जनकपुरधाम । जनकपुर यातायात कार्यालयमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले छापा मारेको छ । लामो समयदेखि किसानले प्रयोग गर्ने ट्याक्टर चलाउने लाइसेन्स यातायात कार्यालयले जारी गर्न झुलाउदै आएको थियो ।
किसानले ट्याक्टरको लाइसेन्स माग गर्दा महिनौदेखि झुलाएपछि आक्रोस चुलिदै गएको थियो । कृषि प्रयोजनका लागि ट्याक्टर अत्यावश्यक उपकरण हो । तर मोटरसाइकल र गाडीको लाइसेन्समा जस्तो घुस प्राप्त नहुने भएकाले यातायात कार्यालयले ट्याक्टरको लाइसेन्स भोलि पर्सि भन्दै झुलाउदै आएको थियो ।
अख्तियारको छापाका बारेमा जनकपुर यातायात कार्यालयका प्रमुख बीरेन्द्र शाहसग सम्पर्क गर्दा उनको मोबाइलको स्वीच अफ गरिएको छ । ट्याक्टरको लाइसेन्सको लागि महिनौदेखि यातायात कार्यालय धाउदै आएका किसानले दलालमार्फत घुस दिएर लाइसेन्सको प्रयोगात्मक परीक्षा दिन सहमत गराए ।
मङ्गलबार किसानहरुले एकमुष्ट घुस दिए । र, अख्तियारलाई त्यसको जानकारी दिए । अख्तियारको टोलीले मङगलबार अपराह्न ४ बजे यातायात कार्यालयमा छापा मारी खानतलासी लिएको थियो । किसानहरुले दिएको लाखौं रुपैयाँ घुस कार्यालयभित्रै रहेको सुचनाका आधारमा अख्तियारले छापा हानेको स्रोतले बताएको छ ।