Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजबाट सातै प्रदेशमा कोरोना खोप अभियान , खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या


    बुधबार, माघ १४ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ।

    ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य  असर देखा पर्न सक्छ। जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ। खोप लगाएको ठाउँमा दुख्न सक्छ। डाबर देखिन सक्छ। ती असर केही समयपछि आफैं हराएर जाने हुन्छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘कतिपय अवस्थामा यदाकदा औषधि पनि आवश्यक देखिन सक्छ। केही असर देखिए पनि आत्तिनु पर्दैन।’

    परिषद्ले खोप भण्डारण, ढुवानी, खोप लगाउँदा र लगाइसकेपछिको प्रभावबारे निर्देशिका बनाएर अनुसन्धान गर्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ अस्पताल र १ सयभन्दा बढी खोप केन्द्रमा खोप लगाइने जनाएको छ।

    स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बुधबार ६५ भन्दा बढी जिल्लामा एकसाथ खोप लगाउन थालिने बताए।  मुलुकभर ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी सातवटै प्रदेशमा  खोप

    ढुवानी भइसकेको डा. गौतमले बताए। काठमाडौंमा सरकारी र निजी गरी ११ वटा ठूला अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।

    ‘यो खोप सुरक्षित र प्रभावकारी छ’, खोप शाखा प्रमुख डा. गौतमले भने, ‘अरू मुलुकले नपाउँदै हामीले पाएका छौं। ढुक्क भएर लगाउन सकिन्छ।’

    पहिलो चरणमा भारतले अनुदानमा उपलब्ध गराएको १० लाख डोज लगाउन लागिएको हो। प्रदेश १ मा ९६ हजार,  प्रदेश २ मा ३४ हजार, बागमतीमा ७६ हजार डोज खोप भण्डारण गरिएको छ। त्यस्तै गण्डकी प्रदेशमा ४० हजार,  लुम्बिनीमा ८८ हजार, कर्णालीमा १२ हजार र सुदूरपश्चिममा १६ हजार खोप पुर्‍याइएको छ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिला र १८ वर्षभन्दा कम उमेरका

    व्यक्तिलाई खोप अभियानमा सहभागी गराइनेछैन। खोप लगाउनेलाई खोप लगाएको प्रमाणका रूपमा परिचयपत्र वितरण गरिनेछ। परिचयपत्रमा खोप लगाउने व्यक्तिको नाम, उमेर, पालिका, वडा नम्बर, सम्पर्क नम्बर, पहिलो र दोस्रो पटक खोप लगाएको मिति, खोपको नाम, खोपको ब्याच नम्बर तथा खोप लगाइदिने स्वास्थ्यकर्मीको नाम उल्लेख हुन्छ।

    प्रवक्ता डा. गौतमले एउटा डोज लगाएको चार सातापछि दोस्रो पटक लगाउनुपर्ने बताए। दोस्रोपटक खोप लगाउँदा कार्ड अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम बनाइएको छ।

    यो खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्त रूपमा विकास गरेका हुन्। भारतस्थित सेरम इन्स्टिच्युटले उत्पादन गरेको यो खोपको तेस्रो चरणको ट्रायलसमेत पार भइसकेको छ।यो समाचार आजको अन्नपूर्ण पोष्टमा दिनेश गौतमले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार