्तीका फिल्म निर्देशक तुलसी घिमिरेले हालसालै फिल्म ‘दर्पणछायाँ–२’मार्फत आफ्ना दुई छोरी भावना र पञ्चमीलाई फिल्म क्षेत्रमा भित्र्याए ।
जेठी छोरी भावनाले कला निर्देशकको जिम्मेवारी सम्हालिन् भने कान्छी पञ्चमीले सह–निर्देशक । तर घिमिरेको फिल्मी साखले छोरीहरुको कामलाई पार लगाउन सकेन । फिल्म सुपरडुपर फ्लप भयो ।
अभिनेत्री करिश्मा मानन्धर पनि आफ्नी छोरी कवितालाई फिल्म क्षेत्रमा ल्याउने तयारीमा छिन् ।
एउटा फिल्ममा त उनी अनुबन्ध भएको चर्चा चलेको थियो तर अहिले करिश्माको छोरी र फिल्म दुवै गुमनाम छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ‘के म तिम्रो होइन र’ फिल्ममार्फत् आफ्नै भतिज आर्यन अधिकारीलाई हिरो बनाए । आर्यनको अवस्था ‘संघर्षरत् एक्टर’को भन्दा भिन्न छैन ।
अभिनेत्री रेखा थापाले पनि आफ्नै जेठी दिदीका छोरा आभाष अधिकारीलाई फिल्म ‘रामप्यारी’मार्फत् डेब्यु गराइन् । उनी अहिले कता छन् पत्तो छैन । दीपक मनाङेले आफन्त राजकुमार राईमार्फत् छोरा सिद्धार्थ गुरुङलाई ‘वन वे’मा डेब्यु गराए । डब्बा भयो फिल्म । उनी फिल्म क्षेत्रबाट गायब भए ।
राजेन्द्र खड्गीले ‘नथिङ पोसिबल’मा छोरी रागिनी र नाती आर्यन खड्गीलाई डेब्यु गराए । जसरी फिल्म हरायो, उनीहरु पनि हराए । नायक तथा निर्माता शिव श्रेष्ठ र फिल्म निर्माता अशोक शर्मा आफ्नो छोरालाई डेब्यु गराउने तरखरमा छन्, साइत भने जुरिसकेको छैन ।
के यो ठीक हो ?
नेपाली फिल्मी क्षेत्रमा बढ्दो परिवारवादबारे फिल्मकर्मी प्रस्ट छैनन् । वैचारिक रुपमा अगाडि देखिएकाहरु समेत अलमलमा देखिए यस विषयमा ।नातागोता बिना नै फिल्म क्षेत्रमा आएका अभिनेता प्रदीप खड्का फिल्म क्षेत्रमा आफन्तवाद ठूलो समस्या नभएको तर्क गर्छन् ।
‘लगानीको पनि कुरा हुन्छ, त्यसैले आफ्नालाई पोस्नुअघि पक्कै सोच्लान्,’ उनी भन्छन् ।
एक–दुई पटक परिवारको सदस्यलाई जसले पनि अवसर दिन खोजे पनि क्षमता नभए मौका पाएकाहरु हराएर जानेमा उनी ढुक्क देखिए ।
‘परिवारका सदस्यलाई फिल्ममा भित्र्याउनेले आफ्नो चाहिँ झुसिलकीरा पनि हिरा तर अरुको भने हिरा पनि झुसिलकीरा’ भन्ने प्रवृत्ति देखाएको पाइन्छ,’ उनले भने, ‘तर बलिउडमा होस् या नेपालमा क्षमता नभए पनि परिवारको भरमा आएकाहरु हराएकै छन् ।’
झरनाकी छोरी सुहानालाई नेपालमा आफन्तवादको समस्या छ भन्ने लाग्दैन । ‘यहाँ इन्स्टाग्राममा धेरै फलोअर्स भएका, टिकटकमा चर्चा कमाएकालाई पनि खोजीखोजी हिरोइन बनाइन्छ,’ उनको तर्क छ, ‘यहाँ आफन्तवादको समस्या छ भन्ने मलाई लाग्दैन । नयाँ व्यक्तिमा क्षमता छ भने अवसर पाउन सजिलो छ ।’
फिल्म क्षेत्रबारे वैचारिक बहस गर्न रुचाउने फिल्म निर्देशक मनोज पण्डितका नजरमा परिवारका सदस्य फिल्म क्षेत्रमा भित्रिनु समस्या होइन । प्रवेशपछि आउने नतिजा महत्वपूर्ण भएको उनी बताउँछन् ।
‘लामो समय फिल्म क्षेत्रमा संघर्ष गरेका कलाकारले आफ्ना छोराछोरीलाई त्यही क्षेत्रमा भित्रिने अवसर दिनु गलत होइन,’ उनले तर्क गरे, ‘तर भित्रिसकेपछि उनीहरुले आफ्नो उपस्थिति कस्तो देखाए, त्यो महत्वपूर्ण हो ।’
अभिनेत्री रेखा थापाको विचार पनि मनोजको जस्तै छ । आफ्नै दिदीका छोरालाई हिरो बनाएकी उनी भन्दै थिइन्, ‘एकपल्ट अवसर दिनु गलत होइन तर अवसर दिइसकेपछि आफूलाई प्रमाणित गर्न सक्यो भने मात्रै टिकिन्छ नत्र आफन्तकै भरमा टिक्ने अवस्था हुन्न ।’
स्टारकिड पछ्याउँछन् मिडिया
आफन्तमार्फत् फिल्म क्षेत्रमा भित्रनेहरुका लागि सबैभन्दा सुखद् पाटो देखिन्छ मिडियासँगको सहज सम्बन्ध । संघर्ष गरेर यस क्षेत्रमा आएका धेरै कलाकारलाई यही कुराले पिरोल्ने गर्छ । अभिनेत्री वर्षा शिवाकोटीले नातावादलाई इंगित गर्दै लेखेको फेसबुक स्टाटस पनि मूलतः यसमै केन्द्रित देखिएको थियो ।
‘हामी संघर्ष गरेर आएका छाँै भनेर हामीलाई मात्रै प्राथमिकता दिनुपर्छ भन्ने होइन र उनीहरु स्टारका छोराछोरी भन्दैमा उनीहरुलाई मात्रै दिनुपर्छ भन्ने पनि होइन,’ उनले शुक्रवारसँग गुनासो पोखिन्, ‘तर हामीकहाँ मिडियाले स्टारकिडलाई एकदमै धेरै प्राथमिकता दिइरहेको हुन्छ । स्टारकिडको फिल्म आउँदा बढी हल्लाखल्ला हुने तर अरु संघर्ष गरेकाहरुको फिल्म आउँदा त्यसरी सपोर्ट नदेख्दा दुःख लाग्छ ।’
स्टारका सन्तानलाई जस्तो प्रेमपूवर्क र सम्मानजनक व्यवहार आफूहरुलाई पनि गर्दिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । ‘तर के गर्ने ? विभेद छ,’ उनले ठट्टा गर्दै भनिन्, ‘केही छैन, भोलिपर्सि हाम्रा पनि सन्तान भए हामी पनि त्यसै गरौँला नि !’
स्टारकिड हुँदा मिडियाबाट बढी सपोर्ट पाइने कुरामा सहमत छिन्, झरनाकी छोरी सुहाना । भन्छिन्, ‘‘स्टार किड’ हुँदा मिडियामा पहुँच र सम्मान पाइने रहेछ । ममीदेखिको मिहिनेतका कारण उहाँले पाउने माया र सम्मान उहाँकी छोरी भएका नाताले आफूले पनि पाइने रहेछ । सायद सबैभन्दा ठूलो फाइदा यही हो ।’
मजाक बन्यो अभिनय
अभिनेता प्रमोद अग्रहरीले एक्टर बन्नलाई के गरेका छैनन् र १ मुम्बई गएर एक्टिङ पढ्नेदेखि सयौँ फिल्म र सिरियलका लागि अडिसन दिनेसम्म सबै गरे । गोजीमा एक सुको हुँदैनथ्यो । त्यसैले दिउँसो अडिसन दिँदै राति आइसक्रिम पार्लरमा कामसम्म गरे ।
यसरी फिल्म क्षेत्रमा छिरेका उनलाई अहिले कोही व्यक्ति आफ्नो बुबा, आमा, अंकल, आन्टीकै सहारामा बिना प्रतिभा फिल्म क्षेत्रमा छिरेको देख्दा विरक्त लाग्छ । उनलाई लाग्छ, एक्टिङ अहिले मजाक भइदियो । नातेदार बलिया हुँदा जो पनि एक्टर हुने अवस्था भइदियो ।
‘कुनै पनि काम कसैले सजिलै पायो भने त्यसको सम्मान नै हुँदैन,’ उनले भने, ‘यहाँ त एक्टिङलाई एकदमै हलुका लिइयो । यहाँ जसरी फिल्मकर्मीले आफ्ना छोेराछोरी, भतिजाभतिजीलाई कास्टिङ गर्नुहुन्छ, त्यो क्यारेक्टर अनुसारभन्दा पनि पैसा बचाउनलाई गरेजस्तो लाग्छ । फलानोलाई लियो भने पैसा लिन्छ, मेरो छोराले फ्रिमा गर्दिहाल्छ भन्ने सोच्छन् कि जस्तो पनि लाग्छ तर त्यसरी भित्रिएकाहरु लामो रेसको घोडा भने हुँदैनन् ।’
परिवारवादले मार्छ प्रतिभा
फिल्म ‘रेशम फिलिली’मा ‘हरिया’ बनेका अभिनेता कामेश्वर चौरसियालाई दर्शकले राम्ररी ग्रहण गरेका थिए । त्यो फिल्ममा उनले हिरो बन्नलाई जति संघर्ष गरेका छन्, रियल लाइफमा उनको संघर्ष त्योभन्दा कम छैन । बारा, जितपुरका उनले एक्टर बन्नलाई के गरेका छैनन् र १ दिल्ली पुगेर कार पुछ्ने काम गरे, काठमाडौंमा तेल र भुजिया बेच्नेदेखि साबुनको मार्केटिङसमेत गरे ।
विडम्बना त्यसरी फिल्म क्षेत्रमा भित्रिएका उनी केही समय फिल्म क्षेत्रमा राम्रै जमे । अभिनयको भरपुर प्रशंसा पनि भयो तर अहिले फिल्मको खडेरीले उनलाई प्याकप्याकी परिरहेको छ । कामको अभावले उनी फेरि गाउँ नै फर्कनुपर्ने अवस्था आएपछि जीवनायापनका लागि माछा पसल खोलिसकेका छन् ।
नातागोताका माध्यमबाट मान्छेहरु एक्टर बनेको देख्दा उनलाई कस्तो लाग्छ होला रु
‘म किन आएँ होलाजस्तो लाग्छ,’ उनले निन्याउरो मुख लगाउँदै भने, ‘त्यसरी आउनेहरु आएर मात्रै त केही भएन तर जब उनीहरुको फिल्म हेरिन्छ, त्यसपछि भने निराश बनाउँछ ।’
‘फिल्म हेरेपछि त्यसको ठाउँमा उसले नखेलेको भए अर्को कोही राम्रो प्रतिभाले स्थान पाउँथ्यो भन्ने लाग्छ,’ उनले थपे, ‘तर के गर्ने रु म यस्तो इन्डस्ट्रीमा छु जहाँ क्यारेक्टर सुहाउँदो कलाकारभन्दा पनि अरु नै कुरा बढी खोजिन्छ ।’
उस्तै बुझाई, उस्तै स्तर
परिवारका माध्यमबाट फिल्ममा भित्रिएका अधिकांश कलाकारको फिल्म र अभिनय प्रतिको बुझाइ उस्तै देखिन्छ, जस्तो उनका अभिभावकमा थियो । समय बद्लियो, परिस्थिति परिवर्तन भइसक्यो तर सोच उस्तै छ ।
आफ्नै संघर्षले फिल्मी क्षेत्रमा आएका दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की लगायतले अभिनयमा फरक अभ्यास गर्न खोजिरहेका छन् तर अनमोल, सलोन, संयम, आभाष, आर्यन लगायतकामा फरक भूमिका निभाएर जोखिम मोल्ने साहस देखिन्न । हिजो उनीहरुका अभिभावकको रुचि जस्तो फिल्म र चरित्रमा थियो, आज उनीहरुको छनोट पनि त्योभन्दा भिन्न देखिन्न ।
अनमोलको पहिलो फिल्म बाहिरी ब्यानरको थियो । कथानक केही भिन्न पनि थियो । उनले अभिनय गरेका त्यसपछिका अधिकांश ब्यानर उनकै बाबुको थियो । कथा, पटकथा, निर्देशक अनमोलले हैन, भुवनले चयन गरे । उनले डमीझैँ उपस्थिति मात्र जनाए । त्यसको असर ‘क्याप्टेन’सम्म आइपुग्दा देखियो अर्थात् उनको अभिनय क्षमता निरन्तर ओरालो नै लागिरह्यो ।
सुहाना मानसिक रुपमा फिल्मी क्षेत्रमा आउन तयार भएपछि राम्रो ब्यानरबाट अफर आएर डेब्यु गरेकी थिइनन् । पढाइ जारी नै रहँदा आमाको करले, आमाकै रोजाइको स्क्रिप्टमा उनले डेब्यु गरेकी थिइन् । आमा नै निर्देशक, उनले असहमति व्यक्त गर्न सकिनन् । फिल्ममा उनको अभिनय ठीकै देखियो तर फिल्म भने झूर बन्यो ।
‘क्रिकेटर सचिन तेन्दुल्करको छोराले बाबु क्रिकेटर भएका कारण सजिलै ब्याट त समात्न सक्छ,’ नेपाली फिल्मी क्षेत्रमा बढ्दो परिवारबादबारे फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले भने, ‘तर सचिनकै छोरा भएका कारण मैदानमा टिकिरहन भने सक्दैन ।’
अभिनेता प्रमोद अग्रहरीले एक्टर बन्नलाई के गरेका छैनन् र १ मुम्बई गएर एक्टिङ पढ्नेदेखि सयौँ फिल्म र सिरियलका लागि अडिसन दिनेसम्म सबै गरे । गोजीमा एक सुको हुँदैनथ्यो । त्यसैले दिउँसो अडिसन दिँदै राति आइसक्रिम पार्लरमा कामसम्म गरे ।
यसरी फिल्म क्षेत्रमा छिरेका उनलाई अहिले कोही व्यक्ति आफ्नो बुबा, आमा, अंकल, आन्टीकै सहारामा बिना प्रतिभा फिल्म क्षेत्रमा छिरेको देख्दा विरक्त लाग्छ । उनलाई लाग्छ, एक्टिङ अहिले मजाक भइदियो । नातेदार बलिया हुँदा जो पनि एक्टर हुने अवस्था भइदियो ।
‘कुनै पनि काम कसैले सजिलै पायो भने त्यसको सम्मान नै हुँदैन,’ उनले भने, ‘यहाँ त एक्टिङलाई एकदमै हलुका लिइयो । यहाँ जसरी फिल्मकर्मीले आफ्ना छोेराछोरी, भतिजाभतिजीलाई कास्टिङ गर्नुहुन्छ, त्यो क्यारेक्टर अनुसारभन्दा पनि पैसा बचाउनलाई गरेजस्तो लाग्छ । फलानोलाई लियो भने पैसा लिन्छ, मेरो छोराले फ्रिमा गर्दिहाल्छ भन्ने सोच्छन् कि जस्तो पनि लाग्छ तर त्यसरी भित्रिएकाहरु लामो रेसको घोडा भने हुँदैनन् ।’
परिवारवादले मार्छ प्रतिभा
फिल्म ‘रेशम फिलिली’मा ‘हरिया’ बनेका अभिनेता कामेश्वर चौरसियालाई दर्शकले राम्ररी ग्रहण गरेका थिए । त्यो फिल्ममा उनले हिरो बन्नलाई जति संघर्ष गरेका छन्, रियल लाइफमा उनको संघर्ष त्योभन्दा कम छैन । बारा, जितपुरका उनले एक्टर बन्नलाई के गरेका छैनन् र १ दिल्ली पुगेर कार पुछ्ने काम गरे, काठमाडौंमा तेल र भुजिया बेच्नेदेखि साबुनको मार्केटिङसमेत गरे ।
विडम्बना त्यसरी फिल्म क्षेत्रमा भित्रिएका उनी केही समय फिल्म क्षेत्रमा राम्रै जमे । अभिनयको भरपुर प्रशंसा पनि भयो तर अहिले फिल्मको खडेरीले उनलाई प्याकप्याकी परिरहेको छ । कामको अभावले उनी फेरि गाउँ नै फर्कनुपर्ने अवस्था आएपछि जीवनायापनका लागि माछा पसल खोलिसकेका छन् ।
नातागोताका माध्यमबाट मान्छेहरु एक्टर बनेको देख्दा उनलाई कस्तो लाग्छ होला रु
‘म किन आएँ होलाजस्तो लाग्छ,’ उनले निन्याउरो मुख लगाउँदै भने, ‘त्यसरी आउनेहरु आएर मात्रै त केही भएन तर जब उनीहरुको फिल्म हेरिन्छ, त्यसपछि भने निराश बनाउँछ ।’
‘फिल्म हेरेपछि त्यसको ठाउँमा उसले नखेलेको भए अर्को कोही राम्रो प्रतिभाले स्थान पाउँथ्यो भन्ने लाग्छ,’ उनले थपे, ‘तर के गर्ने रु म यस्तो इन्डस्ट्रीमा छु जहाँ क्यारेक्टर सुहाउँदो कलाकारभन्दा पनि अरु नै कुरा बढी खोजिन्छ ।’
‘ब्याट समाते पनि मैदानमा टिक्न गाह्रो’
दीपकराज गिरी
अभिनेता/निर्माता
खुसी लाग्छ, अहिले फिल्म क्षेत्रमा हाम्रो अवस्था राम्रो छ । आफ्नो जर्नी देखेर आश्चर्य पनि लाग्छ, गर्व पनि किनभने यो क्षेत्रमा हाम्रो आमा–बुवा कोही नहुँदा पनि हामी यहाँसम्म आइपुग्यौँ । संघर्षकाल सम्झँदा अहिले निकै गर्व महसुस हुन्छ । समय बिताउँदै जाँदा अनुभव पनि हासिल गरिनेरै’छ । गल्तीहरु सच्याउँदै गइनेरै’छ । तर कोही सिधै नातागोता, आफन्त अर्थात् रगतको माध्यमबाट आउँदैछ भने उनीहरुमा परिपक्वता अलि अभाव देखिन्छ । केही उपलब्धि हासिल गर्दा उसमा त्यसको खुसी पनि कम नै हुन्छ किनभने त्यही सम्पत्तिको बढी माया हुन्छ, जुन मिहिनेत गरेर कमाइएको हुन्छ ।
सम्बन्ध र आफन्तका माध्यमबाट आउने सबैजना क्षमताविहीन हुन्छन् त म भन्दिनँ तर हामीकहाँ सरसर्ती हेर्दा ७० प्रतिशत बढी त्यसरी आएकाहरु नै चाँडै हराएका छन् । कारण, उनीहरुको जग बलियो हुँदैन र बलियो जग नभएको घर कतिञ्जेल नै टिक्छ र १
विश्वभर नै यस्तो ट्रेन्ड भएकाले मलाई त्यति दुःख पनि लाग्दैन । त्यही पनि म के कुरामा ढुक्क छु भने क्रिकेटर सचिन तेन्दुल्करको छोरोले बाबु क्रिकेटर भएका कारण सजिलै ब्याट त समात्न सक्छ तर सचिनकै छोरा भएका कारण मैदानमा टिकिरहन भने सक्दैन ।
शुक्रबार साप्ताहिकबाट
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend