कठमाडौं । नेपाल सरकारका पूर्वसचिव शान्तराज सुवेदीले शुक्रबार अपराह्न सामाजिक संजालमा नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङको मारमा पर पनि प्राविधिक समस्या भनेर कतै गुनासो नगरेको भनेर लेखे । उनले लेखेका छन्, कामपा ३१ सिनामङ्गलस्थित जागृतिनगर क्षेत्रमा आज माघ १६ गते दिउँसो ३ बजे गुल भएको बिजुली अहिले साँझ ५.३५ मा मात्र सवारी भयो । प्राविधिक समस्या त होला भनेर ठुल्दाइले कतै केही गुनासो गरेनन् ।
पत्रकार पर्शुराम काफ्लेले बिहीबार साँझ लेखे, टीकाथली दक्षिण भेगमा बत्ती गएको ३ घण्टा भयो । लोडसेडिङ घोषित नभए पनि काफ्लेले टीकाथलीमा प्रायः विद्युत दैनिक ३ घन्टाजस्तो अवरुद्ध हुने गरेको बिषयमा बारम्बार उठाउने गरेका छन् । पटक पटक बत्ती जाने समस्या बढेपछि उनले प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपाल, सुखी नेपाली भनेको यही होला भन्दै ब्ंयग्य समेत गर्ने गरेका छन् ।
यी दुई प्रतिनिधिमूलक घटनामात्र हुन्, काठमाडौं उपत्यकाबासी पछिल्ला दिनमा यसैगरी अघोषित लोडसेडिङको मारमा पर्दैआएका छन् । नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिको मार काठमाडौं उपत्यकाबासीले खेपिरहेकै छन् । कुलमान घिसिङले सीमित विद्युत शक्तिलाई ब्यवस्थापन गरी १८ घन्टाको लोडसेडिङ हटाएका थिए । तर पछिल्ला दिनमा उत्पादित बिद्युत केन्द्रीय प्रशारणमा थपिदा पनि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्ति सहज गर्न सकेका छैनन् ।
कुलमान घिसिङले देशलाई लोडसेडिङमुक्त घोषणा गरे तर उनको कार्यकाल सकिएपछि नेपाल पुनः अघोषित लोडसेडिको मारमा पर्न थालेको छ । नयाँ नयाँ परियोजनाबाट विद्युत उत्पादन थपिएको भए पनि काठमाडौंका विभिन्न ठाउँमा बिद्युत आपूर्ति दैनिक २ देखि ३ घन्टासम्म हुन छाडेको छ । विनासूचना विद्युत अवरुद्ध हुँदा कम्प्युटर लागयतका उपकरण बिग्रने समस्याबाट उपभोक्ताहरु पीडित छन् । बरु घोषित लोडसेडिङ भए तालिका मिलाएर काम गर्न सहज हुन्थ्यो, बैकल्पिक ब्यवस्था पनि गर्ने अवस्था हुन्थ्यो । तर अघोषित लोडसेडिङले एकातिर उपकरण बिग्रने समस्या छ भने अर्कोतिर कामकाजमा बाधा पुग्ने गरेको छ ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझीले विगतमा कुलमानले होइन, आफूले लोडसेडिङ हटाएको भाषण गरे । तर उनी आएपछि बिजुली झ्याप्प झ्याप्प जाने समस्याले नागरिक सास्ती भोगिरहेका छन् । जनार्दन शर्मा ऊर्जा मन्त्री कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ हटाएको घामजत्तिकै छर्लंग भए पनि टोपबहादुरले दिउँसै रात पार्ने भाषण गरी आलोचनाको पात्र बनेका थिए । टोपबहादुर आएपछि अघोषित लोडसेडिङ हुन थालेकाले उपभोक्ता कुलमानकै नेतृत्वकालको सम्झना गर्न थालेका छन् ।
कुलमानले उज्यालो नेपाल बनाएर गए, टोपबहादुर आएपछि नेपाल पुनः अन्धकारमय हुन थालेको महसुस जनसमुदायले गर्न थालेका छन् । सीमित विद्युत शक्तिको समुचित ब्यवस्थापन गर्ने कुलमानलाई केपी ओलीले नै पुनः प्राधिकरणको कार्यकारी निर्देशक बन्नबाट रोकेका हुन् । जनताको चाहना कुलमानलाई नै थप एक कार्यकाल प्राधिकरणको नेतृत्व दिनुपर्ने भन्ने थियो । तर ओलीले उनको सफलतालाई देखिसहेनन् । र, उनलाई नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको जिम्मा दिएका छन् । तर शाक्यले कुलमानले बसालेको सिष्टम अनुसार पनि विद्युत ब्यवस्थापन गर्न अक्षम ठहरिएका छन् ।
ओलीले शाक्यलाई भन्दा पनि विद्युत विकास विभागका महानिर्देशक नवीन सिंहबाट ठूलो रकम घुस लिएर प्राधिकरणको महानिर्देशक बनाउन खोजेका थिए । नवीन सिंह तिनै हुन्, जो विभागका सबै आयोजनाको कन्सलट्यान्टको ठेक्का इआरएमसीलाई दिई दसौं करोड घोटालामा मुछिएका छन् ।