काठमाडौं, १२ बैशाख । अन्ततः सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरुको बिहीबार राति उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले अध्यादेश फिर्ता लिन २४ घन्टे अल्टिमेटम दिएपछि प्रधानमन्त्री ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद बैठक बोलाएका थिए ।
मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । तर अध्यादेश खारेज गर्नुअघि अर्को अध्यादेश ल्याएर संशोधन हुनुअगाडिको ऐन जागृत गराउनुपर्नेमा गरिएको छैन । पहिलाको ऐन जागृत नगराई अध्यादेश खारेज गर्दा संशोधन गरिएका दफाहरु पनि खारेज हुन्छन् । र, ऐन अपूर्ण हुन्छन् । तर तर ऐन जागृत नगराई अध्यादेश खारेज गर्न राष्ट्रपतिकोमा पठाउने काम सरकारले गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमार्फत वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गराएका थिए । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । ।