Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • २५ करोड प्रकरणः नारायण पौडेल दाजुभाइका सहकारीबाट अरबौंको हुन्डी कारोबार


    बिहिबार, बैशाख ४ २०८२
    4.8K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । गएको चैत ४ गते टोखाबाट बरामद भएको अबैध २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा प्रकरणको अनुसन्धान सकेर राजस्व अनुसन्धान बिभागले बुधबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ ।

    बिभागले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ बर्षीय कुसाङ लामा र नारायण पौडेललाई अभियोगपत्रमा मुख्य अभियुक्त बनाएको छ । पक्राउ परेका कुसाङ लामालाई पनि मुख्य अभियुक्त बनाएर मुद्दा दर्ता भएको छ । रकमका वास्तविक मालिक अर्थात् मुख्य अभियुक्त अभियुक्त नारायण पौडेललाई फरार अभियुक्तका रुपमा मुद्दा दर्ता गरिएको छ ।

    २५ करोड अबैध रकम ट्रकमा राखी चीनमा लैजाँदै गर्दा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद गरेको थियो । कार्यालयले राजस्व अनुसन्धान बिभागलाई बुझाएपछि बिभागले अनुसन्धान गरी मुद्दा दर्ता गरेको छ । उक्त २५ करोड रकम नारायण पौडेलका अलावा उनका भाइहरु बच्चु पौडेल र राजकुमार पौडेलको समेत भए पनि राजस्व अनुसन्धान बिभागले भने नारायण र ट्रक चालक कुसाङका बिरुद्ध मात्र मुद्दा दर्ता गरेको छ । स्रोतका अनुसार २५ करोड रकम राजकुमार पौडेलको समेत भएको तथ्य राजस्व अनुसन्धान बिभागले भेटेको छ । तर बिभागका निर्देशक राजन बीसीदेखि नवराज अधिकारीसम्मको कनेक्सन राजकुमारसँग भएकाले उनलाई मुद्दा नचलाई जोगाइएको स्रोतको दाबी छ ।

    नारायण, बच्चु र राजकुमार पौडेलले सहकारीमार्फत् रकम निकालेको तथ्य समेत नेपालफेसमा यसअघि समाचार आइसकेको छ । टोखामा २५ करोड रुपैयाँ बरामद हुनुअघि २ करोड रुपैयाँ सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाबाट निकालिएको तथ्य खुलेको छ । जुन सहकारीका अध्यक्ष बच्चु पौडेल छन् ।

    त्यसो त बच्चु पौडेल अध्यक्ष रहेको सिन्धु सहकारीमार्फत् हुन्डीको कारोबार समेत हुने गरेको तथ्य नेपालफेसले फेलापारेको छ । अष्ट्रेलियादेखि बिभिन्न देशमा हुन्डीबाट उतै भुक्तानी दिने र नेपालमा सिन्धु सहकारीमा जम्मा गर्ने गरिएको पाइएको छ । सिन्धु सहकारीमा हुन्डीको ३२ लाख रकम जम्मा गरिएको प्रमाण भेटिएको छ । सिन्धु सहकारीको खातामा जम्मा भएको एक पटक १२ लाख र अर्को पटक २० लाख रकमको कारोबारको अनुसन्धान राजस्वले गर्ने हो भने उक्त रकम हुन्डीकै भएको तथ्य फेलापर्ने स्रोत बताउँछ । अष्ट्रेलियामा हुन्डीको रकम दिई ३२ लाख रकम सिन्धु सहकारीमा जम्मा भएको स्रोत बताउँछ । स्रोतका अनुसार ३२ लाख एउटा सानो उदाहरण हो, बच्चु पौडेलका चारै दाजुभाइले सहकारीमार्फत् अरबौंको हुन्डी कारोबार गर्ने गरेका छन् ।

    स्रोतका अनुसार सिन्धु सहकारीमा हुन्डीदेखि अबैध कारोबारको रकम जम्मा भएको राजस्वले खातापाता नियन्त्रणमा लिने हो भने फेलापर्नेछ । उक्त सहकारीमा पौडेल दाजुभाइको कालोधन धेरै रहेको छ । उक्त सहकारीको साधारणसभाको बैधतामै प्रश्न उठिरहेको छ । केही महिनाअघि भएको साधारणसभा समेत कोरम नै नपुगी गरिएको गरिएको थियो । सहकारीका सचिवमा प्रल्हाद थापालाई राखिएको छ । जसको नाममा समेत पौडेल दाजुभाइले अथाह सम्पत्ति खरिद गरी शुद्धीकरण गरेको आरोप छ ।

    त्यसो त पौडेल दाजुभाइकै लगानीमा काठमाडौंको न्यूरोडमा जयरत्न बचत तथा ऋण सहकारी संस्था संचालित छ । जुन सहकारीबाट अरबौंको अवैध हुन्डी कारोबार हुँदैआएको छ । राजस्वका अधिकारी र प्रहरीलाई थाहा भए पनि सेटिङमा उक्त सहकारीको हुन्डी कारोबारमा आँखा चिम्लने गरेका छन् ।

    अवैध कारोबारीको पहिचान बनाएका नारायण, बच्चु र राजकुमारले भतिजा सुमन पौडेललाई उक्त सहकारीको हर्ताकर्ता बनाएका छन् । सुमन ध्रुव पौडेलका छोरा हुन् । सिन्धु सहकारी र जयरत्न सहकारीलाई राजस्व अनुसन्धान बिभागले छानबिनको दायरामा ल्याउन सके हुन्डीको अरबौं कारोबार पर्दाफास हुने स्रोत बताउँछ ।

    अवैध कारोबारमा चारै दाजुभाइ, राजनीतिक नेतादेखि प्रहरीसम्म कनेक्सन

    राजकुमार पौडेल ०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित राजकुमार पौडेल १५ किलो सुन तस्करीमा मुछिएपछि फरार भएका थिए । पौडेलका चार जना दाजुभाइ छन् । उनीहरु सबै कुनै न कुनै तस्करी र अबैध हन्डी काण्डमा जोडिएका छन् ।

    नारायण पौडेलका जेठा दाजु ध्रुव पौडेल २०५४ मा एमालेबाट फुल्पिङकट्टी गाविसको अध्यक्ष भएका थिए । ०६९ तिर रक्तचन्दन कारोबारमा जोडिएका उनी पक्राउपछि छुटेका थिए ।
    माइला नारायण हुन्, उनी ऊन खरिद गर्ने भनेर नक्कली एलसी खोलेर डलर अपचलनमा पनि मुछिएपछि जेल संजाय काटेर छुटेका थिए । साइला बच्चु पौडेल हुन् । उनी कांग्रेसनिकट ब्यापारी हुन् । कान्छा राजकुमार हुन्, उनी माओवादीबाट गाउँपालिका अध्यक्ष भएका हुन् । चारै भाइमध्ये कोही सुन तस्करी, कोही हुन्डी, कोही विदेशी मुद्रा र कोही रक्तचन्दन तस्करीमा मुछिएका छन् । बच्चु पौडेल हुन्डी कारोबारमा पटक–पटक प्रहरी अनुसन्धानको घेरामा परेका शंकास्पद व्यक्ति हुन् ।

    रक्तचन्दन, सुन, डलर, हुन्डीमा जोडिएका पौडेल दाजुभाइको सेटिङ प्रत्येक ठूला राजनीतिक दलदेखि राजस्व अनुसन्धान बिभाग र प्रहरीको उच्च नेतृत्वसम्म रहेको छ । राजनीतिक आडमा तस्करीमा लागेका यी दाजुभाइ ठूला सबै पार्टीमा एक एक जना आवद्ध छन् ।

    प्रहरीसँग सेटिङ मिलाएर उनीहरुले रकम चीन लाने गर्दैआएका थिए । तर चैत ४ गते राति सेटिङ गरिएको च्यानलभन्दा बाहिरको प्रहरी युनिटले सूचना पाएपछि उनीहरुको रकम बरामद गरेको थियो । रकम बरामद भएपछि नारायण पौडेलमात्र होइन, बच्चु र राजकुमारका साथै तीनै भाइका परिवारसमेत विदेश पलायन भएका छन् । नारायण दुबईमा भागेको भनिएको छ । उनीहरु दिल्लीमै रहेको समेत स्रोतको दाबी छ ।

    राजस्वले मिहीन अनुसन्धान गर्ने हो भने नारायण–बच्चु–राजकुमारले तस्करीबाट १० अर्ब भन्दा बढी कालोधन जम्मा पारेको फेलापर्नेछ, स्रोत भन्छ, अनुसन्धान गर्ने हो भने राजकुमारका लेखापाल सरोज कोइराला, सहकारीका कर्मचारी, चालक गोपाल र उनीहरुका भान्सेका आफन्तको नाममा समेत बीसौं करोडको सम्पत्ति भेटिनेछ । सम्पत्ति शुद्धीकरण गरी हाइड्रोदेखि बिभिन्न ब्यवसायमा उनीहरुले लगानी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार