नवलपरासी, १० बैशाख । र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएका बर्दघाटका ७८ वर्षीय एक पुरुषलाई रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ ।
उनलाई बर्दघाटको चिसापानीस्थित सामुदायिक अस्पतालमा दुई पटक र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि भैरहवा पठाइएको थियो । उनको थ्रोट स्वाबको नमूना संकलन गरी पीसीआर टेष्टका लागि पठाइएको थियो ।बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले उनको स्वाब परीक्षणको रिपोर्ट नआए पनि हाल बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए ।
७ जनाको परिवार रहेको उनको परिवारमा अन्यमा सदस्यहरुमा भने र्यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएको छ । ज्ञवालीले उनका परिवारको अन्य सम्पूर्ण सदस्यलाई उनकै घरमा सुरक्षित रुपमा क्वारेन्टाइनमा राखिएको बताए ।
बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले अहिलेसम्म बर्दघाटमा १३४ जनामा आरडिटी टेष्ट गर्दा १ जनामा मात्र पोजेटिभ देखिएको जनाएको छ ।
दोस्रो र तेस्रो कोरोना संक्रमितसँगै एउटै हवाई जहाजमा रहेका दुई जनाको भने र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिएको भन्दै थ्रोटस्वाब गरिएको छैन । उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा राखिएको ज्ञवालीले बताए ।
बर्दघाट नगरपालिकामा १ सय ३४ जना विदेशबाट आएको तथ्यांक भए पनि १३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये १० जना घर फर्किसकेका र ३ जना क्वारेन्टाइनमा रहेका बर्दघाटका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले बताए ।