Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसदहरूलाई अहिलेदेखि नै दशैंको चिन्ता


    शुक्रबार, असार २० २०७६
    755
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १९ असार । सरकारलाई दबाब दिएर निर्वाचन क्षेत्र विकासको नाममा ६–६ करोड पाउने निर्णय गराएका सांसदहरू अब दशैं भत्ता पनि लिने योजनामा लागेका छन् ।‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ का सदस्यहरूले बुधबार अर्थमन्त्री युवराज खतिवडासँग दशैं भत्ता उपलब्ध गराउन माग गरेका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

    दशैं आउन तीन महिना बाँकी छँदा समितिले अर्थमन्त्री खतिवडालाई बोलाएर यसबारे छलफल गरेको छ । केही सांसदले खुलेरै अन्य कर्मचारीले जस्तै दशैं भत्ता पाउनुपर्ने माग गरे ।

    ‘अर्थमन्त्रीज्यू, अरू कर्मचारीहरूले वर्षमा १३ महिनाको तलब पाउँछन । किनकी दशैंमा उनीहरूलाई थप एक महिनाको भत्ता दिइन्छ । तर, हामीलाई दिइँदैन । यसबारेमा सोच्नुपर्‍यो,’ सांसद बिना पोखरेलले भनिन् ।

    समिति सदस्य राधेश्याम अधिकारीले पनि सांसदहरूको भत्ताबारे अर्थमन्त्रीसँग जिज्ञासा राखेका थिए । अन्य श्रमिकले १२ महिना काम गरेर १३ महिनाको तलब पाउने भए पनि सांसदहरूले नपाएकोप्रति उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अधिकारीले भने, ‘यो विषयलाई अर्थ मन्त्रालयले कसरी हेरिरहेको छ ? पहिला–पहिला त दशैं खर्च दिइन्थ्यो, १५–१६ वर्ष भयो दिइएको छैन ।’

    ०५८ सम्म सांसदलाई न्यूनतम पारिश्रमिकबराबर दशैं खर्च दिने चलन थियो । तर, सर्वोच्च अदालतले यस्तो शैली रोक्न र कानुन बनाएर मात्रै लिन निर्देशन दिएपछि दशैं भत्ता रोकिएको थियो । त्यसयता कानुन नै नबनेकाले सांसदहरूले भत्ता पाएका छैनन् ।

    बुधबार समिति बैठकमा सांसद पोखरेलले अर्थमन्त्रीसामु यो विषय कोट्याइन् । अर्थमन्त्री खतिवडाले छलफल गर्ने आश्वासन दिएका छन् । अहिले सांसदको मासिक न्यूनतम पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार