Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्लाहीमा न्याय होइन असुली ! उजुरी फाँटमा खुलेआम घुस माग


    शुक्रबार, असार ६ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत उजुरी फाँटमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ सहायक निरीक्षक (सई) पुरुषोत्तम सुवेदी, प्रहरी जवान प्रदीप यादव र जितेन्द्रकुमार यादवले सेवाग्राहीहरूसँग अवैध रूपमा पैसा लिँदै आएको गुनासो बढ्न थालेको छ ।

    प्रहरीसँग न्यायको अपेक्षामा उजुरी दिन गएका नागरिक आफैं आर्थिक शोषणमा परिरहेको आरोप लागेको छ । नाम नखुलाउने सर्तमा एक सेवाग्राहीले बताएअनुसार, उजुरी फाँटमा पुग्ने व्यक्तिहरूसँग प्रारम्भिक छलफलका लागि समेत पैसा माग गरिन्छ । पैसा नदिएसम्म उजुरी सुन्ने र समाधान गर्ने कार्य अघि बढाइँदैन ।

    अझै चिन्ताजनक कुरा त के छ भने, हालै एक सडक दुर्घटनामा परेको व्यक्तिको मोटरसाइकल लिन पुगेका सेवाग्राहीसँग प्रहरी जवान जितेन्द्रकुमार यादवले खुलेआम दुई हजार रुपैयाँ घुस माग गरेका थिए । ‘पैसा दिए मिलापत्र गराइदिन्छु, नत्र होइन’ भन्ने स्पष्ट चेतावनी दिइएको पीडितले बताएका छन् ।

    सेवाग्राहीका अनुसार, सबै कानुनी कागजात साथमा लिएर जाँदा समेत पैसा नदिएपछि मिलापत्र गराइदिइएन । यसरी दुबै पक्षलाई मानसिक तनाव दिइएको र प्रहरीमाथि विश्वास गुम्न थालेको गुनासो बढेको छ ।

    प्रहरीको यो व्यवहारले जिल्ला प्रहरी कार्यालय सर्लाहीप्रति आम नागरिकको विश्वास खस्कँदै गएको छ । सेवाग्राहीहरूका अनुसार हालका प्रमुख आएपछि तल्लो तहदेखि माथिल्लो तहसम्म आर्थिक असुली र शोषणको प्रवृत्ति झनै बढेको अनुभव गरिएको छ ।

    स्थानीय समुदायले यस्ता क्रियाकलापप्रति चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । प्रहरी प्रशासनभित्रै यस्ता गैरकानुनी क्रियाकलाप बढ्दै गए जनताको सुरक्षाका लागि जिम्मेवार संस्थामा गम्भीर प्रश्न उठ्ने देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार