रुपन्देही । गएको पुस १७ गते राती तिलोत्तमा नगरपालिकाको जानकीनगरमा भएको दुर्घटनाका आरोपी प्रवीण शाक्यलाई सवारी ज्यानमा मुद्दा कमजोर बनाई छुटाउन प्रहरीले अस्पतालमा राखेको खुलेको छ ।
प्रवीण शाक्यले मादक पदार्थ सेवन गरी चलाएको गाडीले ठक्कर दिंदा शुद्धोधन गाउँपालिकाका २४ बर्षीय महेन्द्र मरासिनीको मृत्यु भएको थियो । गाडीले ठक्कर दिएपछि अस्पताल लाने क्रममा मरासिनीको मृत्यु भएपछि शाक्यलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गर्यो । तर हिरासतमा नराखी उनलाई बिरामी नै नभए पनि लुम्बिनी प्रादेशिक अस्पतालमा राखी चलखेल गर्ने सुविधा दिइयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रवीण पोखरेलकै दबाबमा इप्रका बुटवलले उनलाई अस्पतालमा राखेको खुलेको छ ।
मापसे गरी चलाएको गाडीले ठक्कर दिदा मरासिनीको मृत्यु भएकाले शाक्यलाई कर्तब्यज्यानमा मुद्दा चलाउनुपर्ने हुन्छ । तर सवारी ज्यानमा मुद्दा कमजोर बनाएर दर्ता गरी उन्मुक्ति दिलाउन एसपी पोखरेल लागेको समाचार सार्वजनिक भएपछि आइजीपी शैलेश थापा क्षेत्रीले उक्त घटनाका बारेमा चासो राखी शुक्रबार पत्र पठाएका थिए । तर आइजीपी थापाको निर्देशन समेत अटेर गर्दै एसपी पोखरेलले अस्पतालमै बसेर शाक्य र मृतक मरासिनीका परिवारसँग मिलापत्र गराएका छन् ।
आइजीपी थापाले पत्र पठाइसकेपछि पनि उनले मिलापत्र गराई चुनौती दिएका छन् । पीडित पक्षलाई मिलापत्र गराउन प्रहरीले नै दबाब दिएकाले एक्लो छोरा लापबारहीपूर्वक चलाएको गाडीले ठक्कर दिएर मृत्यु हुँदा पनि बाध्य भएर मिलापत्र गरेका छन् । शाक्यले मापसे गरी गाडी चलाएर ठक्कर दिएको मापसे परीक्षण गर्दा अस्पतालले नै रिपोर्ट दिएको थियो ।
मापसे गरी सवारी चलाउने शाक्यलाई प्रहरीले पक्राउ गरे पनि ज्वाईलाई जस्तो समान दिएर मोवाइल समेत चलाउन पाउनेगरी लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । भीआइपीलाई जस्तो प्रहरीले उनलाई अस्पतालमा बस्न छुट दिएको छ ।
शाक्यले अस्पतालमै बसेर प्रहरी, सरकारी वकिल र अदालत सेटिङ गरी तत्कालै छुट्ने तानाबाना बुनेका छन् । अस्पतालबाटै उनले निर्वाधरुपमा मोवाइल चलाउने सुविधा पाएका छन् । अस्पतालमै बसी उनले पीडित पक्षसँग मिलापत्र समेत गरिसकेका छन् ।
प्रहरीदेखि न्यायालय मिलाउन उनले २० औं लाख रुपैयाँ घुसमै खर्च गरिसकेको र पीडित पक्षलाई प्रहरीकै बलमा मिलापत्र गरी छुट्ने खेलमा लागेका छन् । यसरी ऐन सानालाई मात्र लाग्ने ठूलाले पैसाकै बलमा छुटकारा पाउने मत्स्यन्याय रुपन्देहीमा चरितार्थ हुन लागेको छ । प्रहरीले शाक्यको ठाउँमा कुनै ब्यक्तिले मापसे गरी सवारी चलाएर ठक्कर दिई मानिसको मृत्यु भएको भए हिरासतमा राखी कर्तब्यज्यानमा मुद्दा दायर गरिसक्थ्यो । तर शाक्यको धन र पहुँचका कारण उनलाई जोगाउन प्रहरी नै लागेको छ ।
शाक्य भैरहवाको लिटिल बुद्ध होलका संचालक र भैरहवाका नामूद जग्गा कारोबारी हुन् । त्यसैले उनलाई छुटाउन जग्गादलालहरुको समूह पनि उत्तिकै लागेको छ ।