Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • केन्द्रीय नेताको संरक्षण टुट्दा सर्लाही कांग्रेस सभापति सिंह पदबाट बाहिरिए


    शनिबार, भाद्र ७ २०८२
    715
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । लामो समयदेखि भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसके पनि पार्टी नेतृत्वको जालझेल र बचाउका कारण पदमै टिकिरहेका नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह अन्ततः पदबाट बाहिरिन बाध्य भएका छन् ।

    मनुष्मारा सिँचाइ आयोजना अन्तर्गत रुख कटान प्रकरणमा सिंहलाई २०७१ पुस २५ गते विशेष अदालतले दोषी ठहर गरेको थियो । तर, उनले सर्वोच्च अदालतमा पुनरावेदन गर्दै करिब एक दशकसम्म मुद्दा अल्झाइरहे । अन्ततः २०८० फागुन १५ गते सर्वोच्च अदालतले समेत विशेष अदालतको फैसला कायम राख्दै सिंहलाई भ्रष्टाचारी ठहर गरिदियो ।

    सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि संजाय कम भएको भन्दै पुनरावेदन दर्ता गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले दुवै दाबी खारेज गर्दै विशेष अदालतको फैसला नै कायम राखेपछि सिंह कानुनी रूपमा दोषी प्रमाणित भए ।

    तर, सर्लाही कांग्रेसको लज्जास्पद पक्ष भने शीर्ष नेतृत्वकै संरक्षणमा सिंह लामो समयसम्म पदमा टिकिरहनु रह्यो । स्थानीय कार्यकर्ताले भ्रष्टाचारी ठहर भएका सिंहलाई पदमुक्त गर्न माग गर्दै पटक–पटक आन्दोलन गर्दै उनको निष्कासन माग गरे पनि केन्द्रीय तहको जालझेलले उनलाई जोगाउँदै आएको थियो ।

    अन्ततः आज राजीनामा पत्र बुझाएका सिंहले आफू अन्यायको शिकार भएको दाबी गरे । तर, कार्यकर्ताले भने उनको अभिव्यक्ति “भ्रष्टाचार ढाकछोप गर्ने अन्तिम प्रयत्न मात्र” भएको टिप्पणी गरेका छन् । उनी कानुनी बाध्यताले मात्र हटाइएका हुन्, नैतिक कारणले होइन भन्ने कार्यकर्ताको ठम्याइ छ ।

    पार्टी विधानअनुसार अब उपसभापति डा. सरोज कुमार कार्यवाहक सभापति बन्ने भएका छन् । सिंहको पतनपछि सर्लाही कांग्रेसमा नयाँ शक्ति समीकरणको ढोका खुलेको कार्यकर्ताको मूल्यांकन छ । तर उनीहरूको चेतावनी छ – “भ्रष्टाचार ढाकछोप गर्ने संस्कार अन्त्य नगरेसम्म सर्लाही कांग्रेस शुद्धिकरण सम्भव छैन ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार