Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमलपोखरी पुननिर्माणमा पुरातत्व र सांसद गगन थापाको असहयोगः मेयर शाक्यले पठाए पत्र


    शुक्रबार, माघ १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  •  काठमाडौँ । कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराएका हुन् ।

    कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको महानपालिकाको आरोप छ ।

    ‘काठमाडौँ महानगरपालिकाबाट टेण्डर प्रक्रियामार्फत् विगत दुई वर्षदेखि भैरहेको कमलपोखरी निर्माणको कामको बारेमा काठमाडौँ महानगरपालिकासँग कुनै राय–परामर्श नगरी एकपक्षीय रुपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायहरुबिच समन्वय नभएको सन्देश प्रवाह हुने तथा पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ,’ पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचार पूर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ ।’

    काठमाडौँ महानगरपालिका र वडा नम्बर–१ काठमाडौँ महानगरपालिकाको नाममा लेखेको पत्र संख्या ०७७-०७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नुअघि नै विभिन्न अनलाइनमार्फत् सार्वजनिक भएको विषयमा विभागलाई महानगरपालिकाले लेखेको पत्रमा ध्यानाकर्षण गराएको छ ।

    त्यसैगरी काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि तत्कालीन संघीय सांंसद गगनकुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उनले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ ।  ‘कमलपोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौँ महानगरपालिकाको प्रमुखलाई सम्वोधन गरिएको मिति २०७७-०९÷२६ को पत्र प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईँसमेतसँग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईँबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

    काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै  कमलपोखरी पुनर्निर्माण अघि बढाएको पुनः दोहोर्याएका छन् । ‘कमलपोखरीको विकास तथा सुधारका लागि माननीय गगनकुमार थापाले विगतमा गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न हामीले उनलाई पत्र पठाएका छौँ,’ शाक्यले भने, ‘उहाँले सबै विवरण पठाई सहयोग गरे लगत्तै कमलपोखरी पुनर्निमाणबारे सकेसम्म कमलपोखरीमै पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ ।’

    काठमाडौँ महानगरपालिका पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षणको अभियानमा रहेको उनले बताए । ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ,’ शाक्यले भने । ‘काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौँ ।’
    उनले कमलपोखरी पुर्ननिर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको भन्दै  मौलिकता झल्किने गरी सम्पदाको संरक्षण गर्दै कला संस्कृतिलाई जोड्ने र मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेको पनि बताएका छन् ।  

    पोखरीको प्रस्तावित ढाँचा तयार गर्ने सन्दर्भमा कमलपोखरी क्षेत्रकै तत्कालीन सांसद थापासँग महानगरपालिकाले सहरी योजना आयोगको कार्यालय, अग्रवाल भवनलगायतका स्थानमा विभिन्न चरणमा छलफल गरेको थियो ।  थापाले छलफलका क्रममा संसद विकासकोष र निजी बजेट समेतबाट पटक–पटक पोखरी पुनर्निमाणका लागि बजेट खर्च भएको बताएका थिए ।

     उनले विभिन्न चरणका छलफलमा पछिल्लो समय कमलपोखरी अस्तव्यस्त बनेको, छठ सुरु भएपछि त्यसले केही पुनर्जीवन पाएको, सार्कका बेला आएको बजेटबाट तारबार गर्नेलगायतका काम गरेको पनि बताएको सहरी योजना आयोगले जानकारी दिएको छ । पोखरीको केही जमिन मिचिएको र मिचिएको जमिन पनि कृषि मन्त्रालयको मत्स्यपोखरीको रुपमा रहेको पनि उनले छलफलका क्रममा बताएका थिए  । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि पुरातत्व विभागले महानगरपालिकासँग कुनै समन्वय नै नगरेको आरोप लगाए । पुनर्निमाणको लामो समयसम्म अनदेखा गरेर बसेको पुरातत्वले निर्माण कार्यको अन्तिम चरणमा आएर गरेको कार्य  उचित नभएको बताए ।

    उनले कमलपोखरीको रानीपोखरीको जस्तो इतिहास नरहेको भन्दै लामो समयसम्म ढलको रुपमा रहेको कमलपोखरीलाई महानगरले सुन्दर पोखरी बनाउन लागेको बताए  । ‘रानीपोखरी ऐतिहासिक सम्पदा हो तर, कमलपोखरी ऐतिहासिक पोखरी हो,’ ज्ञवालीले भने, ‘सम्पदा  संरक्षण र सम्र्बद्धन गर्ने कुरामा हाम्रो कुनै कमी रहँदैन । घाँसले भरिएको कमलपोखरीलाई व्यवस्थित गर्दै स्थानीयको समेत सहमतिमा पोखरी पुननिमार्णको काममा महानगरपालिका अघि बढेको हो ।’  

    पुरातत्व जस्तो राज्यको निकायले समेत विकास निर्माणका कार्यमा असहयोग गर्न खोज्नु राम्रो नभएको काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुखको तर्क छ । ‘कमलपोखरी र रानीपोखरी एउटै हो भन्ने भ्रम फिजाउने काम भैरहेको छ । त्यो गलत छ,’ उनले भने, ‘राजनीतिक दलका प्रतिनिधि अभियन्ता र स्थानीयवासीसँग विभिन्न चरणमा छलफल गरेर नै हामीले पोखरी पुनर्निमाणको डिजाइन तयार गरेका हौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार