महोत्तरी । सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीले त्यस प्रदेशबाट हुने तस्करी नियन्त्रणलाई मुख्य प्राथमिकता दिएको छ । बाहिनीका प्रमुख डीआइजी चन्द्रप्रकाश गौतम हाजिर भएको २ महिनामा उनले ८ वटै जिल्लाका घुमुवाहरुलाई बाहिनीमा तानेर पुनर्ताजगी(रिफ्रेस) तालिम दिन सुरु गरेपछि तस्करहरुको रुवाबासी सुरु भएको छ ।
डीआईजी गौतमले हाजिर भएकै दिनदेखि संगठनभित्रैबाट शुद्धिकरण अभियान सुरु गरे । प्रदेश २ का ८ वटै जिल्लाका गण, भन्सार सुरक्षा बेस र बोर्डर आउटपोष्टमा लामो समयदेखि कार्यरत र विवादित घुमुवाहरुलाई बाहिनीमा तानेर रिफ्रेस तालिममा पठाए । कार्यालय प्रमुखहरुले अतिरिक्त आम्दानीका लागि राखेका घुमुवाहरुलाई बाहिनीमा तानिसकेका छन् ।
हाकिमहरुले अतिरिक्त असुुलीका लागि राखेका घुमुवाहरुलाई तान्न थालेपछि २ नम्बर प्रदेशका ८ वटै जिल्लाका तस्करहरुमा खैलाबैला मच्चियो । डीआइजीको कदमपछि घुमुवामार्फत् गण, भन्सार सुरक्षा बेस र बोर्डरआउट पोष्टका हाकिमसम्म सेटिङ गरी तस्करी गर्दैआएका तस्करहरुको भागाभाग भएको छ । गौतमले ८ वटा जिल्लाका गण, गुल्ममा कार्यरत ४० भन्दा बढी घुमुवा तानेर रिफ्रेस तालिम दिएका छन् ।
डीआइजी गौतमले शुद्धिकरण सुरु गरेपछि बोर्डर आउटपोष्टका इन्चार्जहरुले आ आफ्ना घुमुवाहरुलाई परिचालन समेत गर्न छाडेका थिए । तर बिभिन्न जिल्लाबाट तानेका घुमुवाहरुलाई कारबाही अगाडि बढाएपछि एकले अर्कालाई पोल्दै अहिले लगभग प्रदेश नै घुमुवाबिहीन बनिसकेको छ ।
घुमुवा तनेर डिआईजी गौतमले एउटा ठुलो सहास र सराहनीय काम गरेका छन् । घुमुवा ताने पनि अझै अपेक्षित रुपमा तस्करी नियन्त्रणमा आउन सकेको छैन । तर तस्करीमा कमी भने आएको छ । पहिला पिकअप, ट्रयाकटरमा भइरहेको तस्करी अहिले मोटरसाईकल, टेम्पु र साईकलमा सीमित भएको छ । अर्थात् ठूलो मात्रामा हुने तस्करीमा कमी आएको छ । झोलेपोकेहरुबाट हुने तस्करी भने अझै नियन्त्रणमा आउन सकेको छैन ।
घुमुवाका कारण डिआईजीलाई तनाव
सीमानाकामा हुने अबैध गतिबिधि तथा अबाञ्छित क्रियाकलाप रोक्ने उद्देश्यले सशस्त्र प्रहरी र नेपाल प्रहरीले सादा पोसाकमा जनशक्ति परिचालन गर्दैआएका थिए । सादा पोशाकमा खटाइएका तिनै जनशक्तिलाई घुमुवा भनिन्छ । सादा पोशाकमा चोरी तस्करी र अपराधिक घटनाको सूचना लिनका लागि परिचालित घुमुवाले तस्कर तथा साना ठूला ब्यापारीहरुसँग मिलेर अबैध मालसामान ओसारपसार गर्न सघाउ पुर्याउने गरेका छन् ।
कार्यालय प्रमुखले नै सादा पोशाकमा घुमुवा परिचालन गरी अतिरिक्त आम्दानी गर्ने गरेका छन् । तर कार्यालय प्रमुखलाई कारबाहीको दायरामा नल्याई तिनै घुमुवालाई मात्र कारबाहीको निशाना बनाउने गरिएको गुनासो पनि सशस्त्र र नेपाल प्रहरीमा आउने गरेको छ । हाकिमको आदेशमा खटिने तल्लो तहका सिपाहीदेखि सईसम्मका प्रहरीलाई बाहिनीमा तानिए पनि उनीहरुलाई घुमुवाका रुपमा खटाउने गणका एसपी, भन्सार गुल्मका डीएसपी र बोर्डरआउटपोष्टका इन्स्पेक्टरलाई भने कारबाही नहुनुले सानालाई ऐन, ठूलालाई चैन भन्ने भनाइ चरितार्थ गरेको छ ।
२ नम्बर प्रदेशअन्तर्गतका सशस्त्रका गण, गुल्महरुमा खटिएका घुमुवाहरुका कारण तस्करी तथा बोर्डरमा हुने अबैध क्रियाकलाप रोकिनुको साटो झन फस्टाउने गरेको गुनासोलाई हृदयंगम गर्दै डीआइजी गौतमले उनीहरुलाई बाहिनीमा तानेर रिफ्रेस तालिम दिनुपरेको बताउँछन् । सशस्त्रका हाकिमहरुले घुमुवा परिचालन गरी आर्जित अबैध कमाईबाट हेडक्वाटरका बिभागीय ठुलठुला हाकिमका घरमा एसी, वासिङ्ग मेसिन, टेलिभिजन सेट, महङ्गो कार्पेट, पर्दा लगायत नगद जिन्सी पुर्याउँदै सरक्षित हुँदैआएका छन् ।
बर्षौदेखि घुमुवाका रुपमा बसेका सामान्य सिपाही हवल्दार दर्जाकालाई सरुवा गर्न खोज्दा माथिदेखिकै दबाब झेल्नुपर्ने अवस्था छ । यी घुमुवा चलाउँदा डीआइजीमाथि चर्को दबाब परेको छ ।
बिभिन्न दलका नेता, सांसद, मन्त्रीसम्म पहुँच बनाएका ती घुमुवाहरुले अहिले डिआईजी गौतमलाई निकै तनाब दिएका छन् । बर्षौंदेखि जो हाकिम आए पनि असुलीमा परिचालन गरिएका घुमुवाहरुलाई डीआइजी गौतमले बाहिनीमा तालिममा राखिदिएपछि उनीहरुले शक्तिकेन्द्रमा पहुँच पुर्याई साविककै स्थानमा फर्काउन दबाब दिएका छन् । डीआइजीले दबाबलाई वास्ता नगरेपछि उनीहरुले बाहिनीबाट बाहिर पठाउनका लागि दबाब दिएका थिए । बाहिनीको तालिम र क्वारेन्टाइन बस्नुपर्दा घुमुवाहरुले बिभिन्न नेता तथा बिभागीय दबाब दिने गरिहेका छन् ।
घुमुवाको असन्तुष्टीः हाकिममाथि कारबाही किन नगर्ने ?
सशस्त्र प्रहरी बलमा जागिरमा प्रवेशदेखि नै पोशाक नलगाएका कतिपय घुमुवाहरु बिभिन्न नेताहरुबाट डिआईजीलाई दवाब दिंदा पनि पार नलागेपछि बाहिनीबाट बाहिरिन पाएमात्र हुन्थ्यो भन्ने ध्याउनमा छन् । कतिपयले “जिल्लाका पत्रकार तथा मोफसलका पत्रकारहरुलाई आफुहरु आफ्नो इच्छामा घुमुवा नबसेको, हाकिमहरुले राखेकाले घुमुवा बसेको भन्ने गर्दछन् । र, कारबाही गरे घुमुवा परिचालन गर्ने हाकिममाथि गर्नुपर्छ । आफूहरु हाकिमको आदेश पालकमात्र भएको उनीहरुको तर्क छ ।
हाकिमले घुमुवा राखेपछि बस्नै पर्यो । हाम्रो के दोष ? २ नम्बर प्रदेशमा लामो समय सशस्त्रको घुमुवा बसेका एक सशस्त्र प्रहरी सहायक निरीक्षक(असई)ले भने, डिआईजीले कारबाही गर्नु छ भने मातहतका इन्चार्जहरुलाई कारबाही गरे भइहाल्छ । हामीलाई किन ? हामीले जहिले पनि हाकिमलाई खुशी पार्यौं । दुःख हामीलाई मात्रै किन दिने ? हामीसँंगै तानिएका कतिपय घुमुवालाई बिभिन्न जिल्लामा पठाइसकिएको छ । अब हामी सबै यहाँ थन्केका मधेशी समुदायका मात्र छौं” एक पुराना घुमुवाले आक्रोसित हुँदै भने, हामीलाई परिवारसँग भेट्न समेत बन्देज गरिएको छ । परिवारसँग भेट गर्नसमेत बन्देज गर्ने गरी हामीलाई ब्यारेकभित्र राखिएको छ ।
दुई महिनादेखि बिना कुनै कारण बाहिनीमा थन्क्याएर राखिएको छ । कहीँ कतै आउन जान दिइएको छैन । घरमा जान बिदासमेत नदिंदा घुमुवाहरुमा डिप्रेसन भइसकेको ।
रिफ्रेस तालिम दिने क्रममा आफन्त बिरामी भएको बहाना बनाएर घर जाने भन्दै तस्करहरुसँग गएर फेरि आएँ भन्दै सेटिङमा लागेपछि बिदामा कडाइ गरिएको डीआइजी गौतमले बताए । सुध्रिए होलान् भनेर आफन्त बिरामी भए भनेपछि छाडेको, तर फेरि पुरानै आचारसंहिता बिपरीतका गतिबिधिमा लागेपछि बिदामा कडाइ गरिएको हो । आफन्त बिरामी नै नभए पनि भएको बहाना बनाएर पुरानै गतिबिधिमा लागेपछि कडाई गरिएको हो । तालिममा रहेका घुमुवाले आफन्त बिरामी भएको भनेर बिदा माग्दा पनि यथार्थ बुझेर मात्र छाड्ने गरिएको छ । बुझ्ने क्रममा बिरामी भएको पाइएमा हामीले बिदा दिएका छौं । डीआइजी गौतमले भने, हामीले शुद्धिकरणको तालिम दिएका हौं, अमानवीय ब्यवहार गरेका छैनौं ।
डिआईजी भन्छन्, गण गुल्ममा पठाउने क्रम सुरु
बाहिनी तानिएका घुमुवाहरुलाई अर्को प्रदेशमा सरुवा गर्न डिआईजी गौतमले सशस्त्र मुख्यालयसँग अनुमति मागेको स्रोत बताउँछ । २ नम्बर प्रदेशमा लामो समय घुमुवा बसेकालाई सोही प्रदेशमा सरुवा गर्दा पुन पहुँच पुर्याएर साविककै ठाउँमा फर्कन सक्ने भएकाले पनि अर्को प्रदेशमा सरुवा गर्नका लागि मुख्यालयसँग अनुमति माग गरेका छन् । डीआइजी गौतमले भने, तालिमपछि कतिपयलाई खटाइसकेका छौं । सरकारले चुनाव घोषणा गरेकाले शान्ति सुरक्षा ब्यवस्थापनमा रिफ्रेस तालिम दिइएकाहरुलाई खटाउने प्रतिक्रिया दिएका छन् ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend