Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना पुष्टि भएका किशोरलाई बिरगंज पठाइयो


    शुक्रबार, बैशाख १२ २०७७
    670
    Shares
  • २ मिनेट पाठ
  • सर्लाही, १२ बैशाख । कोरोना संक्रमण पुष्टि भएका सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरको थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ।

    उनलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।
    किशोरको परिवारका पाँच सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले बताए।

    किशोर बुधबार साँझ क्वारेन्टाइनबाट आफ्नो घर गए पनि उनी आफ्नो परिवारका सदस्य बाहेक कसैको सम्पर्कमा नगएको उनले जानकारी गराए।गाउँपालिकामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ जिसीले बताए।

    गत शुक्रबार वैशाख ५ गते आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि किशोरलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि लगिएको थियो। त्यहाँ किशोरमा कोरोना सङ्क्रमण नदेखिएपछि वैशाख ७ गते धनकौलको क्वारेन्टाइनमा पठाइएको थियो।

    ती किशोरलाई जनकपुरबाट धनकौल पठाएको चार दिनपछि बिहीबार पुनः कोरोना रहेको भन्दै रिपोर्ट आएको हो। टेकुमा गरिएको परीक्षणमा किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएको बिहीबार सार्वजनिक गरिएको हो।

    लकडाउनको बेला ती किशोर गत चैत २३ गते भारतको राजधानी नयाँदिल्लीबाट रौतहटको गौर हुँदै धनकौल फर्केका थिए। सङ्क्रमित किशोर नयाँदिल्लीस्थित एक ब्याग फ्याक्ट्रीमा काम गर्दै आएका थिए। भारतबाट एक किशोर आएको सूचना पाएलगत्तै प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर उनलाई राखेको थियो।

    थप एक जनामा आरडिटी पोजेटिभ

    ईश्वरपुर नगरपालिकामा बिहीबार आरडिटी गर्दा एक व्यक्तिमा पोजेटिभ नतिजा आएको छ। ईश्वरपुर–९ रामनगर निवासी ५८ वर्षीय एक पुरुषलाई आरडिटीले जाँच्दा रिपोर्ट पोजेटिभ आएको सर्लाहीका प्रजिअ जिसीले जानकारी दिए।

    ती पुरुषको स्वाब पिसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार