Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइजीपीले अडान नलिंदा एसपी बढुवा सिफारिसमा विवादित र कनिष्टहरु हावी


    शुक्रबार, बैशाख १२ २०७७
    1.3K
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, १२ बैशाख । नेपाल प्रहरीले डीएसपीबाट एसपी र एसपीबाट एसएसपी बढुवा सिफारिस गर्दा कनिष्ट र विवादितहरुलाई गरेको छ । बढुवा सिफारिसमा संगठन प्रमुख आइजीपीले अडान लिन नसकेको र राजनीतिक हस्तक्षेप बढी देखिएको अनुभव अन्यायमा पारिएकाहरुले गरेका छन् । राजनीतिक दलका नेतादेखि विद्यार्थीका नेतासम्मलाई प्रभावित पार्ने विवादितहरु पनि बढुवा सिफारिसमा परेका छन् । बुधबार राति भएको डीएसपीबाट एसपी बढुवामा सबैभन्दा चर्को हस्तक्षेप देखिएको छ । जसमा आइजीपी ठाकुरप्रसाद ज्ञवालीले अडान लिनै नसकेको, गृहमन्त्रालयबाट आएको नाम सदर गरेको आरोप लागेको छ ।

     तक्मा पाएका र इन्स्पेक्टरबाट डीएसपी बढुवा हुँदा १ र २ नम्बरमा बढुवा भएका भुवनेश्वर तिवारी र ऋषिराम कँडेल पनि एसपी बढुवामा पर्न सकेनन् । प्रधानमन्त्री र गृहमन्त्रीदेखि राजनीतिक नेतृत्वलाई प्रभावमा पार्न नसक्दा उनीहरु छुटेका छन् । कँडेलले यही बर्ष उत्कृष्ट काम गरेबापत सरकारबाट तक्मा समेत पाएका थिए । तर संगठनले उत्कृष्ट काम गरेको भनेर तक्मा सिफारिस गरेका कँडेल बढुवामा पर्न सकेनन् । तिवारी र कँडेल यसअघि अजय केसीहरुसँगै बढुवा हुनुपर्ने हो । तर बढुवामा अन्याय गरी छुटाइएको थियो ।   

    अति जुनियर सन्तोषसिंह राठौर, राजेन्द्र धमला, सन्तोष भट्टराईसहित ४ डीएसपी राजनीतिक पहुँचकै कारण जम्प गरी एसपी बढुवा सिफारिस भएका छन् । राठौर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरो समाएर बढुवा भएका हुन् भने भट्टराई पूर्वगृहसचिव प्रेम राईको सोर्सफोर्स लगाएर जम्प हानेका छन् । धमला रक्षामन्त्री इश्वर पोखरेलकोमा धाउँदाधाउँदा बढुवा हुन सफल भएका हुन् । शान्तिराज कोइराला पनि पहँुचकै भरमा बढुवामा पर्न सफल भएका छन् ।

    डीएसपीबाट एसपी बढुवामा पर्ने दयानिधि ज्ञवाली, प्रवीण धिताल, प्रभुप्रसाद ढकालहरु यस्तै विवादितहरु हुन् । ज्ञवाली ललितपुर परिसरको डीएसपी हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित समातेर विशेष अदालतमा मुद्दा दायर गरेका ज्ञवालीको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा बिचाराधीन छ ।

    एसपीबाट एसएसपी बढुवा गर्दा होस् वा एसएसपीबाट डीआइजी बढुवा गर्दा होस्, मुद्दा परेकालाई नगर्ने नीति बनाएको दाबी गर्ने गृहमन्त्रालयले डीएसपीबाट एसपी बढुवा गर्दा भने सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेका ज्ञवालीलाई बढुवा गरेको छ । जुन मुद्दामा झगडिया झिकाउने काम समेत ज्ञवालीले हुनबाट रोक्दैआएका छन् । उनलाई नेकपाका शीर्षनेताको दबाब र आफ्नै गोत्रका भएकाले आइजीपी ज्ञवालीले बढुवा सिफारिस गरेका छन् । बढुवा सिफारिसका लागि ३ बर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर हुनुपर्ने हुन्छ । तर ज्ञवाली  २ बर्षअघि मात्र विशेष अदालतबाट सफाइ पाएर बहाली भएका हुन् । उनको १ बर्षको नम्बर नै नभए पनि बढुवा सिफारिस भएका छन् । 

    त्यसैगरी, डेढ बर्षअघि चितवनको डीएसपी हुँदा अत्यधिक मदिरा सेवन गरी सौराहाका होटलमा प्रहरी आचारसंहिता बिपरीत आंतक मच्चाएको आरोपमा २०७५ असोज २९ मा कारबाहीस्वरुप तानिएका प्रभु ढकाल पनि बढुवामा परेका छन् । उनका दाजु महानगरीय ट्राफिक प्रहरी महाहाशाखाका प्रमुख एसएसपी भीम ढकालले प्रधानमन्त्री कार्यालयदेखि गृहमन्त्रीका आसेपासेलाई भनसुन गरी प्रभु ढकाललाई एसपीमा बढुवा गराएका छन् । उनले २०७५ असोज १२ गते राति झन्डै १ बजे रत्ननगरस्थित निपनीमा रहेको होटल स्टार बैंक्वेटमा पुगेर आतंक मच्चाएका थिए । अत्याधिक मदिरा पिएका डिएसपी ढकाल होटेल स्टार बैंक्वेटको गेट नजिकै रहेको विद्युतको पोलमा झण्डै दुई घण्टा भुइमै सुतेको अवस्थामा फेला परेका थिए । उनले होटल स्टार बैंक्वेटका संचालकलाई राति मदिराको रवाफमा देखाएको तुजुक त्यतिबेला जिल्लाका एसपी हुँदै प्रदेशका डिआइजी र आइजीपीसम्म पुगेपछि उनी तानिएका थिए ।

     जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि बझाङका प्रहरी प्रमुख प्रविण धिताल विवादमा तानिएका थिए । सरुवा भएर बझाङ आएको केही हप्तामै ८ जना जुवाडे पक्राउ गरेर चर्चामा आएका उनी सामाजिक सञ्जालमा अडियो सार्वजनिक भएपछि जुवाकै कारण विवादमा परेका थिए । 
    सादा पोसाकमा घुमुवाको काम गर्ने प्रहरी हवल्दार नरबहादुर खड्कालाई डीएसपी धितालले जुवा खेलाउन निर्देशन दिएको टेलिफोन संवाद सामाजिक सञ्जालमा २०७५ माघमा सार्वजनिक भएको थियो । तर उनलाई बझाङमा लाने अनेरास्ववियुका संयोजक ऐन महरले नै उनलाई बढुवा गराउन सफल भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार