Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हार स्वीकार्दै ह्वाइटहाउसबाट विदा भए ट्रम्प


    बुधबार, माघ ७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नवनिर्वाचित राष्ट्रपति जो बाइडनविरुद्ध कहिले आन्दोलन त कहिले अदालत पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः हार स्वीकार्दै आगामी प्रशासनलाई शुभकामना दिएर विदाई भएका छन् । आफ्नो कार्यकालको अन्तिम दिन आज ह्वाइटहाउसबाट बिदाइ सम्बोधन गरेका ट्रम्पले आफूहरुलाई नागरिकले दिएको अभिभारा पूरा गरेको दाबी गरेका थिए ।

    ट्रम्पले सम्बोधनका क्रममा भने–‘तपाईंहरुले चुनेअनुसार मैले कठिन लडाइँ र कठिन द्वन्द्वको सामना गरेँ ।’ गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजालाई ट्रम्पले अहिलेसम्म पूर्ण रुपमा स्वीकार गरेका छैनन् । त्यसैले पनि उनी कहिले सडकमा त कहिले अदालतमा पुगेका थिए ।

    केही दिनअघि ट्रम्प समर्थकले अमेरिकी संसद् भवनमा मच्चाएको हिंसामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । ट्रम्पको उक्साहटमा उक्त हिंसा मच्चिएको आरोप लागेको थियो तर, बिदाइ सम्बोधनका क्रममा पनि उनले हिंसात्मक प्रदर्शन स्वीकार्य नभएको बताएका छन् ।

    उनले भने–‘राजनीतिक हिंसा अमेरिकी गौरवमाथिको आक्रमण हो, यो कदापि स्वीकार्य छैन ।’ करिब २० मिनेटको सम्बोधनमा ट्म्पले आफ्नो कार्यकालको उपलब्धि, अमेरिकी नीति, विदेश नीति र आफ्नो विरासतबारे पनि टिप्पणी गरेका छन् ।

    उनले सम्बोधनका क्रममा भने–‘बुधबार मैले नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पिँदैछु । हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ भनेर तपाईंहरुले बुझ्नुहुनेछ भन्ने म चाहन्छु । हामी जे गर्न भनेर आएका थियौँ, हामीले त्योभन्दा अझ बढी काम गऱ्यौँ ।’

    नेपाली समयअनुसार बुधबार राति जो बाइडेन र कमला ह्यारिसले अमेरिकाको आगामी राष्ट्रपति र उपराष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् भने सीएनएनका अनुसार राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले अमेरिकी समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइट हाउस छाड्नेछन् । विभिन्न सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लागेका कारण ट्रम्पको सम्बोधन द ह्वाइट हाउस युट्युब च्यानलमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार