काठमाडौं ।नेपाली काँग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले घरमा श्रीमती हुँदाहुँदै आफ्नै कार्यकर्तासँग विवाहको नाटक गरि कान्छी श्रीमती बनाएको उच्च अदालत दिपायलले रहेको ठहर गरिदिएको छ । शाहले विवाह गरेपनि औपचारिक रूपमा नस्वीकारेको र आफूलाई अलपत्र पार्दै श्रीमतीको अधिकारबाटसमेत बञ्चित गराएको दावीसहित नेपाल महिला संघकी नेतृ राधिका भुजेलले दायर गरेको मुद्दामाथि उच्च अदालतको मंसिर २१ गतेको फैसला आएको हो । अदालतले उनीहरुबीच श्रीमान श्रीमतीको नाता कायम गरिदिएको छ ।
पिडित श्रीमती भुजेलले नाता कायम गराई पाउन यसअघि जिल्ला अदालत अछाममा मुद्दा हालेकी थिइन् । तर,जिल्लाले श्रीमान श्रीमतीको नाता कायम नहुने ठहर्याएपछि उनी उच्च अदालत,दिपायल पुगिन् । जिल्लाको फैसला उल्ट्याउँदै उच्च अदालतले शाह र भुजेलबीच श्रीमान र श्रीमतीको नाता कायम गरिदिएको छ । राधिकाले अदालतमा दिएको फिराददावीमा “२०६० मंसिर १२ गते आफूलाई काठमाडौँ जाने भनी फकाएर मनकामना मन्दिर पुर्याएको र तीन दिनपछि १५ गते शाहले सिउँदोमा सिन्दुर हालेको’ उल्लेख छ ।
सिन्दुर हाल्नुअघि र हालेपछिको केही समयसम्म राम्रै रहेको उनीहरूको सम्बन्ध विवाह दर्ताको विषय उठेपछि बिग्रिएको बताइन्छ । राधिकाले अछामस्थित पुख्र्यौली घरमा आफूलाई भित्र्याउन अनुनय विनय गर्दा पनि शाहले जातीय कारण,घरमा जेठी श्रीमती र दुईजना बालबच्चालाई देखाउँदै आलटाल गर्दै आएका थिए । त्यसपछि राधिकाले विवाह दर्ता मागेको निहुँमा २०७५ असार १२ गते शाहले कुटपिट गरेपछि बहुविवाहको मुद्दा जिल्ला हुँदै उच्च अदालतसम्म पुगेको थियो ।
