काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न शुक्रबार नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर पुष्पकमल दाहाल प्रचण्ड–नेपाल समूहका नेताहरुले अध्यक्षद्वय राजनीतिक कार्यक्रमका लागि काठमाडाैं बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ ।
ओली समूहका नेता विष्णु पौडेल, सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताका छन् ।
‘दल दर्ता अगाडि बढाउनुस्, हामी प्रामिकता दिएर सहयोग गर्छौं भनेका छौं,’ छलफलपछि नेता नेम्वाङले सञ्चारकर्मीहरुलाई भने, ‘आयागले पनि सर्वोच्चले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध छौं भनेको छ ।’