काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपा (एमाले) का तत्कालिन महासचिव स्व. मदन भण्डारीलाई राजवादी देखाउन खाेजेका छन्। उनले भण्डारीको अडियोलाई गलत अर्थ राख्ने गरी सार्वजनिक गर्दै राजावादी देखाउन खाेजेका हुन्।
भण्डारीले त्यतिबेला गरेको चुनावी भाषणलाई गलत अर्थ लाग्ने गरी मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । २५ सेकेन्डको अडियोमा भण्डारीले ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन, किन ठूलो आपत्तिकको कुरा हुने छैन भने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ’ भनेको सुनिन्छ ।
काठमाडौं, चाबहिलमा आयोजित सभामा स्व. भण्डारीले गरेको भाषणको अडियोको गलत अर्थ लाग्ने अंशमात्रै मन्त्री श्रेष्ठले सार्वजनिक गरेका हुन् । उक्त भाषणमा भण्डारीले राजतन्त्र एक नम्बर शत्रु भएको बताएका थिए ।
नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि माघ २३ गते आयोजना गरेको सभाको प्रचार सामग्रीमा प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीको तस्वीरसहित यो अडियो राखेका हुन् । यसअघि खानेपानी मन्त्री मणि थापाले वर्तमान सरकारलाई सार्वजनिक रुपमै ‘श्री ५ सरकार’ भनेको विषय विवादमा आएको थियो ।