Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवासंघ अध्यक्ष क्षितिज थेबेलाई खरेलको प्रश्न : ओली कपमा उठाइएको २० करोड खोई ?


    शनिबार, साउन १७ २०८२
    2.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ । सरकारका मन्त्रीहरु त्यसमा पनि एमालेकै मन्त्रीहरुका करोड करोडका कमिसन काण्डमात्र होइन, घुस डिल गरेका अडियो काण्ड छताछुल्ल भइसकेका छन् । अडियो प्रकरणमा एक मन्त्रीले त राजीनामा दिए, तर मुख्य दोषी भूमिब्यवस्था मन्त्री बलराम अधिकारी अझै पदमा बिराजमानै छन् ।

    सरकारमात्र होइन, एमालेका जनसंगठनभित्र पनि करोडौं भ्रष्टाचार भएका तथ्य त्यही संगठनका प्रदेश अध्यक्षले सार्वजनिक गरिरहेका छन् । युवासंघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुजन खरेलले युवासंघका अध्यक्ष क्षितिज थेबेसँग केपी ओली कप आयोजना गर्दा उठाइएको २० करोडभन्दा बढी रकमको हिसाबकिताव मागेका छन् ।

    शुक्रबार रिपोर्टर्स क्लवमा उनले केपी ओली कपको २० करोडको हिसाबकिताव पारदर्शी नगरिएको आरोप लगाएका छन् । उनले भनेका छन्–‘केपी ओली कपको नाममा २० करोड रुपैयाँ उठेको छ । त्यसको जानकारी हामीसँग छ । कहाँ कहाँबाट कति कति रकम उठेको छ भन्ने जानकारी हामीले पनि लिएका छौं । यो २० करोडको हिसाब हामीलाई चाहिन्छ ।’

    खरेलले भने–‘हाम्रो संगठनको नाममा उठाइएको पैसा हो यो । हामीलाई चाहिन्छ त्यसको हिसाबकिताब । उहाँ(अध्यक्ष)ले सांगठिनक रुपमा सांगठनिक अपराध गर्नुभएको छ कि अहिलेसम्म ओलीकपको चौथो संस्करण हुनेबेलासम्म हिसाबकिताब मिलाउनुभएको छैन ।’ युवासंघले ११ फागुन, २०८१ मा ओली कप आयोजना गरेको थियो ।

    खरेलले दसौं महाधिवेशनमा प्रतिनिधिहरुबाट उठाइएको ३५ लाख रुपैयाँको पनि हिसाबकिताव मागेका छन् । खरेलले भनेका छन्–‘दसौं महाधिवेशनमा प्रतिनिधिहरुबाट उठाइएको ३५ लाख रुपैयाँ कहाँ छ, कोसँग छ, किन फरफारक भएको छैन ? कार्यकर्ताहरुले खर्च कटाएर संगठनलाई तिरेको लेबीको रकम हो, त्यो कहाँ छ प्रश्न गर्न चाहन्छु ।’

    त्यसैगरी, हिमालयन पुनर्बीमा कम्पनीदेखि बिभिन्न सेयर दलाल कम्पनीको लाइसेन्स कौडीको मूल्यमा हत्याउँदैआएका बिवादास्पद ब्यापारी दीपक भट्ट र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धमा पनि खरेलले प्रश्न उठाएका छन् । खरेलले भनेका छन्–‘दीपक भट्ट र उहाँबीचको सम्बन्ध के हो भनेर खोज्नुपर्ने भएको छ । राजनीतिक, ब्यवसायिक वा सेटिङ मिलाउने सम्बन्ध हो ? यो पनि बुझ्नुपर्नेछ, जान्नुपर्नेछ ।’

    खरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेबापत युवासंघ लुम्बिनी प्रदेश अध्यक्षबाट निलम्बन गरिएको छ । निलम्बनपछि शुक्रबार रिपोर्टर्स क्लवमा उनले आफ्ना भनाइहरु राख्ने क्रममा प्रधानमन्त्री ओलीलाई तपाईंका दास हुनुमात्र तपाईका कार्यकर्ता हुनु हो, एमाले तपाईको बिर्ता हो ? एमाले तपाईका बाबुको बिर्ता हो, जे मन लाग्यो त्यही गर्न छुट छ भनेर प्रश्न गरेका छन् ।

    खरेलले ओलीलाई प्रश्न गरेका छन्– जनबर्गीय संगठन कब्जा जमाएर आफ्नो निजी स्वार्थको राजनीति गर्न खोज्नुभएको हो ? चुनाव हारेका मानिसलाई मनोनीत गर्ने तपाईले ?

    पछिल्लो समयमा राजनीतिक दलनिकट युवासंघ, तरुण दल र अनेरास्ववियु र नेविसंघमा लागेकाहरु नै बिचौलिया र ठेक्कापट्टा कब्जा गर्नेतिर लागेको आरोप लाग्ने गरेको छ । विद्यार्थी हुक्कामा, तरुण र युवा ठेक्कामा भन्ने भाष्य बनिसकेको छ ।

    कुनै पेशा वा ब्यवसाय नभएका र पदमा समेत नपुगेका युवाको नेतृत्व गर्नेहरुले राजधानीमा १० करोड, १२ करोड रुपैयाँमा बंगला खरिद गरेका चर्चा हुने गरेका छन् । भविष्यका कर्णाधार भनिएका युवाहरुमै यस्तो भ्रष्ट प्रबृत्ति हावी हुँदै जानुलाई सुशासनको दृष्टिकोणले अति चिन्ताजनक बिषयका रुपमा लिन थालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार