Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रका हाकिम तस्करका मतियारः सीमामा प्रहरीकै सामुन्ने दुई समूहबीच विवाद


    बुधबार, माघ २१ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • बीरगंज । पर्साको भिस्वा नाकाबाट सशस्त्र प्रहरीको सेटिङमा तस्करी हुँदैआएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिस्वाका निरीक्षक संजीव बानियाँकै संरक्षणमा तस्करी हुने गरेको छ । शनिबार राति करिब १२ बजेतिर सिमानाकामा  तस्करका दुई समूहबीच भिडन्त नै भएको छ । तस्करीको बिषयमा एक अर्काबीच ढुङ्गामुडा भएपछि केही घाइते भएका छन् । दुई समूहबीच विवाद र कुटपिट भएपछि तस्करीको पोल खोलाखोल भएको हो ।

    सशस्त्र प्रहरी निरीक्षक बानियाँले दुवै समूहसँग मासिक घुस लिएको तर एक समूहलाई मात्रै लाइन दिएको र अर्कोलाई नदिएपछि झडप भएको थियो । दुबै समूहका व्यापारीहरु आपसमा भिडन्त गरेका थिए ।

    सशस्त्र प्रहरी बन्जारी भिस्वाका निरीक्षक बानियाँको सेटिङमा भिस्वाका स्थानीय व्यापारीहरुको एउटा ट्रक र पिकअपको माल पारी लैजाने गरी तस्करीको लाइन दिए । सबै मालसामान भित्रिन दिए । तर भारत सिक्टाको तस्कर समूहसँग पनि बानियाँले महिनावारी घुस लिने गरेको तर लाइन नदिएपछि तस्करहरुको समूहमा झडप भएको थियो ।

    baniya.jpg

    सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका इन्चार्ज संजीव बानियाँ 

    सशस्त्र प्रहरी निरीक्षक बानियाँको सहमतिमा तस्करीको लाइन दिइएको दाबी सिक्टाका ब्यापारीको छ । तर शनिबार राति एक समूहको तस्करीको सामान वारपार गराएर अर्को समूह भारत सिक्टाको तस्करको सामान रोकेपछि भिडन्त भएको थियो ।

    सिमानाकामा भएको झडपमा लाइन नपाउने सिक्टाको तस्कर समूहले सशस्त्र प्रहरीका निरीक्षक बानियाँलाई  ५० देखि १ लाख रुपैयाँसम्म घुस लिने गरेको शनिबार भएको झडपमा सार्वजनिक गरेका छन् ।  

    लाइन नपाएको समूहले आक्रोसित भएर प्रहरी बोलाई आइतबार भारतको सिक्टामा रहेको अर्को समूहको गोदामबाट ३ सय ८० कार्टुन चाइनिज स्याउ छापामारी गरेर सिक्टा थाना अध्यक्ष मनिषकुमार शर्मा र एसएसबी ४७ वी बटालियन बीओपी प्रभारी सहायक सेनानायक संदिप कुमारको संयुक्त टोलीले बरामद गरेको थियो । भारत बिहार सिक्टा थाना अध्यक्ष मनिषकुमार शर्माका  अनुसार प्रत्येक कार्टुनमा २०–२० केजी स्याउ रहेको छ । जम्मा ७६ सय  किलो स्याउ बरामद गरेको समाचार भारतीय पत्रिका र अनलाइनले लेखेका छन् । 

    patrika.jpg

    तस्करीको स्याउ बरामद भएकोबारेमा भारतीय मिडियाको समाचार

    थानाध्यक्ष शर्माका अनुसार बरामद गरेको चाइनिज स्याउ बेतिया भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरी २ नम्बर प्रदेश छिन्नमस्ता बाहिनीका डिआइजी चन्द्रप्रकाश गौतम तस्करी नियन्त्रणमा कडिकडाउ ढंगले लागेको भए पनि उनलाई झुक्याएर भिस्वा नाकाबाट खुलेआम तस्करी भइरहेको कुरा स्याउ बरामद भएपछि पुष्टी भएको छ ।

    सीमाको सुरक्षा र चोरीतस्करी नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी सरकारले सशस्त्र प्रहरीलाई दिएको छ । त्यसैका लागि सीमा क्षेत्रमा बीओपीको सख्या बढाइएको छ । तर बिओपीमा जाने निरीक्षकदेखि सिपाहीसम्म तस्करी नियन्त्रणमा भन्दा घुस असुलीतिर नै बढी ध्यान दिने भएकाले भन्सारछली गरी सामान ओसारपसार गर्ने क्रम बढेको छ ।

    तस्करी गराएर जसरी पनि पैसा कमाउने अभियानमा बीओपीका इन्चार्जदेखि तल्लो तहकासम्म तल्लीन हुने गरेको देखिन्छ । सशस्त्र प्रहरीको संरक्षणमा यस नाकाबाट दैनिक निर्वाधरुपमा भारतबाट नेपालतर्फ भैंसी, लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, गाडीको पाट्र्स भित्र्याउने गरिन्छ ।

     नेपालबाट चाईनीज स्याउ, मदिरा, केराउ, मरिच र छोगडा, खुकुरी चुरोट भारततर्फ तस्करी हुँदैआएको छ ।

    bikema taskari.jpg

    राति राति यसरी हुन्छ भिस्वाबाट मोटरसाइकलमा तस्करी 

    भैंसी एक हजार र राँगा ५ सय रुपैयाँको दरले सशस्त्रको बीओपीमा घुस दिएर नेपालतर्फ ल्याउने गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक संजीव बानियाँ आएको दिनदेखि नै धेरै संचार माध्यममा तस्करी र घुमुवा लगाएर पैसा उठाएको समाचार बारम्बार सार्वजनिक भइरहेको छ । तर उनको सशस्त्र प्रहरी संगठनभित्र र ठूला दलका नेतासम्म उनको राम्रो पहुँच भएका कारण कुनै किसिमको कारबाही नभएको स्रोत बताउँछ ।

    सीमानाकाबाट हुँदै आएको तस्करी नियन्त्रण गर्ने र देशको राजस्व बढाउने जिम्मा पाएको सशस्त्र प्रहरी संगठनकै अधिकारीले खुलेआम तस्करहरुसँग घुस लिएर भन्सारछली गर्दै सामान ओसार पसार गर्न छुट दिने गरेको दृष्टान्त भिस्वा सीमा हो । संगठनको छविमा आँच पुर्याउने बानियाँले बर्दीलाई कमाई खाने भाँडो बनाएको आरोप छ । डीआइजी गौतमले २ नम्बर प्रदेशका बदनाम घुमुवाहरु तानेर शुद्धिकरण अभियान सुरु गरे पनि बीओपीका बानियाँ जस्ता इन्चार्जले भने उनलाई समेत चुनौती दिंदै तस्करी गराउँदै लाभ लिने गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार