काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएका प्रमु्ख आयुक्तसहितका ३ आय्ुक्तले अब ५ दिनमात्र बाँकी छ । माघ २० गते नियुक्ति सिफारिस भएको ४५ दिन पुगेपछि संभवतः माघ २१ मा प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तद्वय किशोल सिलवाल र जयबहादुर चन्दले पदबहाली गर्नेछन् । नयाँ पदाधिकारी आउनुअघि भने अख्तियारमा प्रवक्ता समेत खाली छ । आयोगमा सरुवा भएका सहसचिव आउन नमान्दा सहायक प्रवक्ताले नै काम सम्हाल्दैआएका छन् । अख्तियारमा सरुवा हुनका लागि निकै कसरत गर्ने प्रचलन कुनै बेला थियो, तर पछिल्ला दिनमा आयोगमा सरुवा भए पनि आउन नचाहने प्रवृत्ति देखिएको छ ।
कुनै बेला निजामतीदेखि प्रहरीका लागि आकर्षक मानिने अख्तियार पछिल्लो समयमा प्रोत्साहन भत्ता कटौतीपछि कर्मचारीको रोजाइमा पर्न छाडेको छ । प्रोत्साहन भत्ता सतप्रतिशत भएकाले अख्तियारमा सरुवा हुने लहर नै थियो । तर पछिल्लो समयमा सचिव नै अड्डा रुँगेर कति बस्नु भन्दै अन्यत्रै सरुवा माग्ने थलो बनेको छ ।
आयोगमा डेढ महिनादेखि प्रवक्ता खाली छ । अरु निकायमा सूचना अधिकारी वा प्रवक्ता राख्न निर्देशन दिने अख्तियारमै प्रवक्ता खाली कसरी भयो ? अख्तियारका प्रवक्ता सहसचिव तारानाथ अधिकारी २०७७ पुस १ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भइसकेपछि अख्तियारमा प्रवक्ता रिक्त छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि नै योगेश भट्टराईसँग कुरा मिलाएर पर्यटनमा सरुवा भएका थिए । तर ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि मन्त्री भट्टराईले राजीनामा दिएपछि उनी पर्यटनमा नजाने निष्कर्षका साथ पुस २५ सम्म रमाना नै नलिई बसे । मन्त्री फेरिए पनि उनी सरुवा भइसकेकाले रमाना लिएर पर्यटन मन्त्रालयमा हाजिर भइसकेका छन् ।
अख्तियारमा प्रवक्ताको जिम्मेवारी लिनेगरी सहसचिव खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिए पनि उनी डेढ महिनासम्म पनि हाजिर भएका छैनन् । उनले अख्तियारको सुदूरपश्चिम प्रदेशस्थित कन्चनपुर कार्यालयबाट पारिवारिक समस्या देखाउँदै सरुवा मागेपछि उनलाई गएको मंसिर २९ मै आयोगको केन्द्रीय कार्यालय टंगालमा सरुवा गरिएको थियो । तर उनले अख्तियारको केन्द्रीय कार्यालयमा होइन, गृहमन्त्रालयमा सरुवा भई प्रम्ुख जिल्ला अधिकारी हुने चाहना राखेका थिए । त्यो कुरा उनले अख्तियारका सचिव सुरेश अधिकारीलाई पनि भने । तर सचिव अधिकारीले पारिवारिक कारण देखाएकाले आयोगमा सरुवा गरिदिएकाले पुनः अर्को ठाउँमा गर्न नसक्ने संकेत दिएपछि उनी रमाना नै नबुझी बसेका छन् । उनी अख्तियारमा भएको सरुवा बदर गराउँदै गृहमन्त्रालयमा मिलाउन लागिपरेका छन् । गृहमन्त्रालयमा जाने र आकर्षक जिल्लाको प्रमुख जिल्ला अधिकारी हुने दाउमा भएकाले उनी अख्तियारमा आउँदै आएनन् ।
तारानाथ अधिकारीले रमाना लिएर पर्यटन मन्त्रालयमा सरुवा भइसकेपछि अख्तियारमा सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले कामकाज गर्दैआएका थिए । उनी पनि माघ पहिलो साता गृहमन्त्रालयमा सरुवा भएकाले आफूले केही दिनदेखि सहायक प्रवक्ताको जिम्मेवारी पाएको बेदप्रसाद भण्डारीले बताए । माघ १३ देखि उपसचिव बेदप्रसाद भण्डारीले सहायक प्रवक्ताको जिम्मेवारी सम्हाल्दैआएका छन् । भण्डारीले भने–तारानाथ अधिकारी १ महिनाअघि सरुवा भए पनि पुस तेस्रोसातासम्म कार्यरत हुनुहुन्थ्यो । उहाँ गएपछि गणेश अधिकारीलाई सहायक प्रवक्ता तोकियो, उहाँ पनि गृहमन्त्रालयमा सरुवा भएपछि मलाई तोकिएको छ ।