विराटनगर, ११ बैशाख । प्रदेश १ को विराटनगरस्थित कोशी अस्पताल कोभिड १९) उपचार केन्द्रको सुरक्षाका लागि बुधबारबाट नेपाली सेना खटाइएको छ । प्रदेशमा मात्र कोरोना पुष्टि हुनेको संख्या २८ पुगेपछि अस्पतालको सुरक्षा जिम्मा सेनालाई दिइएको हो ।
उदयपुरमा कोरोना पुष्टि भएका १६ नेपाली र १२ भारतीय नागरिकको उपचार भइरहेको अस्पतालको सुरक्षा जिम्मा पहिलो पटक सेनालाई दिइएको हो ।
यसअघि अस्पतालको सुरक्षाका लागि प्रहरी मात्रै परिचालन गरिएको थियो । प्रदेश १ मा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्ला सुरक्षा समिति मोरङको बुधबार बसेको बैठकले अस्पतालको सुरक्षामा सेना पनि खटाउने निर्णय गरेको हो । अब अस्पताल सुरक्षामा सेना र प्रहरीको संयुक्त टोली रहने छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालको सुरक्षाका लागि सेना खटाउने विशेष निर्णय भएको जानकारी दिए । उनले विभिन्न घटनाक्रम अनुसार चौतर्फी प्रहरी उपलब्ध गराउनुपर्ने अवस्थामा सहजता प्रदान गर्न अस्पताल सुरक्षामा सेना खटाउनु परेको बताए ।
मोरङको थलाहास्थित नेपाली सेनाको सूर्यदल गणका प्रमुख सेनानी रघु पौडेलले अस्पतालको सुरक्षाका लागि सबै ध्यान केन्द्रित गरिने उनले बताए । त्यहाँ खटिएका प्रहरीलाई सहयोग गर्दै अस्पतालको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने जानकारी उनले दिए ।
प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार गर्न विराटनगरमा १० वटा भेन्टिलेटरसहित ५० बेडको कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको छ । प्रदेश १ को उदयपुरमा फेला परेका कोरोना संक्रमितको यही केन्द्रमा उपचार भइरहेको छ। उदयपुरमा २६ पुरुष र २ महिलामा कोरोना देखिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट